कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुक्त जंगलमा चराको संसार

दृष्टान्त बिडारी

काठमाडौँ — कारोना भाइरसले फैलाएको विश्वव्यापी त्रासका कारण नेपाल सरकारद्वारा लगाईएको लकडाउनको पालना नियमबद्ध तरीकाले गरिरहेकै थिएँ । घरभित्रै बसेको कयौं दिनपछि भने मन थाम्न गाह्रो भयो । अनि म क्यामेरा लिएर घरबाट सबैभन्दा नजिकको जँगलमा गएँ । 

मानिसको उपस्थिति बिना शान्त भएर बसेका चराहरुको केहीथान तस्बिर लिएँ । चराप्रेमीका लागि लकडाउनको बेला यो पनि ठूलो उपलब्धि हो भन्न्ो लागेको छ ।

लकडाउनले मानिसहरुलाई घर भित्र राखेको छ भने जीवजन्तुलाई खुल्ला । गाडी, कलकारखाना, मान्छेको जमात आदिले गर्दा हुने होहल्ला नभएरै होला आजभोलि सहरी इलाकामा पनि निकै चराहरु देखिन थालेका छन् । छोटो समयको लागि भए पनि खुला जंगलमा हुँदा त्यहाँ रहेको जीवजन्तु रमाई रहेको अनुभुति जो कोहिले गर्न सक्छ ।

जंगलमा एकैछिन बस्दा लाग्यो, पृथ्वीले अहिले आफ्ना घाउहरु सुम्सुम्याउने मौका पाएको छ । यस्तो लाग्यो, मानौं हामीले बन्जर बनाइदिएको जमिनमा फेरि घाँस उम्रिदैछ । हामीले भाँचेर, काटेर क्षतविक्षत बनाएका रुखमा फेरि पालुवा पलाउँदैछ । शिकारीको प्रहारले घाइते भएका जनावरहरु सुस्ताउन पाएका छन् । र, चराहरु आनन्दले उड्न पाएका छन् । रुखका फल र फूलमा पूर्णत चराहरुको हक कायम भएको छ, मानिसको कब्जाबाट जंगल बल्ल मुक्त भएको छ ।


प्रकाशित : वैशाख १३, २०७७ १०:५३

प्रतिक्रिया
पठाउनुहोस्