काठमाडौँ — श्रमिकको पीडाले सरकारलाई नछोएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् । संसद, अदालत र मिडियाले श्रमिकबारे बारम्बार आदेश दिँदा र आवाज उठाउँदा पनि सरकारले नसुनेको उनको भनाइ छ ।
सयौं श्रमिक काठमाडौंदेखि सयौं किलोमिटर पैदल हिँडेर घरतर्फ गइरहेको अवस्थातर्फ इंगित गर्दै भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'सरकारको गति न ह.. न बाटो छोड्छ भने जस्तो भयो । मिडिया, सांसद, अदालत सबै चिच्याउँदा पनि लम्बे यात्रामा भोकै पैदल हिँडेका श्रमिकहरूको पीडाले यसलाई छुँदैछुँदैन ।'
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेकाले र आफैंलाई स्वास्थ्य समस्या देखिने भएकाले सहयोगीहरू पनि सहयोग गर्न सक्ने अवस्थामा नरहेको भट्टराईको भनाइ छ । 'भूकम्पको बेलाजस्तो हामी सांसद/नागरिकले स्वतन्त्र पहल गरौं भने पनि स्वास्थ्य प्रोटोकलले नमिल्ने,' उनले सरकारको नेतृत्व र सत्तारुढ नेकपातर्फ लक्षित गर्दै लेखेका छन्, 'यी श्रमिक जागेका दिन पर्ख कणहरू ।'
काठमाडौं उपत्यका र यस वरपरका जिल्लाका विभिन्न उद्योगमा काम गर्ने मजदुरहरू पैदल हिँडेर घर गइरहेका छन् । उनीहरूलाई विभिन्न ठाउँमा सुरक्षाकर्मीले अवरोध गरिरहेका समाचार सार्वजनिक भएका छन् ।
उनीहरूलाई खाना र सुत्नका साथै यातायातको उचित प्रबन्ध नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।
