सगरमाथा निकुञ्‍जको ‘मनपरी निर्णय’

मध्यवर्ती र स्थानीय उपभोक्तालाई थाहै नदिइ पदमार्ग निर्माण ठेक्का दिएको र रुख काटिएको भन्दै खुम्जुङका उपभोक्ताहरु निकुञ्जप्रति चिढिएका छन् । उनीहरुको दबाबमा निर्माण कार्य रोकिएको छ । 

वैशाख १७, २०७७

काठमाडौँ — सगरमाथा निकुञ्जले प्रदेशको बजेटबाट आफूखुसी पदमार्ग निर्माण गरेको र निकुञ्जले नै जथाभावी रुख काटेको भन्दै खुम्जुङका स्थानीय बासिन्दाहरुले आपत्ति जनाएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) भूमीराज उपाध्यायले लकडाउनको अवधिमा प्रक्रिया नपुऱ्याई ठेक्का लगाएर बाटो निर्माणअघि बढाउनुका साथै होटल निर्माणका लागि गोब्रे सल्लाका रुख काट्न दिएपछि स्थानीय चिढिएका छन् ।

उपाध्यायले प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् प्राप्त ५० लाख रुपैयाँमध्ये ४४ लाख रुपैयाँमा पदमार्ग निर्माणका लागि स्थानीय विशाल कन्स्ट्रक्सनलाई ठेक्का दिएका थिए ।

मध्यवर्ती क्षेत्रमा गरिने विकास निर्माणबारे निकुञ्जअन्तर्गत् रहने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसँग समेत राय लिनुपर्ने कानुनी व्यवस्थाविपरीत निकुञ्जले लकडाउनको मौका छोपेर आफूखुसी ठेक्का लगाएपछि प्रश्न उठेको हो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले ठेक्काबारे आफूहरुसंग निकुञ्जले कुनै छलफल नगरेको बताए । 

‘लकडाउनकै अवधिमा निकुञ्जले ठेक्का लगाएछ हामीलाई कुनै जानकारी भएन,’ अध्यक्ष शेर्पाले भने, ‘स्थानीय उपभोक्ता र अन्य सरोकारवाला निकायहरुलाई पनि कुनै जानकारी दिइएनछ, त्यसैले अहिले प्रश्न उठेको छ ।’ चिफ वार्डेन उपाध्यायले पर्यटकमार्ग बनाउन स्थानीय कम्पनीलाई नियमअनुसार नै जिम्मा दिइएको दाबी गरे पनि स्थानीयले उनको चर्को विरोध गरेका छन् ।  

प्रदेशको उक्त बजेटबाट निकुञ्जले फुगिठाँगाबाट त्याङ्बोचे जोडिने पदमार्ग निर्माणका लागि नाम्चेकै विशाल कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । यो सगरमाथा बेसक्याप्प जोडिने पदमार्ग हो । तीन दिनअघि निकुञ्जअन्तर्गत्कै खुम्बीयुला मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, अन्य उपभोक्ता र स्थानीय तहका प्रतिनिधिसहितको खुम्जुङमा भएको बैठकले पदमार्ग निर्माणमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार निकुञ्जको मुख्यालय, नाम्चेमा भेला भएका स्थानीयले तत्काल उक्त मार्ग निर्माण रोक लगाउन निकुञ्जसमक्ष दबाब दिएका थिए । चिफ वार्डेन उपाध्यायले पनि स्थानीयलाई चित्त बुझाउन गाह्रो परेको कान्तिपुरसित भने । 

सगरमाथा पदमार्गमा मारियो कस्तूरी मृग

त्यसअघि खुम्जुङमा बसेको स्थानीयको वैठकले निकुञ्जले स्थानीय उपभोक्ताहरुलाई कुनै जानकारी नै नदिइ, सरसल्लाहबिना नै पदमार्ग निर्माणको ठेक्का दिएको पाइएपछि निर्माण रोक्ने निर्णय गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाअध्यक्ष लक्ष्मण अधिकारीले बताए । ‘हाम्रै मागअनुसार आएको रकम स्थानीयलाई जानकारी नै नभई जथाभावी प्रयोग भएकोमा सबैको आपत्ति हो,’ अधिकारीले भने ।  

स्थानीयको बैठकले गत आर्थिक वर्षमा विशाल कम्पनीमार्फत् निर्माण भएको अन्य पदमार्ग गुणस्तरहीन भएको भन्दै गुनासो बाहिर आइरहेका बेला निकुञ्जले फेरि पनि उसैलाई निर्माण गर्ने जिम्मा दिनुलाई नै गलत ठहऱ्याएको छ । गत वर्ष निकुञ्जमा प्रमोद भट्टराई प्रमुख थिए । 

स्थानीय उपभोक्ताहरुले निकुञ्जले त्याङ्बोचेमा सम्झौताविपरीत लजको कोठा थपेर निर्माण प्रक्रिया अघि बढाएकामा पनि आपत्ति जनाएका छन् । निकुञ्जले आफ्नो पुरानो लज १५ वर्षका लागि खुम्बिला कन्स्ट्रक्सन कम्पनीलाई ठेक्कामा चलाउन दिएको छ । उक्त कम्पनीलाई ठेक्का दिनेक्रममा विगतमा भएको कोठा संख्या थप गरेर निर्माण गर्न अनुमति दिइएकामा उपभोक्ताको आपत्ति छ । 

वार्डेन उपाध्यायले नियमअनुसार नै लज ठेक्का लगाइएको दाबी गरे । उसले वार्षिक २ लाख रुपैयाँ निकुञ्जलाई बुझाउने सर्त छ ।

त्यसक्रममा ठेक्का पाएको कम्पनीले निकुञ्ज र स्थानीयको सहमतिबिना नै जथाभावी रुख काटेको गुनासो गरेका छन् । ठेकेरदाले १५ वटा सल्लाका रुख काटेर काठ त्याङ्बोचे पुऱ्याइसकेको अनुगमनका क्रममा भेटेका थिए । थप रुख काट्न पनि नम्बरिङ गरिएको भेटिएको छ । अनुमति काटिएका ती काठ स्थानीयले त्याङ्बोचे गुम्बाको निर्माणमा प्रयोग गर्ने निर्णयसमेत गरेका छन् । 

निकुञ्ज विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले स्थानीयहरुको मागअनुसारै पदमार्ग निर्माणअघि बढाएको निकुञ्ज प्रमुखले केही समयअघि रिपोर्टिङ गरेको स्मरण गरे । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले मध्यवर्ती र स्थानीय सरकारसँग समन्वय नगर्दा समस्या निम्तिएको हुनसक्ने तर्क गरे ।

लकडाउन

Link copied successfully