रुकुम पूर्व — धर्मकुमारी विकले भेडाको ऊन कात्दैछिन् । ऊन र त्यसबाट बन्ने अरु काममा उनको व्यस्तता छ । उनका हात ऊन कात्न र त्यसबाट अरु सामग्री बनाउनमै व्यस्त छन् । भक्त विकका हात चोयामा व्यस्त छन् । निगालोका चोया कारेर डोका बुन्ने, काठे बुन्ने काममा भक्तका हात चलिरहेका छन् ।
रक्ष विक पनि केही दिनदेखि नियमित हात चलाइरहेका छन् । निगालोबाट चोया बनाउने, चोयाका विभिन्न घरायसी सामग्री निर्माणमा रक्ष पनि व्यस्त छन् । धर्मकुमारी, भक्त र रक्ष लकडाउनको पालन गर्दै घरमा बसेर यो हातको काम गरिरहेका भने होइनन् । क्वारेन्टाइनमा बसेर यसरी काम गर्ने यी तीन जना मात्रै पनि होइनन् । भूमे गाउँपालिका–१, को सिद्धचौर माविमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरुले क्वारेन्टाइन समयलाई यसरी उपयोग गरिरहेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि विभिन्न ठाउँमा रोकिएकाहरु गाउँ फर्केका छन् । गाउँ फर्केकाहरु क्वारेन्टाइनमा छन् । त्यसमध्ये यो विद्यालयका ३० जनाले नै क्वारेन्टाइन समयलाई उपयोग गरिरहेका छन् । क्वारेन्टाइनमा १६ पुरुष र १४ जना महिला छन् । २० जना दाङबाट, ६ जना पोखरा र ४ जना बाग्लुङबाट आएका हुन् । पुरुषले निगालोबाट बन्ने घरायसी सामग्री बनाइरहेका छन् भने महिलाले ऊन कात्नेदेखि ऊनबाट बन्ने सामग्री बनाइरहेको क्वारेन्टाइनमा रहेकी ज्ञानु पुन मगरले जानकारी दिइन् । निगालोको चोयाबाट डोको, काठे लगायतका सामग्री बनाइरहेका छन् भने ऊनका स्वीटर, टोपी, मोजा, घुम, बाकु (बुकु), झोला लगायतका सामग्री तयार भइरहेको पुनले बताइन् । त्यसको साथै क्वारेन्टाइन नजिक बारी रहेका केहीले भने गहुँ तथा जौं टिप्ने काम समेत गरिरहेका छन् । परिवारका अरु सदस्यलाई गहुँ, जौं काटेर ल्याउने लगाउने र आफूले बाला टिप्ने काममा सघाइरहेका छन् ।
क्वारेन्टाइनमा बस्न थालेदेखि नै उनीहरु काममा लागेका थिए । घरबाट निगालो, ऊन मगाएर काम सुरु गरेको धर्मकुमारीले बताइन् । ‘कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नु छ,’ उनले भनिन्, ‘कति यत्तिकै बस्ने भनेर बसेर गर्न मिल्न काम गरिरहेका हौं ।’ यसले गर्दा घरका परिवारलाई सहयोग पुग्ने र काम पनि समयमै सकिने उनको भनाइ छ । यत्तिकै बस्नुभन्दा डोको तथा काठे लगायतका सामग्री तयार पारिरहेको भक्तले बताए । डोको बनेपछि घरमा पनि काम लाग्ने र बिक्री गरेर आम्दानी समेत हुने उनको भनाइ छ । भूमे गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा खाने तथा बस्ने सुविधा राम्रो रहेको उनले बताए ।
गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले क्वारेन्टाइनमा बसेकाहरुलाई आफूले सक्ने काम गर्न, अध्ययन तथा अरु मिल्ने काम गर्न भनिएको बताए । ‘बस्नु त पर्छ नै, बसेको समयमा केही न केही गर्नुहोला भनेका थियौं, १ नम्बर वडाको क्वारेन्टाइनमा बसेकाहरुले त्यसको कार्यान्वनमा जानु भएको छ,’ अध्यक्ष बुढाले भने । भूमे गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा हाल ५४ जना छन् भने जिल्ला बाहिरका विभिन्न ठाउँबाट आएका ३ सय १० जना होम क्वारेन्टाइनमा छन् । पछिल्लोपटक विभिन्न ठाउँबाट भूमेमा मात्रै ३ सय ६४ जना भित्रिएका छन् ।
