हालसम्मकै कमजोर अवस्थामा नेपाली मुद्रा
काठमाडौँ — केही दिनयता नेपाली मुद्रा (नेरु) सँग अमेरिकी डलरको विनिमय दर निरन्तर उकालो लागिरहेको छ । सोही क्रममा राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १ सय २३ रुपैयाँ २८ पैसा (बिक्रीदर) ताक्यो । यो हालसम्मकै उच्च हो । यसअघि बिहीबार १ अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ६१ पैसा, चैत २७ मा १ सय २२ रुपैयाँ ५० पैसा र चैत ११ मा यस्तो विनिमय दर १ सय २२ रुपैयाँ ३४ पैसा थियो ।
पछिल्ला दिनमा डलरको तुलनामा नेरु निरन्तर कमजोर बन्दै गएको छ । राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ६८ पैसा तोक्यो । यो पनि हालसम्मकै उच्च हो । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो । करिब डेढ वर्षअघि (०७५ असोज २४ मा) अमेरिकी डलरको विनिमय दर १ सय २० रुपैयाँ (१ सय १९ रुपैयाँ ३३ पैसा) हाराहारीमा थियो ।
विश्व बजारमा अमेरिकी अर्थतन्त्रको प्रभुत्व कायमै छ । त्यसैले पनि लगानीकर्तालाई भरपर्दो विकल्प अमेरिकी डलर बनेको छ । पछिल्ला एक वर्षयता विश्व बजारमा निरन्तरजसो उतारचढाव हुँदै आएको छ । अमेरिका र चीनबीचको व्यापार युद्ध, इरान, इराक, कतारलगायत खाडी मुलुकमा देखिएका अस्वाभाविक गतिविधिले विश्व अर्थतन्त्र कुनै न कुनै रूपमा प्रभावित बन्दै आएको छ । केही वर्षयता उदीयमान राष्ट्र (इमर्जिङ कन्ट्री) का अर्थतन्त्रहरूले राम्रो गर्न सकेका छैनन् । यसकारण ती राष्ट्रबाट धमाधम अमेरिकालगायत ठूला राष्ट्रमा लगानी फिर्ता भइरहेको छ ।
हालैको अन्तर्रार्ष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एक प्रतिवेदनले उदीयमान राष्ट्रहरूबाट १ खर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी फिर्ता भइसकेको जनाएको छ । त्यसमध्ये सबैभन्दा धेरै विदेशी लगानी भारतबाट फिर्ता भएको छ । यसकारण अमेरिकी डलरको माग बढिरहेको छ । कोरोनाको असर अर्थतन्त्रमा सन् २००८/०९ को भन्दा तीन गुणा धेरै हुने आईएमएफले अनुमान गरेको छ । नेपाललगायत अल्पविकसित राष्ट्रमा त्यसको असर झन् धेरै हुने अनुमान गरिएको छ ।
उदीयमान राज्यहरूमा राम्रो गर्न नसकेकै कारण डलरप्रति लगानीकर्ताको आकर्षण बढेको पूर्व कामु डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले बताए । ‘तुलनात्मक रूपमा अझै पनि अमेरिकी डलरप्रति लगानीकर्ताको विश्वास धेरै छ,’ उनले भने, ‘किनकि अरू उदीयमान अर्थतन्त्रहरूले पनि राम्रो गर्न सकेनन् ।’ ठूला देशहरूबाट उदीयमान राष्ट्रहरूमा विदेशी लगानी आउन बन्द भएको मात्र होइन, पुरानो लगानी पनि फिर्ता भएको छ । यसकारण डलर बलियो बनेको उनले जानकारी दिए । ‘नेपालमा डलरको कारणले भन्दा पनि भारु कमजोर भएकाले नेरु कमजोर भएको हो,’ उनले भने, ‘स्थिर विनिमय दरका कारण नेरु भारुमा निर्भर हुनुपरेको हो ।’
विश्व बजारमा तेलको मूल्य दशकयताकै न्यून विन्दुमा झरेको छ । यसको प्रत्यक्ष असर तेल उत्पादक मुलुकहरूमा परेको छ । यसले पनि डलर बलियो हुन सघाएको छ ।
