२ हजार विद्यालय पुनर्निर्माण हुन बाँकी

लकडाउने रोकियो 

वैशाख १२, २०७७

सुदीप कैनी

काठमाडौँ — लकडाउनका कारण विद्यालय पुनर्निर्माणको काम रोकिन थालेको छ । निर्माण सामग्री र कामदार नहुँदा अधिकांश विद्यालय पुनर्निर्माणको काम रोकिएको विद्यालय पुनर्निर्माण राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ । 

३१ जिल्लामा एक हजार ४ सय ९२ विद्यालय निर्माणाधिन अवस्थामा थिए । ती मध्ये करिब १० वटा विद्यालय मात्र पुनर्निर्माणको काम भइरहेका आयोजनाका उपनिर्देशक दिलिपशेखर श्रेष्ठले जानकारी दिए । ‘ठेक्कापट्टामा काम भइरहेका केही विद्यालय भवन मात्रै निर्माणाधिन छन्,’ उनले भने, ‘निर्माण सामग्री र कामदारको अभावमा अधिकांश निर्माणको काम ठप्प बनेको छ ।’ बजारमा निर्माण सामग्री उपलब्ध नभएका कारण निर्माणको काम अघि बढाउन नसकिएको आयोजनाले जनाएको छ । 

बजार ठप्प हुँदा सिमेन्ट, रड लगायत सामग्री र ढुङ्गा, गिटी, बालुवाको अभाव हुने गरेको निर्माण व्यवसायीहरुले बताएका छन् । पुनर्निर्माणको काम नरोक्ने भनिएपनि सामग्री अभाव हुँदा अवरुद्ध हुन पुगेको श्रेष्ठले जनाए । कामदार पनि कोरोना भाइरसको त्रासले कार्यस्थल छाडेर घर फर्किने गरेको उनले बताए । २०७२ बैशाख १२ को भुकम्पले ८ हजार विद्यालयमा पूर्ण रुपमा क्षति पुगेको थियो । ती मध्ये आयोजनाले ७ हजार ६ सय सामुदायिक विद्यालय पुनर्निर्माणको सूचीमा राखेको छ । करिब ४ सय विद्यालय जग्गा अभाव र भुकम्प पछि मर्च भएका कारण सुचीबाट हटाइएको छ । जग्गा नभएका विद्यालयका लागि जग्गा खोजी गर्न प्राधिकरणले स्थानीय सरकार मार्फत पहल गरिरहेको छ । आंशिक क्षति पुगेका ८ हजार विद्यालयको भने मर्मत सकिएको छ ।

भूकम्प गएको ५ वर्षमा ५ हजार ५ सय ९८ अर्थात ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा थिए । लकडाउनका कारण ती विद्यालयको पुनर्निर्माण कार्य रोकिएको हो । ‘लकडाउन खुले रोकिएको काम तुरुन्तै सुरु गर्न सकिने अवस्थामा छ,’ उपनिर्देशक श्रेष्ठले भने, ‘बैशाख १५ पछि खुल्ला भए निर्माणधिन अधिकांश विद्यालयको काम सम्पन्न हुन्छ ।’ ४ सय ६४ विद्यालय अझै पुनर्निर्माण हुन बाँकी नै छ । 

भूकम्पले क्षति पुगेको ५ वर्षसम्म विद्यालय भवन निर्माण कार्य जारी रहँदा करिब २ हजार विद्यालयका छात्रछात्रा अझै पनि अस्थायी टहरामा बसेर पढ्न बाध्य छन् । प्राधिकरणले ६ हजार १ सय, निर्माण व्यवसायी मार्फत ठेक्का प्रक्रियाबाट ६ सय ९१ र गैरसरकारी संघसंस्थाबाट ७ सय २४ विद्यालय पुननिर्माण गरिएको हो । ३ वटा प्रक्रियाबाट विद्यालय पुनर्निर्माण गरिएको छ । क्षति पुगेकामध्ये ९० प्रतिशत विद्यालय आयोजना इकाईले व्यवस्थापन समिति मार्फत निर्माण गरिएको छ ।

दोस्रो इकाईले ठूला विद्यालयहरु जापनी सहयोग नियोग (जाइका), एसियाली विकास बैंक (एडबी) लगायतको सहयोगमा टेण्डर प्रक्रियाबाट निर्माण गरेको हो भने विभिन्न गैरसरकारी संघसंस्था मार्फत पनि पुननिर्माणको काम भइरहेको छ । भूकम्प अतिप्रभावित १४ जिल्लाका कतिपय विद्यालयमा नमुना पूर्वाधारको विकास समेत भइरहेको छ ।

लकडाउन

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully