काठमाडौँ — सगरमाथा निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा एकै पटक ६ वटा कस्तूरी मृग मारेको भेटिएको छ ।कस्तूरी मृगको केन्द्र मानिने सगरमाथा निकुञ्जमा धेरै समयपछि यति धेरै संख्यामा कस्तूरी मारिएको पाइएको हो ।
नेपालमा कश्मीर, अल्पाइन, कालो र हिमाली गरी चार प्रजातिका कस्तूरी मृग पाइन्छन् । मारिएका कस्तूरी हिमाली प्रजातिका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) भूमिराज उपाध्यायले ६ वटैलाई पासोमा पारेर मारिएको र दुई वटा कस्तूरीको बिना (कस्तुरी) निकालेर लगेको जानकारी दिए । एउटाको भने बिना छाडेर गएका थिए । ६ मध्ये एउटा मात्र पोथी हो । २ वटा कस्तूरी सडेको अवस्था भेटिएकाले लिंंग छुट्याउन नसकिएको उनले बताए ।
चीनमा यसको प्रयोगबाट ४ सयभन्दा बढी प्रजातिका औषधि बनाइने गरिएको छ । तिनै औषधिका लागि चिनियाँ बजारमा यसको अवैध कारोबार हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । चीनले ठूलो संख्यामा क्याप्टिभ प्रजनन गराएर यिनको संख्या बढाइरहेको छ । अत्तर, सेन्टमा समेत बिना प्रयोग हुन्छ ।
कस्तूरी मृगमा विद्यावारिधि गरेका पारसविक्रम सिंहका अनुसार भाले कस्तूरीको दाह्रा हुन्छ भने नाभीमा झन्डै दाँते ओखर जत्रो आकारको बिना (कस्तूरी) हुन्छ । त्यसकै लागि यिनको चोरी सिकार हुने गरेको छ । बिना सुगन्धित हुन्छ । त्यो नै कस्तूरीको मुख्य आकर्षण हो । चिनियाँ बजारमा बिनाको किनबेच हुन्छ ।
पूजाका लागि आवश्यक मालिङ्गो (निगालो) काट्न आइतबार बिहान जंगल गएका स्थानीय महिलाहरुले कस्तूरीलाई पासोमा पारेर मारेको देखेपछि उपभोक्ता समितिलाई जानकारी गराएका थिए ।
खुम्बु पासाङल्हामू गाउँपालिका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले सगरमाथा बेसक्याम्प पदमार्गभन्दा करिब डेढ सय मिटर तल सल्लाको जंगलमा पासो थापेर ती कस्तूरी मारिएको बताए । त्यस क्षेत्रबाट ५४ वटा पासोसमेत भेटिएको छ । आसपासबाट एक मृत हिमाली गिद्धसमेत भेटिएको छ ।
वार्डेन उपाध्यायका अनुसार यो क्षेत्रमा १० वर्षअघि केही कस्तूरी मारिए पनि यति धेरै मारेको रेकर्ड छैन । लकडाउनको अवधिमा जंगलमा हुने गस्ती छलेर तस्करहरुले पासो थापेको हुनसक्ने उनले बताए । उपाध्यायले घटनाबारे आइतबार नै निकुञ्ज विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईलगायतलाई जानकारी गराएका थिए । पासो थाप्नेहरु स्थानीय भन्दा पनि बाहिरी जिल्लाका बढी हुने गरेका छन् । विगतमा पर्यटक र अन्य भरिया बनेर गएकाहरुले पासो थाप्ने गरेको देखिन्थ्यो ।
निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले कस्तूरीको संख्या बढिरहेको क्षेत्रमा तस्करले आँखा गाड्न थालेको प्रतिक्रिया दिए । उक्त क्षेत्रमा कस्तूरीको संख्या बढी देखिएको छ ।
निकुञ्जको डोले क्षेत्रमा विगतमा कस्तूरी मारिए पनि यो क्षेत्र सुरक्षित थियो अध्यक्ष शेर्पाले भने, लकडाउनको मौका छोपेर तस्करहरुले पासो थापेर कस्तूरी सिध्याए ।
विश्वमा कस्तूरीका ७ प्रजाति पाइन्छन् । सिंहका अनुसार नेपालमा हिमाली कस्तूरी मृगबाहेक अरू प्रजातिको खासै अध्ययन भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालभरि करिब ५ सयको हाराहारीमा कस्तूरी मृग रहेको अनुसमान छ ।
नेपालसहित १३ देशमा कस्तूरी पाइन्छ । बाघ, हिउँ चितुवालगायतका ती प्रजाति पाइने देशबीच सहकार्य भइरहे पनि कस्तूरी मृग पाइने १३ देशबीच सहकार्य हुन सकेको छैन ।
सामान्यतया कस्तूरी समुद्री सतहदेखि २ हजार ५ सय मिटरभन्दा माथि बस्छ । उसले वनले ढाकेको र आध्यारो भाग अत्यधिक मन पराउँछ । ‘सूर्यको प्रकाश नपुग्ने आध्यारो ठाउँलाई मुख्य बासस्थान बनाउने गरेको पाइन्छ,’ अनुसन्धानकर्ता सिंहले भने, ‘अत्यधिक लजालु स्वभावको हुने भएकाले सकेसम्म कसैले नदेख्ने ठाउँ उसले मन पराएको हुन्छ ।’
कस्तूरीको मुख्य आहार रूखमा टाँसिएका झ्याउ, घाँस, पात, फलफूल र सुकेको घाँसलगायत हो । ‘कस्तूरीलाई गुणस्तरीय खाना चाहिन्छ भन्ने छैन,’ सिंहले भने, ‘जस्तोसुकै बासस्थानमा पनि बाँच्न सक्ने उसको क्षमता हुन्छ, हिउँ परे पनि रूखका झ्याउ खाएर बाँच्न सक्छन् ।’ कस्तूरीले जुम्ल्याहासम्म बच्चा जन्माउँछन् ।
कस्तूरी मृग नेपालका १२ वटा संरक्षित क्षेत्र (हिमालका सगरमाथा, रारा, शे फोक्सुण्डो, मकालु वरुण र खप्तठ निकुञ्ज, अन्नपूर्ण, मनास्लु, गौरी शंकर र अपिनम्पा संरक्षण क्षेत्र तथा ढोरपाटन सिकार आरक्षमा पाइन्छ । विश्वमा ७ प्रजातिका कस्तूरी पाइन्छन् ।
तस्बिरहरु : लक्ष्मण अधिकारी
