घर फर्किंदा २ जनाको बाटैमा मृत्यु

वैशाख ९, २०७७

कान्तिपुर संवाददाता

ललितपुर — थोत्रो साइकलमा ‘खाली सिसी, पुराना कागज’ भनेर टोलटोलमा पुग्नु उनीहरूको दिनचर्या थियो । भारत मोतिहारीका दीनानाथ महतो, सन्तोष महतो, मुन्ना गुप्ता र मुकेश गुप्ताले उठाएका कबाडी सामान चापागाउँका पप्पु गुप्तालाई बुझाउँथे । यसमध्ये दीनानाथ र सन्तोष बाबुछोरा हुन् ।

दिनहुँ कबाडी संकलन गरेर गोदाममा बिक्री गरेबापतको पैसाले गुजारा चल्थ्यो । बचेको पैसा घर पठाउँथे । चैत–वैशाख उनीहरूको सबैभन्दा बढी आम्दानी हुने महिना पनि हो । दिनभर राम्रै कबाडी संकलन भए बेलुका मिठै खान्थे, नहुँदा चिउराको भर । जुन दिनका लागि खानेकुरा चाहिने हो त्यही दिन जोहो गर्थे । कोरोनाको हल्ला चल्दा पनि उनीहरू नियमित कबाडी उठाउनचाहिँ गइरहन्थे । सरकारले चैत ११ मा लकडाउन गरेपछि उनीहरूको काम पनि ठप्प भयो । लकडाउन हुनुअघि कमाएको पैसाले जसोतसो ६ दिन त धाने । तर सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेपछि सात जनाको समूहमा उनीहरू चारवटा कबाडी संकलन गर्ने साइकलमै घर जाने निधो गरे ।

चैत १७ को बिहानै उनीहरू कान्ति लोकपथको तीनपाने भन्ज्याङको उकालोतर्फ लागे । तीनपानेमा खाजा खाएपछि केहीबेर थकाइ मारे । दीनानाथ, मुन्ना र अरू अघि–अघि गए । मुकेश र सन्तोष चढेको साइकल भने पछि पर्‍यो । चापागाउँबाट करिब २२ किलोमिटर यात्रा गरेका मुकेश र सन्तोष चढेको साइकल झाँक्रीडाँडामा पुगेपछि दुर्घटनामा पर्‍यो । बिहान साढे १० बजे भएको दुर्घटनामा दुवैको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए । उनीहरू सडकबाट उछिट्टिएर एक सय ५० मिटर तल भीरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

‘ओरालोमा साइकल स्पिडमा थियो,’ घटनाका प्रत्यक्षदर्शी धनबहादुर तामाङले भने, ‘हेर्दाहेर्दै साइकल डिलमा अडियो तर उनीहरू दुवै भीरमा खसे ।’ गाउँलेले निकाल्ने प्रयास गरे पनि नसकेपछि प्रहरी र नेपाली सेनालाई खबर गरेका थिए । तामाङका अन्ुसार उनीहरूको उद्धार गर्दा नै मृत्यु भइसकेको थियो । ओरालो हुँदै गएपछि मोडिएर बायाँ जानुपर्ने साइकल सिधै भीरमा खसेको थियो । झाँक्रीडाँडाको मोडमा अनियन्त्रित भई सन्तोष भीरबाट ५० र मुकेशको शव एक सय ५० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनामा परेर साइकलको पछाडिको रिङ र टायर नै छुट्टिएको छ ।

दुर्घटनापछि अन्य भने मोतिहारी गइसकेको चापागाउँस्थित कबाडीखाना सञ्चालक पप्पु गुप्ताले बताए । उनका अनुसार मुकेश अविवाहित हुन् । सन्तोषको भने विवाह भएको ९ महिना मात्र भएको थियो । सन्तोष घरबाट काठमाडौं आएको पनि ३ महिना मात्रै भएको थियो । उनकी श्रीमती गर्भवती छिन् । मुकेशको घरमा आमा, बुवा र दाइ छन् । सन्तोषका आमा, बुबा, श्रीमती, दाइ र भाइ छन् ।

कान्तिपुर

Link copied successfully