७६ श्रीलंकाली लिएर फर्कियो श्रीलंकाको ध्वजावाहक विमान 

लकडाउन यताको यो ३३ औं अन्तर्राष्ट्रिय चार्टर उडान 

वैशाख १२, २०७७

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका ७६ जना आफ्ना नागरिक लिएर श्रीलंकाको ध्वजावाहक वायुसेवा श्रीलंकन एयरलायन्सको जहाज कोलम्बो फर्किएको छ । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार, श्रीलंकनको एयरबस ३२० चार्टर जहाज शुक्रबार बिहान ११ः२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । यो १२ः३० बजे कोलोम्बो फर्केको छ  ।

यो विमानको काठमाडौंमा व्यवस्थापनको जिम्मा लिने जेनिथ ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक जोय देवानका अनुसार ७६ जना श्रीलंकाली विद्यार्थी, पर्यटक कोलम्बो फर्किएका छन् । ‘९० जनाको सूची थियो, तर आज चार्टर उडानमा ७६ जनामात्रै फर्किए,’ देवानले कान्तिपुरसँग भने ।  

काठमाडौंमा रहेको श्रीलंकन दूताबासको संयोजनमा यो चार्टर उडानलाई प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले बिहीबार अनुमति दिएको थियो । प्राधिकरणले लकडाउनको अवधिमा कुनै पनि विदेशी चार्टर वायुसेवा कम्पनीलाई ७२ घन्टाको अवधि तोकेर अनुमति दिने गरेको छ । कोलम्बोबाट यो विमान बिनायात्रु काठमाडौं आइपुगेको थियो । 

लकडाउनयताकै यो ३३ औं अन्तर्राष्ट्रिय चार्टर उडान हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यसअघि २३ वटा यात्रु र कार्गोतर्फ ९ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । 

लकडाउनकोरोना भाइरस

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully