भैरहवा — किटको अभावमा भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोभिड–१९ को परीक्षण रोकिएको छ । पाँच नम्बर प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय प्रमुख डा.राजेन्द्रकुमार गिरीले कोभिड–१९ को भाइरस छुट्याउने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएकाले सोमबारदेखि परीक्षण हुन नसकेको बताए । उक्त किट काठमाडौंबाट मगाइसकिएको र आउनासाथ पुन: परीक्षण सञ्चालन हुने उनले जनाए ।
‘हिजोसम्म प्रयोगशाला सञ्चालनमा थियो,’ उनले भने, ‘आवश्यक किट आउँदैछ र आउनासाथ सञ्चालन गरिहाल्ने छौं ।’ उक्त किट एक दुई दिनमै आउने दाबी उनले गरे । चैतको तेश्रो सातादेखि सञ्चालनमा ल्यायउको उक्त प्रयोगशालामा हालसम्म ३ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
रुपन्देहीको मर्चवार क्षेत्रका कोरोना संक्रमित एक युवकको प्रत्यक्ष सम्पर्कमा आएकामध्ये दश जनाको परीक्षण आइतबार गरिएसँगै प्रयोगशालामा उक्त किट सकिएको हो । परीक्षण गरिएका दश जनाकै नतिजा नेगेटिभ आएको थियो ।
ती युवासँग सम्पर्कमा आएका अन्य १४ जनाको परीक्षण भने हुन बाँकी नै छ । उनीहरु सम्मरीमाई र मर्चवारी गाउँपालिकाको क्वारेन्टाइनमा छन् । भैरहवास्थित पाँच नम्बर प्रदेश स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर तथा सूचना अधिकृत केदारनाथ साहले परीक्षण हुन बाँकी १४ जनाको सोमबार स्वाब लिइने र यहाँ परीक्षणका लागि किट नभएकाले सोमबार नै काठमाडौं पठाइने बताए ।
साहका अनुसार, रुपन्देहीको विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका १ सय ८० जनाको परीक्षणका लागि नमुना लिन बाँकी छ । पाँच नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास समिति महाशाखा प्रमुख डा.उमाशंकर चौधरीले भैरहवाको प्रयोगशालाका लागि आवश्यक पर्ने किट सोमबार नै आउने दाबी गर्दै आउनासाथ परीक्षण सुचारु हुने बताए ।
