काठमाडौँ — लकडाउनले २४ घण्टै घरमा बस्नुपर्दा सबैलाई झिंजो लागेको छ । यही मनोविज्ञानलाई बुझेर गायक योगेश्वर अमात्य, न्ह्यु बज्राचार्य र जेम्स प्रधानले घरबाटै गीत गाएका छन्, ‘क्या बोर भयो...।’
‘न्ह्युको नयाँ गीत गाउने तयारीमा थियौं । मेसेन्जरसम्म जेम्स, न्ह्युसँग कुरा गर्दैगर्दा मैले यो गीत गाउन भनेर प्रस्ताव राखेको थिएँ । न्ह्यु सहमत भयो । त्यसपछि लकडाउनमा हामीले यो गीत गायौं,’ योगेश्वरले सुनाए ।
यसअघि जेम्स, न्ह्यु र योगेश्वर मिलेर नयाँ गीत गाउने तयारी गर्दै थिए । उनीहरु लकडाउनअघि हप्ताको तीनपटक भेटिरहन्थे । कवि विप्लव प्रतीक पनि उनीहरुकै समूहका हुन् । भेट हुँदा उनीहरु गीत गाउने गरिरहन्थे । हरेक भेटमा उनीहरु दर्शकलाई नयाँ गीत दिने छलफल गर्थे । लकडाउनमा पनि उनीहरु न्ह्युको नयाँ गीत ल्याउने तयारीमा थिए ।
तर दर्शकलाई घरभित्रै बस्नुपर्ने सन्देश दिन अहिले सान्दर्भिक ठानेर यो गीत ल्याएको अमात्य बताउँछन् ।
‘घरमा बसेका दर्शकका लागि पनि उपहार होस् भनेर यो गीत ल्यायौं । हामी चारैजना घरमा बसेर देश र सरकारको लकडाउन पालना गरेको पनि देखिने । यतिखेर हामी घरमै बस्नुपर्छ भन्ने सन्देश दिन पनि जाने । त्यसैले आ–आफ्नो घरमा बसेर हामीले यो गीत गायौं,’ अमात्यले भने ।
यो गीत २४ घण्टामा तयार पारेको उनीहरु बताउँछन् । गीत तयार पार्न उनीहरुले जेम्बेका लागि सुन्दरसँग सहयोग मागे । जेम्सले सबै प्राविधिक पक्ष सम्हाले । सबैले आ–आफ्नो ठाउँबाट गीत गाए । भिडियो मोबाइलबाट नै खिचे । गायक अमात्यको भिडियो उनकी श्रीमतीले खिचिदिइन् । दुईपटकमा भिडियो तयार भयो । त्यसपछि तीनैजनाले मिलेर गाएको गीत युट्युबमा सार्वजनिक भयो । दर्शकले अत्याधिक रुचाइदिए । गायक अमात्यले दर्शकमा नयाँ गीत नल्याएको पनि ८ वर्ष भइसकेको थियो ।
अचानक दर्शकको प्रेम पाउँदा उनी चकित छन् ।
‘प्रतिक्रिया राम्रो आयो । कस्तो मन पराएको मान्छेले भनेर मैले मेरो श्रीमतीलाई देखाएँ पनि । गाउन नसक्ने, गजेडी भन्दै गाली पनि गरे कमेन्टमा । अब ताली थाप्दा गाली पनि थाप्न आवश्यक नै छ,’ अमात्यले भने, ‘गीत धेरैले मन पराइदिनु भयो । मेरो लागि त अचम्मको कुरा भयो । हामी अर्को पनि नयाा गीत ल्याउने तयारीमा छौं ।’
यो लकडाउनमा निरन्तर दर्शकलाई संगीतमार्फत मनोरञ्जन दिइरहेका अर्का गायक हुन्, दीपक बज्राचार्य । छोरी चेरिसा बज्राचार्यसँग हरेक साँझ पाँच बजे उनी आफ्नो फेसबुक पेजमा लाइभ आएर गीत गाएर मनोरञ्जन दिइरहेका हुन्छन् । ‘म्यूजिकल मेडिसिन’को नाम दिइएको उक्त लाइभ कार्यक्रम १ घण्टासम्म स्ट्रमिङ हुन्छ । आफ्नो नयाँ–पुराना गीत गाएर उनीहरु लकडाउनमा घरभित्रै बसेका दर्शकलाई मनोरञ्जन दिन्छन् ।
छोरी चेरिसा पनि अंग्रेजी, नेपाली, हिन्दी गीत गाएर बुबालाई साथ दिन्छिन् । छोरीको गीतमा दीपक गीतार बजाएर साथ दिइरहेका हुन्छन् । बाबुछोरी करिब ३ सातादेखि यसरी फेसबुकमार्फत विभिन्न गीतहरु प्रस्तुत गरिरहेका छन् । आफ्नो सांगीतिक टुरको भिडियो पनि लाइभमा देखाउँछन् । बाबुछोरीको लाइभ हेरेर कतिले नकरात्मक कमेन्टसम्म गर्छन्, ‘यो गीत गाउने र बजाउने समय हो र ?’
दीपक तनावमय समय भगाउन यसरी लाइभमा आएको बताउँछन् । ‘मैले रहर लागेर, गीत गाउन नपाएर यस्तो गरेको होइन नि । यसरी दर्शकसँग रमाउन पाउनु त खुशीको कुरा हो । हामी एक घण्टा भए पनि दर्शकहरुको अनुहारमा खुशी देख्न चाहन्छौं,’ उनले भने, ‘मनोरञ्जन गरेरै हामीले यस्तो तनावलाई भगाउने हो नि । रोएर बस्नु भएन । यो बेला त हामी खुशी हुने हो नि । त्यसैले हामी यो सेसन गरिरहेका छौं । धैर्य गरेर बसौं ।’
लकडाउनमा उदास भएर बस्दा मानसिक तनाव हुन सक्ने उनी बताउँछन् । त्यसैले आफू र दर्शक दुवैलाई औषधि हुनेगरी लाइभ प्रस्तुति दिइरहेको उनको तर्क छ ।
‘जसले जेसुकै भनोस्, हाम्रो यो म्यूजिक मेडिसिन हामी पनि खान्छौं । तपाईंहरुलाई पनि खुवाउँछौं,’ दर्शकलाई सम्बोधन गर्दै उनले भने ।
