१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कुवेतमा भागेर बसेका कामदार कहाँ जाने ?

गैरकानुनी हैसियतमा बसेका कामदारलाई आममाफी दिएर स्वदेश फर्काउन कुवेत सरकारले तोकेको समय नजिकिइसक्दासम्म दूतावासले पहल नगरिदिँदा करिब सात हजार नेपाली अन्योलमा परेका छन् ।
होम कार्की

काठमाडौँ — आवासीय कानुन उल्लंघन गरी बसेका नेपालीलाई कुवेतले आफ्नै खर्चमा नेपाल पठाउनका लागि वैशाख १४ देखि १७ सम्म दर्ता हुन समय तोकेको छ । तोकिएको मिति नजिक आइपुगे पनि कुवेतस्थित नेपाली दूतावासले भने यो प्रक्रियामा सहभागी हुने/नहुने टुंगो गरेको छैन । दूतावासले सहजीकरण नगरिदिएसम्म कामदार आफैं फर्किन पाउँदैनन् ।

कुवेतमा भागेर बसेका कामदार कहाँ जाने ?

कुवेतले कोभिड–१९ नियन्त्रणका लागि चालेका कदमका कारण अत्यावश्यक सेवाबाहेकका निजी व्यापार र व्यवसाय बन्द छ । दैनिक काम गरी जीविका चलाउनुपर्ने कामदार संकटमा पर्ने अवस्था आएपछि कुवेतले अप्रिल १ देखि ३० सम्म लागू हुने गरी आममाफी दिएको थियो । दूतावास चुप भइदिँदा गैरकानुनी हैसियतका सात हजार हाराहारी नेपाली कामदार अन्योलमा परेका छन् । कुरुङम्बा, पाँचथरका मञ्जु लावतीले दूतावासले अहिलेसम्म आफूहरूलाई सूचना उपलब्ध नगराउँदा दु:ख लगेको बताइन् । ‘गैरकानुनी हैसियतमा बस्न कसैलाई रहर लाग्दैन, बाध्यता हुन्छ । आममाफीका लागि समय तोकिएको यत्रो दिन भइसक्यो, दूतावासले अहिलेसम्म हामीलाई जानकारी दिएको छैन,’ उनले कान्तिपुरसँग फोनमा भनिन्, ‘यो आममाफी हाम्रा लागि निकै ठूलो अवसर हो । हामीलाई आफ्नो देश फर्कने इच्छा छ । राम्रो तरिकाले फर्किन पाइयोस् ।’

उनी तीन वर्षअघि कुवेत पुगेकी थिइन् । फुपूको जिम्मेवारीमा ११ वर्षीया छोरी र ५ वर्षीय छोरालाई छाडेर कुवेत गएकी थिइन् । कुवेतीको घरमा बच्चा रेखदेख गर्न नसक्ने अवस्था भएपछि उनी घर छाडेर बाहिर काम गर्न थालेकी थिइन् । ‘कुवेतीका स–साना ६ जना नानीहरू थिए । एक वर्षदेखि १० वर्षसम्मका । एउटा बच्चा हेर्दा अर्को फुत्किने । उनीहरूलाई हेर्दै सरसफाइ गर्नुपथ्र्यो । बच्चालाई केही भए सबै जिम्मेवारी हाम्रो हुन्थ्यो । आफ्नै ज्यान जोखिममा पर्ने अवस्था भएपछि घरबाट निस्किनुपर्‍यो,’ उनले भनिन् ।

उनलाई त्यस घरमा काम गर्दा ८० केडी मात्रै दिइन्थ्यो । त्यहाँबाट निस्केपछि बाहिरी कम्पनीमा क्लिनिङको काम गर्दा १ सय २० केडी तलब पाइरहेकी थिइन् । लकडाउनले गर्दा उनको कम्पनी बन्द भयो । काम बन्द भएपछि कोठाको भाडा तिर्न र खाना जुटाउनसमेत कठिन भइरहेको उनले बताइन् ।

