आरडीटी ‘नेगेटिभ’ आएपछि सोमबार घर फर्काउन भन्दै गाडीमा राखिएका उनीहरूलाई ५ घण्टापछि ओरालिएको छ
नेपालगन्ज — भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहस्थित दशगजामा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा बसेका १ सय ८१ जनालाई घर पठाउने भन्दै बसमा राखेर पनि ओरालिएको छ ।
बिहीबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएकामा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनीहरूलाई घर पठाउने भन्दै बसमा पाँच घण्टा राखेर पुन: ओरालिएको हो ।
उनीहरू १४ दिनसम्म क्वारेन्टाइन बसिसकेका छन् । यसअघि बाँके प्रशासनले क्वारेन्टाइन अवधि पूरा गरेपछि घर पठाउने प्रतिबद्धता जनाएको थियो । क्वारेन्टाइन बसाइको १६ औं दिनमा घर जान पाउने भयौं भन्दै उनीहरू खुसी भए । उनीहरूलाई लैजान ६ वटा गाडीसमेत दशगजा क्षेत्रमा आइपुगेका थिए । नेपाल–भारत सीमा क्षेत्रमा तीन दिन खुला आकाशमुनि र १५ दिन टेन्टमा बिताएका उनीहरू बसमा चढे । झोला राखेर सिटमा पनि बसे । तर, गृह मन्त्रालयले उनीहरूलाई घर पठाउन रोकेको सूचना आयो । बसभित्र चढेका उनीहरू बाहिर निस्किए । प्रहरीले बसभित्रबाट झोला फालिदिए । ‘गाडीमा पाँच घण्टा बसेपछि घर जान पाउनु हुन्न भन्नुभयो,’ आइतबार दशगजामा भेटिएका बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँका झलक थापाले भने, ‘कुनै समन्वय नगरी किन हामीलाई पठाउन गाडी बोलाइयो, फेरि के कारण ओरालियो ?’
क्वारेन्टाइनमा बसेर अवधि पूरा गरे पनि घर जान नपाएकामा उनीहरू खिन्न छन् । ‘आफ्नोभन्दा पनि परिवारको चिन्ताले सतायो,’ थापाले भने, ‘यत्रो दिनसम्म किन आएनन् भनेर समाजले कुरा काट्न थालिसके । सामाजिक बहिष्कारमा परिन्छ कि भन्ने चिन्ताले सताएको छ ।’ उनीसँगै भारतको उत्तर प्रदेशबाट बर्दियाका १९ जनाको समूह एकैसाथ यहाँ आइपुगेको हो । ‘समयमा घर नपुग्दा आफन्त र परिवार आत्तिएका छन्,’ रुकुम पश्चिमका सन्दीप केसीले भने, ‘न हामीलाई कुनै जाँच गरिन्छ । २१ दिन राखेर पनि जाँच गर्दैनौं भन्छन् ।’ उनका अनुसार उपमहानगर प्रमुख धवलशमशेर राणाले जति दिन बसे पनि १४ दिनको स्वास्थ्य परीक्षणको प्रमाणपत्र मात्र पाउने बताएका छन् ।
घर जान पाउनुपर्छ भन्ने विषयमा विवाद हुँदा हातमा चोट लागेका दाङका ईश्वर जीसीले स्थानीय निकाय र प्रशासनबीच तालमेल नमिल्दा आफूहरू अन्यायमा परेको गुनासो गरे । ‘हातमा सात वटा टाँका लगाएर ६ जनासम्म एउटै टेन्टमा घाममा कोचिएका छौं,’ उनले भने, ‘फेरि आफ्नै गाउँका स्थानीय तहले पनि क्वारेन्टाइनमा राख्ने कुरा छ । अब हामी घर कहिले जान पाउने ?’ यहाँ क्वारेन्टाइनमा बस्ने सबैको माग एउटै छ– यहाँ जति दिन बसाले पनि गाउँमा पुन: क्वारेन्टाइनमा नबसालियोस् । ‘यता पनि बस्ने गाउँ गएर पनि क्वारेन्टाइनमा बस्न सकिँदैन,’ सल्यानका अमृत कुँवरले भने, ‘रोगले भन्दा हामी चिन्ताले मर्न थाल्यौं ।’
प्रशासनले आफूहरूको बाध्यता नबुझिदिएको भन्दै उनीहरूले शनिबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । जसमा घर जाने व्यवस्था मिलाइदिन, भाडा नि:शुल्क र जिल्लाका स्थानीय तहसँग समन्वय गरिदिन माग गरेका छन् । ‘पाँच सय लाग्ने गाडी भाडाका लागि २५ सय भाडा मागियो,’ कुँवरले भने, ‘हामी आफ्नै पैसा तिरेर घर जान्छौं भन्दा पनि माथिको आदेश छैन भनेर फर्काइयो ।’
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले गृह मन्त्रालयबाट आदेश नआएकाले उनीहरूलाई घर फर्काउन नसकिएको प्रतिक्रिया दिए । ‘माथिल्लो निकायसँग कुराकानी भइरहेको छ,’ उनले भने, ‘अझै पठाउने निर्णय भइसकेको छैन । समन्वय हुँदै छ ।’ गाडीमा बसाएर पनि घर पठाउने निर्णय भइसकेको छैन भन्नुले जिल्ला प्रशासन र गृह मन्त्रालयबीच समन्वय नदेखिएको नेपालगन्ज उपमहानगरकी उपप्रमुख उमा थापा मगरको बुझाइ छ । ‘जति दिन बसे पनि हामी व्यवस्थापनमा सघाइरहन्छौं,’ उनले स्पष्ट पारिन् । भारतका विभिन्न ठाउँबाट आएका २६ जिल्लाका बासिन्दा यहाँको क्वारेन्टाइनमा बसिरहेका छन् ।