यस्तै चीनबाट फैलिएको कोराना भाइरसका कारण विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा छन् । यसले धेरै राष्ट्रहरूमा आर्थिक वृद्धिदर उच्च अंकले घट्ने देखिन्छ । विश्व बैंक, आईएमएफलगायत अन्तर्राष्ट्रिय निकायले विश्वको आर्थिक वृद्धिदर उच्च प्रतिशत विन्दुले ओरालो लाग्ने प्रक्षेपण गरेका छन् । केही सातायता कोरोनाबाट सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिका बनेको छ । यसले त्यहाँको अर्थतन्त्र पनि नराम्ररी प्रभावित हुनेछ । यस्तो अवस्थामा पनि अमेरिकी डलर त्यति धेरै अवमूल्यन भइनहाल्ने जानकारहरू बताउँछन् । अन्य राष्ट्रले राम्रो गरिरहेको समयमा अमेरिकामा मात्र मन्दी आएको भए डलर कमजोर हुन्थ्यो । तर कोरोनाको असरले सबै अर्थतन्त्र प्रभावित छन् । यस्तो अवस्थामा नराम्राहरूमध्येबाटै राम्रो छान्नुपर्ने भएकाले अमेरिका नै अघि रहने प्रक्षेपणका आधारमा डलरमा लगानीकर्ता आकर्षण बढेको जानकारहरूको तर्क छ ।
डलर निरन्तर बलियो बन्दै जानुको अर्को कारण विश्व सेयर बजारमा गिरावट पनि हो । कोरोनाका कारण विश्वका प्रभावशाली सेयर बजारहरूमा तीन महिनायता निरन्तर गिरावट आइरहेको छ । लकडाउनका कारण बजारमा सूचीकृत उत्पादनमूलक क्षेत्र र व्यापारिक क्षेत्रका कम्पनीहरूको सेयरमूल्य धेरैले घटेको छ । निरन्तर बजार ओरालो लागेपछि सुरक्षित विकल्पका रूपमा लगानीकर्ताले डलर छानेका छन् । यसकारण पनि डलर बलियो बनेको हो ।
एक अमेरिकी डलरको विनिमय दर शुक्रबार ७६.३२ भारु छ । यो पनि हालसम्मकै उच्च हो । एक–डेढ वर्षयता भारतीय अर्थतन्त्रले अपेक्षित रूपमा राम्रो उन्नति गर्न सकेको छैन । कहिले जम्मुकाश्मीर त कहिले हिन्दु–मुस्लिमबीचको विवादको प्रत्यक्ष प्रभाव भारतीय अर्थतन्त्रमा परेको छ । पछिल्लो समयमा नागरिकता विधेयकसम्बन्धी विवाद अझै साम्य भएको छैन । यी विवादका कारण पछिल्ला महिनामा भारतमा विदेशी लगानी बढेको छैन । केही परिमाणमा पुराना लगानी पनि फिर्ता भएका छन् । यसकारण विश्वबजारमा भारतीय मुद्रा कमजोर भएको छ ।
डलर बलियो बन्दा नेपाललाई हानि मात्र हुँदैन, लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपाली स्वदेशमा पैसा पठाउन उत्साहित हुने भएकाले ठूलो मात्रामा रेमिट्यान्स आउँछ ।
डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । तर कारोनाका कारण अहिले रेमिट्यान्स आप्रवाह नराम्ररी प्रभावित हुँदै छ । यसकारण अहिले डलर बलियो बन्दा नेपालले धेरै रेमिट्यान्स भित्र्याएर लाभ लिन सक्ने अवस्था छैन ।
नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले पर्यटक बढ्ने र निर्यात बढाउने सम्भावना पनि छैन । दुर्भाग्य नेपालका ती सबै क्षेत्र कमजोर छन् । यसकारण डलरको मूल्य बढ्दा पनि नेपालले ती क्षेत्रबाट अपेक्षित रूपमा लाभ लिन सक्ने अवस्था छैन ।
विदेशी मुद्रा भित्र्याउने माध्यम अपेक्षित रूपमा सुधार हुन नसक्दा यतिबेला मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ । तर यो वर्ष आयात खुम्चिने भएकाले दायित्व पनि त्यति धेरै बढ्ने छैन ।
यसैगरी नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट ऋण लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै बढी रकम तिर्नुपर्छ । विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ । निरन्तर नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउँछ ।
