भर्चुअल कक्षा सिक्दै त्रिविका ५ सय प्राध्यापक

काठमाडौँ — लकडाउन भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरु यतिखेर आफूलाई भर्चुअल प्रविधिमैत्री बनाउने प्रयासमा जुटेका छन् ।

‘बन्दाबन्दीले गर्दा हामीले विद्यार्थी, कक्षाकोठा, पाठ्यक्रम, पाठ्यपुस्तक गुमाइरहेका छौं,’ डिग्री क्याम्पस विराटनगरकी उपप्राध्यापक बन्दना जैनले सहकर्मीमाझ अनलाइनमा भनिन्, ‘कोरोना भाइरसको त्रास सबैलाई छ । तर यसरी कहिलेसम्म बस्ने ? कम्तीमा सम्भव भएसम्म हाम्रा विद्यार्थीलाई अनलाइनमै भेटौं । पाठ्यक्रम र पाठ्यपुस्तकबारे छलफल गरौं ।’
उपप्राध्यापक जैनले त्यत्ति भनिसक्दा डोटी बहुमुखी क्याम्पसका तिलक पाण्डेयदेखि इलाम महेन्द्र बहुमुखी क्याम्पसका देवराज घिमिरेसम्मले एकसाथ भर्चुअल हत्केला उठाएर ताली बजाए । त्यो अभिव्यक्तिले सबै प्राध्यापकहरूको साझा पीडा बोध बोलिरहेको प्रस्ट हुन्छ । प्रसंग त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूको साताव्यापी ‘अनलाइन शिक्षण तालिम’ कक्षाको हो । भर्चुअल कक्षामा दिने, लिने र जोडिने क्रममा उपप्राध्यापक जैनले बाँडेको अनुभूति हो । हरेक बिहानी डेढ–डेढ घण्टाको दुई सत्रमा चल्दै आएको नि:शुल्क तालिम बिहीबार पाँचौं दिन पूरा भएको छ । पाँचौं दिनसम्म पाँचसयभन्दा बढी शिक्षक प्रशिक्षित भएका छन् ।
अनौपचारिक रूपमा सञ्चालन गरिएको तालिममा त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा शिक्षक स्वत:स्फुर्त सहभागी छन् । त्रिचन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक बामदेव अधिकारीले तालिमको संयोजन गरेका छन् । तालिममा गुगलमैत्री भर्चुअल शिक्षण विधिका निम्ति जुम एप्लिकेसन प्रयोग गरेर सिक्ने र सिकाउने गरिँदैछ ।
अमेरिकामा प्राध्यापनरत डा. श्याम शर्माले अनलाइन तालिमको मियोको भूमिका निर्वाह गर्दै आएका छन् । शर्मा न्युयोर्कस्थित स्टोनी ब्रुक युनिभर्सिटीमा अंग्रेजी पढाउँछन् । चार वर्षदेखि अनलाइन शिक्षण विधि प्रशिक्षणमा संलग्न शर्माले सहभागी प्राध्यापकहरूलाई आश्वस्त पार्दै ठट्यौलो पारामा भने, ‘सबैले बुझ्नोस् यो ड्राइभिङ लाइसेन्सको तालिम हो । लाइसेन्स पाएपछि कारमात्र होइन ट्रक, बस नै चलाउन सकिन्छ । कोरोना भाइरसको महामारीले हाम्रो पेसा (शिक्षण)को जग गुमाएको बेला छ । त्यसैले विकल्प खोज्दै जुम मामा प्रयोग गरेका हौं । एक पटकमा ४० मिनेट समय सित्तैमा प्रयोग गर्न पाएका छौं । त्रिविले औपचारिक सिस्टम व्यवस्था गरेपछि असिमित समय चलाउन सक्छौं ।’ भर्चुअल कक्षा भौतिक उपस्थितिसहितको कक्षाको विकल्प नभएको उनले प्रस्टाए ।
त्यतिखेर तेह्रथुम बहुमुखी क्याम्पस आठराईका प्रमुख निलम खरेलले खुशी व्यक्त गरे । ‘बन्दाबन्दीको बेला अनलाइन शिक्षा दिने विकल्प ज्यादै उपयोगी छ,’ जिज्ञासा राख्दै उनले भने, ‘समस्या एउटै छ, सबै विद्यार्थीसित ल्यापटप छैन । मोबाइलसम्म चलाउँछन् । मोबाइलबाट पनि शिक्षण क्रियाकलाप सम्भव छ ?’ उत्तिखेरै डोटी क्याम्पसबाट शान्ता हमालले सोधिन्– ‘हाम्रो त सबै ठाउँमा इन्टरनेट पहुँच छैन । के गर्ने होला ?’