आममाफीमा सहभागी हुन पाइएमा फेरि कुवेतमा आउन पाइनेछ । अन्य देशका नागरिक सहभागी भए पनि नेपालीका लागि सरकारले सहजीकरण गरेको छैन । प्रत्येक साता निश्चित देशका लागि छुट्याइएको छ । फिलिपिन्सका नागरिकका लागि अप्रिल १ देखि ५, इजिप्सियनका लागि अप्रिल ६ देखि १०, बंगालीका लागि अप्रिल ११ देखि १५, भारतीयका लागि अप्रिल १६ देखि २०, श्रीलंकनका लागि अप्रिल २१ देखि २५ सम्म समय तोकिएको थियो । तोकिएको समयमा अन्य देशका नागरिकले घर फिर्नका लागि दर्ता गरेका छन् । कुवेत सरकारले पूर्वप्रस्थानका रूपमा स्वास्थ्य परीक्षण भने गरेको छैन । ‘हामी पनि परिवारलाई गाउँघरमा रोग सार्ने पक्षमा छैनौं । हामी नेपाल पुगेपछि सरकारले १४ दिनसम्म जहाँ बस भन्छ, बस्छौं,’ उदयपुरकी सञ्चमाया राईले भनिन् ।

इच्छुकलाई विमान चार्टर गरी पठाइँदै

कुवेतले तीन साताको अवधिमा नेपालीबाहेक झन्डै २२ हजार गैरकानुनी हैसियतका कामदारको आवेदन लिइसकेको छ । यो आममाफीमा अदालतले जरिवाना तोकेका र मुद्दा भएका कामदार सहभागी हुन पाउँदैनन् । भिसाको अवधि समाप्त भएका र स्पोन्सर छोडेर अन्यन्त्र काम गरिरहेकालाई जरिवाना लगाइएको छैन । कुवेत सरकारले जुन देशको नागरिक हो, त्यही देशसम्म जहाज चार्टर गरी पठाइरहेको छ ।

गैरआवासीय नेपाली संघ कुवेतका प्रवक्ता गणेश रावतका अनुसार यसपालि आममाफी प्रक्रियामा सहभागी हुन चाहने नेपाली धेरै छन् । ‘अहिलेको अवस्था सामान्य होइन, पहिला बाहिर बस्दा जति पनि काम पाइन्थ्यो । धेरै गैरकानुनी हैसियतका कामदारहरू दैनिक आम्दानीबिना लामो समयसम्म टिकिराख्न सक्दैनन् । काम नहँुदा उनीहरूको दैनिकी जोखिमपूर्ण बन्दै गइरहेको छ,’ रावतले भने, ‘यो स्थितिलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने थियो तर त्यस्तो भएको छैन ।’

गैरकानुनी हैसियतका कामदारले दर्ता हुन पहिलाजस्तो दूतावास जानुपर्दैन, सिधै दर्ता गर्ने ठाउँमा गए पुग्छ । यसका लागि फर्वानिया र जलिवमा सेन्टरहरू तोकिएका छन् । जलिव क्षेत्रमा कोभिड–१९ संक्रमण फैलिएपछि घर फिर्नेहरू फर्वानियामा गइरहेका छन् ।

पुरुष कामदारका लागि फर्वानियाको सडक नम्बर १२२ स्थित अल मुथान्ना प्रारम्भिक स्कुलको ब्लक १ र महिलाका लागि सडक नम्बर ७६ स्थित फर्वानिया प्रारम्भिक महिला स्कुलको ब्लक नम्बर १ मा दर्ता केन्द्र तोकिएको छ । आफ्नो लगेजसहित केन्द्रमा जानुपर्ने रावतले बताए । ‘केन्द्रले निवेदन लिइसकेपछि बाहिर आउन पाइँदैन । उनीहरूले नै नेपाल नपठाएसम्म आश्रय दिन्छन्,’ उनले भने ।

उनीहरूलाई राखिने अस्थायी आश्रयस्थल अन्तर्राष्ट्रिय मापदण्डबमोजिम भएको कुवेतस्थित संयुक्त राष्ट्रसंघको उच्चायुक्तले जनाएको छ । ‘हामीले गैरकानुनी हैसियतका कामदारलाई राखिएकामध्ये १२ वटा आवासीय भवनको अनुगमन गरेको थियो । केही साइडहरूमा निकै व्यवस्थित रूपमा राखिएको छ,’ संघका प्रतिनिधि डा. तारिक अल शेखद्वारा जारी विज्ञप्तिमा छ । दक्षिण एसियाका दूतावासहरूले आममाफीको समयलाई अझै लम्ब्याउन आग्रह गरेका छन् ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले सरकारले अन्तर्राष्ट्रिय उडान रोकेकाले जो नेपाली जहाँ छ, त्यहीं सुरक्षित ढंगले बस्नुपर्ने अहिलेको परिस्थिति रहेको जवाफ कुवेतका नेपाली समुदायलाई दिएका छन् । उनले गैरआवासीय नेपाली संघसँगको छलफलमा सरकारको नीतिबारे जानकारी गराएका थिए ।

