१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

११ भारतीय र २ नेपाली नेपालमै संक्रमित भएको आशंका

चिकित्सक भन्छन्– ट्राभल हिस्ट्री र स्वास्थ्य अवस्था हेर्दा १५ दिनयता संक्रमण
देवनारायण साह

विराटनगर — कोरोना संक्रमण पुष्टि भएका उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका १३ जना नेपालमै संक्रमित भएको आशंका गरिएको छ । संक्रमण भएका १३ जनामध्ये ११ भारतको दिल्लीका र दुई जना विराटनगर–१७ का छन् । उनीहरूसँगै बसेका थप एक भारतीय र विराटनगर–१७ का दुई जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

११ भारतीय र २ नेपाली नेपालमै संक्रमित भएको आशंका

संक्रमित सबैलाई कोसी अञ्चल अस्पतालको कोरोना उपचार केन्द्रमा र अन्य तीन जनालाई टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । उनीहरू कसैलाई पनि संक्रमणको बाहिरी लक्षण नदेखिँदा चिकित्सकले अवस्थाबारे निगरानी गरिरहेका छन् ।

‘उनीहरूमा अहिलेसम्म रोगको कुनै किसिमको बाहिरी लक्षण देखिएको छैन,’ अञ्चल अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले भनिन्, ‘संक्रमितहरूको ट्राभल हिस्ट्री र स्वास्थ्य अवस्था हेर्दा १५ दिनयता नै संक्रमण भएको हुन सक्ने देखिन्छ ।’ कोरोनाको संक्रमण भएको १४ दिनसम्ममा लक्षण देखिने गरेको उनले बताइन् ।

संक्रमित भारतीय जमाती (इस्लाम धर्मगुरु) सुरुमा मंसिर २५ मा भारतको दिल्लीबाट विराटनगर–१७ रानीस्थित मस्जिदमा आएको यात्रा विवरणबाट देखिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । ‘रानी मस्जिदमा भारतीयहरू माघ १ गतेसम्म बसेका थिए,’ उनले भने, ‘रानीबाट विराटनगर–८ को बलुवाही मस्जिदमा एक साता बसेर सुनसरीतर्फ लागेका थिए ।’

यसरी हुँदै छ १३ संक्रमितको हेरचाह

विराटनगरबाट हिँडेपछि रानीका चार जना पनि उनीहरूसँगै गएका थिए । सुनसरीको दुहबी मस्जिदमा तीन, छिटहामा २०, भोक्राहामा सात र भन्टाबारी मस्जिदमा आठ दिन बसेको खुलेको छ । भन्टाबारीबाट सप्तरीको बरमझियामा सात दिन, चर्कियामा १० र फत्तेपुर मस्जिदमा तीन दिन बसेर उदयपुरको चौदण्डी नगरपालिका–५ स्थित सिवाही मस्जिदमा पुगेको देखिन्छ । त्यहाँ सात दिन बसेर त्रियुगा नगरपालिकास्थित भुल्के मस्जिदमा ३५ दिनदेखि उनीहरू बस्दै आएको खुलेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनले भने, ‘अहिले ट्राभल हिस्ट्रीबारे सम्बन्धित मस्जिदहरूमा समेत भेरिफाई भइरहेको छ ।’

अधिकारीले विराटनगरस्थित २५ वटै मस्जिदमा आउजाउमा रोक लगाइएको बताए । ती मस्जिदमा रहेका नौ जना पाकिस्तानी, १० भारतीय र १० नेपाली नागरिकलाई जाँच गराएर क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनले प्रदेश १ स्थित प्रत्येक मस्जिदहरूमा कडाइ गरेर एक जना धर्मगुरुलाई मात्रै बस्ने व्यवस्था गरेको छ । मस्जिदहरूमा आवतजावतमा समेत रोक लगाइएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका स्रोतव्यक्ति ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरको भुल्केका सबै जनाको स्वाब परीक्षण भइरहेको छ । शनिबार एक महिलासहित ६९ जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि कोसी अस्पताल ल्याइएको छ । ‘संघीय सरकारले हेलिकप्टरबाट प्राविधिक पठाएर स्वाब संकलन गरिरहेको छ,’ उनले भने, ‘मोरङ, सुनसरीका प्रत्येक मुस्लिम समुदायका व्यक्तिको स्वाब नमुना संकलन गरी परीक्षण गर्ने तयारी प्रदेश सरकारले गरिरहेको छ ।’

प्रकाशित : वैशाख ८, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?