भर्चुअल कक्षा तालिमका संयोजक सह–प्राध्यापक अधिकारीले सहभागीको जिज्ञासा मेट्न तम्सिए । ‘नेपाल सरकारले विद्यालयलाई नै इन्टरनेट र प्रविधिमैत्री तुल्याउने नीति अघि सारेको बेला छ,’ उनले भने, ‘धैर्य गरौं । विश्वविद्यालयले पनि केही पहल गर्ला ।’
उतिखेरै अनलाइन शिक्षण अभियन्ता सुरेन्द्र सुबेदी जवाफ दिन अघि सरे । ‘विद्यार्थीले मोबाइलबाटै भर्चुअल कक्षा लिन सक्छन्, तर त्यसमा चाहेजति सबै सिस्टम नहुनसक्छ,’ काठमाडौं मोडेल कलेजका प्रिन्सिपलसमेत रहेका सुवेदीले भने, ‘जहाँसम्म इन्टरनेट महँगो हुन्छ भन्ने छ । त्यसका लागि सेवा प्रदायक संस्थाले डाटा प्याकको व्यवस्था गरेका छन् । एक घण्टामा बीस रुपैयाँमात्र खर्च हुन्छ ।’
तालिम संयोजक सह–प्राध्यापक अधिकारीका अनुसार त्रिविमा कार्यरत शिक्षकहरूको ‘टीयू टिचिङ एक्सिलेन्सी ग्रुप’ ले सन् २०१६ बाट भर्चुअल तालिमको अवधारणा अघि सारेको हो । यो तालिम काठमाडौंमा मात्र सीमित थियो । अहिले तालिम दिने र लिने दुवै उपत्यकाभित्र र बाहिरका महिला प्राध्यापकको सहभागिता धेरै छ । पुरुष प्राध्यापकहरूको सहभागिता उत्तिकै उत्साहजनक छ ।
‘तालिमको विकास गर्ने क्रममा हामी तीस जना जति प्राध्यापकहरूले एउटा मोडेलको विकास गरेका छौं,’ संयोजक अधिकारीले भने, ‘हामीले कक्षाकोठामा गएर पढाउने अवसर गुमाउँदा हाम्रा विधा, विषय, पाठ्यक्रम र शिक्षण शैली उपयोगी हुने उपाय इन्टरनेट प्रविधि प्रयोग गरेर कसरी धेरथोर फिर्ता ल्याउन सकिन्छ भनेर खोजी गरेका छौं ।’ ग्रुपमा सुरुदेखि संलग्न तथा प्रशिक्षित प्राध्यापकले यतिखेर आलोपालो तालिम दिँदैछन् ।
भर्चुअल प्रविधिले विद्यार्थीसँग सम्पर्कलाई पुन:स्थापित गरेर लेक्चर दिने, छलफल गर्ने/गराउने र विद्यार्थीलाई सामूहिक काम गराउन प्रविधि प्रयोग गर्न प्राध्यापकलाई सिकाइएको अधिकारीले जनाए । जसका निम्ति जुम, फेसबुक वा गुगल ह्याङआउट प्रयोग गरिँदै आएको छ । विद्यार्थीलाई अध्ययन सामग्री, निर्देशन, सूचना दिने उपायको खोजी गरिएको छ । गुगल ड्राइभ, मेसेन्जर र इमेल प्रयोग गरिएको छ । त्यसैगरी विद्यार्थीको प्रतिक्रिया थाहा पाउने, जाँच लिने, गृहकार्य जम्मा गर्ने काममा गुगल सर्भे, गुगल डक र इमेल प्रयोग गरिँदै आएको छ । शिक्षण विधिमा स्लाइड प्रस्तुति, युट्युब प्रयोग, क्यालेन्डर निर्माण, सन्दर्भ स्रोत खुलाउने काम भइरहेको छ
यसरी दिइएको अनलाइन शिक्षण तालिममा त्रिविले कुने आर्थिक दायित्व बेहोर्नु परेको छैन । सबैजना स्वयंसेवक प्रशिक्षकका रूपमा खटिएका छन् । तालिमको अन्तिममा जुम एप्लिकेसनबाट एक दिने वेबनारसमेत आयोजना गरिने जनाइएको छ । वेबनारमा देशभरिका एकहजार शिक्षक सहभागी हुने संयोजक अधिकारीले बताए ।
त्रिवि शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसालले विश्वविद्यालयले भर्चुअल कक्षा सञ्चालनका निम्ति आईटी विज्ञ समिति गठन भएको बताए । ‘त्रिविमा अहिलेसम्म अनलाइन कक्षा सञ्चालन गरेकालाई स्वीकार गर्ने र बाँकी विभाग, क्याम्पसहरू पनि व्यवस्थापन गर्ने नीति अघि बढेको छ,’ भर्चुअल कक्षा सञ्चालन नीति बन्ने क्रममा रहेको उल्लेख गर्दै शिक्षाध्यक्ष भुसालले कान्तिपुरसित भने, ‘अहिलेसम्म जुम एप्लिकेसनको फ्री भर्सनमात्र चलाइएको छ । अब लाइसेन्स लिने प्रक्रिया अघि बढाएका छौं ।’
त्रिविले तत्कालका निम्ति सेमेस्टरमा सुचारु स्नातक तहका विषयहरू, स्नातकोत्तर तह, एमफिल र विद्यावारिधिका निम्ति भर्चुअल कक्षा सञ्चालन गर्ने शिक्षाध्यक्ष भुसालले जनाए । साथै, त्रिविले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थासँग दुर्गममा रहेका विद्यार्थीलाई सरल तथा सस्तोमा पहुँच विस्तारका निम्ति समन्वय गर्ने शिक्षाध्यक्ष भुसालले बताए । त्रिविको विभिन्न विभाग, अनुसन्धान केन्द्र र ६० आंगिक क्याम्पसका गरी करिब ८ हजार प्राध्यापन जनशक्ति छन् ।
प्रकाशित : वैशाख १३, २०७७ ११:३३