‘जोखिमपूर्ण अवस्थामा रहेका इच्छुक व्यक्तिलाई घर पठाउने कुवेतको कदमलाई सकारात्मक रूपमा लिइनुपर्छ, अहिले कुवेतले त्यस्ता मान्छेलाई पठाइरहेको अवस्थामा हामी छुट्नु हुँदैन,’ जीफन्ट सहयोग समूहका संयोजकसमेत रहेका रावतले भने, ‘भोलि परिस्थिति बिग्रिएर मास रूपमा पठाउनुपर्ने अवस्था आयो भने कुवेतले पूर्णरूपमा सम्बोधन गर्न कठिन हुनेछ । यसको आर्थिक दायित्व नेपाल सरकारलाई नै पर्नेछ ।’

परराष्ट्र मन्त्रालयले यो अवसरलाई सदुपयोग गर्ने सवालमा राजदूतसँग समन्वय भइरहेको जनाएको छ । ‘यो अवसरमा नेपालीलाई सहभागी हुन सूचना जारी गर्न भनिसकेका छौं,’ परराष्ट्रका उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘यसमा दूतावासले तयारी गरिरहेको बुझेका छौं ।’

अविलम्ब दर्ता प्रक्रिया अगाडि बढाऊ : आयोग

सुदीप पाठक, आयुक्त, राष्ट्रिय मानवअधिकार आयोग

कुवेतमा झन्डै ७ हजार गैरकानुनी हैसियतका नेपाली कामदार छन् । तीमध्ये ९० प्रतिशत घरेलु महिला कामदार रहेको सूचना पाएको छु । कुवेतमा रहेका नेपाली कामदारको सुरक्षाका लागि प्रधानमन्त्री तहमा कुरा पनि भइसकेको छ । आयोगले पनि परराष्ट्रमन्त्रीको ध्यानाकर्षण जनाइसकेको छ ।

कुवेतले गैरकानुनी हैसियतका कामदारलाई आफ्नै खर्चमा पठाउने क्रममा नेपालीका लागि पनि समयसीमा तोकेको छ । यो समयसीमाभित्र सम्बन्धित केन्द्रमा गई दर्ता प्रक्रिया अगाडि बढाउन नेपाली दूतावासले तत्काल सूचना जारी गर्नुपर्छ । अब ढिलाइ गर्नुहुन्न । यो एउटा ठूलो अवसर हो । कानुनी झमेलामा पर्नुपरेन, माफी दिइएको छ । खर्च पनि कुवेत सरकारकै हुन्छ । कोभिड–१९ बाट बचाउन सकिन्छ । यसलाई सरकारले तत्कालै सदुपयोग र सम्बोधन गर्नुपर्छ । दूतावासले कुवेत सरकारसँग समन्यव गर्न प्रक्रिया थालिहाल्नुपर्छ ।

कुवेतमा थप ५ नेपाली संक्रमित

कुवेतमा कोरोना भाइरसबाट थप ५ नेपाली कामदार संक्रमित भएका छन् । कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयबाट बुधबार सार्वजनिक रिपोर्टअनुसार क्वारेन्टाइनमा राखिएका नेपालीसहित १ सय ६८ जनामा पोजेटिभ देखिएको हो । सबैभन्दा बढी भारतीय कामदारमा संक्रमण पुष्टि भएको छ । कुवेतमा २ हजार २ सय ४८ मा संक्रमण देखिइसकेको छ ।


कुवेतले आममाफी दिएपछि घर फर्किनका लागि लगेजसहित आफ्नो नाम दर्ता गराउन पुगेका भारतीय कामदार । तस्बिर : एजेन्सी

प्रकाशित : वैशाख १२, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?