वीरेन्द्रनगर — कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार १० वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुखसँग भिडियो कन्फरेन्सबाट छलफल गरे । उनले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च मनोबल, धैर्यता र आवश्यक सावधानी अपनाइ प्रतिकार्यमा जुट्न र स्थानीय तहसँग समन्वय गर्न जिसस प्रमुखलाई आग्रह गरे ।
सरकारले लकडाउन अवधि लम्ब्याएसँगै कर्णालीमा भिडियोबाट महत्वपूर्ण बैठक हुने गरेका छन् । सरोकारवालासँग छलफल गर्ने क्रम बढेको छ । कर्णाली प्रदेशसभा सचिवालयले भिडियो कन्फरेन्सको अभ्यास गत माघदेखि सुरु गरिसकेको छ । मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलले अन्तरजिल्ला र अन्तरप्रदेशस्तरमा रहेका सरोकारवालासँग कोरोनाको जोखिम रोक्ने र विकास निर्माणका कामबारे नियमित छलफल गरिरहेका छन् ।
भिडियोबाटै मुख्यमन्त्री शाहीले १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दै उपलव्ध जनशक्तिको प्रयोगबाट मौसमी कृषि कार्य गर्नका लागि सहजीकरण गर्न निर्देशन दिए । आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले पनि शुक्रबार सबै जिल्लाका समन्वय समिति प्रमुखसँग अहिलेको परिस्थितिको सामनाका लागि भइरहेका पहल र चुनौतीबारे भिडियोबाटै छलफल गरेका छन् । सामाजिक विकासमन्त्री दल रावलले १० वटै जिल्लाका स्वास्थ्य कार्यालयसँग हप्तामा एकपटक भिडियो कन्फरेन्समार्फत छलफल गर्ने गरेको जानकारी दिए ।
मुख्यमन्त्री र मन्त्रीहरुले ‘जुम’ र प्रदेशसभा सचिवालयमा रहेको प्रविधि प्रयोग गरेर जिल्लाका सरोकारवालासँग साक्षात्कार गरिरहेका हुन् । प्रदेशसभा सचिवालयले अहिलेसम्म ८ पटक भिडियो कन्फरेन्स गरिसकेको छ । शुक्रबार पनि सातै प्रदेशका सभामुख र उपसभामुखले अहिलेको परिस्थितिमा मिलेर जाने सन्दर्भमा भिडियोबाटै ऐक्यवद्धता जनाए । सभामुख राजबहादुर शाहीले एक प्रदेशको संकटमा अर्को प्रदेशको पनि सहयोग र समन्वय सधैं भइराख्ने भएकाले प्रतिवद्धता जाहेर गरिएको बताए ।
सामाजिक विकासमन्त्री रावलले भिडियो कन्फरेन्स खर्चिलो नहुने भएकाले आगामी दिनमा पनि निरन्तरता दिइने बताए । मुख्यमन्त्री शाहीले लकडाउनको समयमा वैठक र भेटघाटको विकल्प भिडियो कन्फरेन्स भएको औंल्याए । ‘पछि पनि यो प्रविधिको प्रयोग गर्नेछौं,’ उनले भने, ‘भिडियो कन्फरेन्सका लागि आवश्यक पर्ने थप प्रविधि र उपकरण व्यवस्थापन गर्न प्रदेश सरकारले तयारी थालिसकेको छ ।’
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शिक्षाशास्त्र संकायका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । लकडाउनकै अवधिमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले पनि भिडियोबाटै शिक्षकहरुलाई प्रशिक्षण दिएका छन् । शिक्षाशास्त्र संकायका डीन विष्णुकुमार खड्काले शनिबारदेखि केन्द्रीय तथा आंगिक क्याम्पसमा अनलाइन कक्षा सञ्चालन गर्न करिब २ सय शिक्षकलाई तालिम सुरु हुने बताए । उनका अनुसार शिक्षाशास्त्र संकायले अहिलेसम्म १६ वटा अनलाइन कक्षा सञ्चालन गरिसकेको छ ।
