व्यवसायीको गुनासो– ‘आपूर्ति भन्छ पसल खोल, गृह भन्छ निर्णय भएको छैन’
काठमाडौँ — भाटभटेनी सुपरमार्केटले शुक्रबारदेखि स्टोर खुला गरेपछि बिगमार्टका फाइनान्स डिपार्टमेन्ट प्रमुख विवेक देवले मार्ट खोल्ने सन्दर्भमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरे । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खोल्न दिने निर्णय नभएको जवाफ दिए । त्यसपछि देवले वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्याललाई फोन लगाए । सचिव अर्यालले मार्ट खोल्न आग्रह गरे । विगतमा प्रहरीले दिएको दुःख सम्झिँदै देवले पुनः गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्मासँग संवाद गरे ।
सहसचिव शर्माले पसल सञ्चालनका क्रममा प्रहरीले अप्ठ्यारो बनाउन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरीका डीआईजी विश्वराज पोखरेलसँग छलफल गर्न सुझाए । ‘आपूर्ति मन्त्रालयले मार्ट सञ्चालन गर भन्छ,’ देवले गुनासो गरे, ‘तर गृहले भन्छ, निर्णय भएको छैन । प्रमुख जिल्ला अधिकारीले पनि नखोल भन्छन् । मार्ट खोलेपछि सुरक्षा चाहिन्छ । तर यस विषयमा सरकारी निकाय नै स्पष्ट भएन ।’ यसअघि वडा कार्यालयहरूको अनुरोधमा उनले मार्ट सञ्चालन गर्दै आएका थिए । तर प्रहरीले अवरोध गरेपछि तीन–चार दिनयता मार्ट बन्द गरेका थिए ।
भाटभटेनी शुक्रबारदेखि खुलेपछि उनले सरोकारवाला निकायसँग थप जानकारी लिन खोजेका थिए । तर सरकारी निकायबाटै अस्पष्ट जवाफ पाएको उनी बताउँछन् । ‘ग्राहकले खोल्नुपर्छ भनेर धेरै आग्रह गरे । त्यसैले मार्ट खोलेका थियौं,’ उनले भने, ‘तर प्रहरीले कर्मचारीलाई दुःख दिए, खोल्न दिएनन् ।’
सेल्सबेरीका चिफ फाइनान्स अफिसर सन्दीप प्रधानांगको भनाइ पनि उस्तै छ । सेल्सबेरी र सेलवेज मार्ट सञ्चालन गर्दा प्रहरीबाट अवरोध भइरहेको उनको भनाइ छ । ‘वडा कार्यालयहरूको अनुरोधमा केही घण्टा सञ्चालन गर्दा प्रहरीबाटै अवरोध भयो,’ उनले भने, ‘अत्यावश्यक वस्तु बिक्री गर्ने सन्दर्भमा सरकारबाटै स्पष्ट निर्देशन भएन ।’ प्रहरीसँगै स्थानीय खुद्रा व्यापारीले समेत अवरोध गर्ने गरेको उनले बताए । खाद्यान्नको पसल सञ्चालन गर्न दिने/नदिनेमा सरकारबाट स्पष्ट निर्देशन जरुरी भएको उनको भनाइ छ ।
डिपार्टमेन्ट सञ्चालकजस्तै खुद्रा व्यापारीहरूको गुनासो पनि उस्तै छ । खुद्रा पसलहरूले एक–दुई घण्टा खुले पनि प्रहरीले बन्द गरेको उनीहरू बताउँछन् । ‘खुद्रा व्यापार संघसँग काठमाडौंमा मात्रै ३ हजार २ सयभन्दा बढी व्यवसायी आबद्ध छन् । केही पसलेले खोल्न खोजे प्रहरीबाट अवरोध हुन्छ,’ संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘प्रायः साथीहरू भाडामा बस्छन् । पसल खोल्न आउने क्रममा बाटोमा पनि अवरोध भयो ।’
खुद्रा पसल सञ्चालन हुन नसक्दा सामानको म्याद सकिने अवस्था रहेको श्रेष्ठले बताए । सुरक्षित हिसाबले उपभोक्तालाई सेवा दिनु उचित भए पनि मन्त्रालयबाट कुनै पहल नभएको उनको भनाइ छ । ‘व्यवसायीको समस्याबारे आपूर्ति मन्त्रालयबाट कुनै पहल नै भएको देखिएन,’ उनले भने, ‘सरकारबाट धेरै लापरबाही भयो । व्यवसायी पीडित भए ।’ व्यावसायिक संघसंस्थाजस्तै उपभोक्ता अधिकारकर्मीहरूको भनाइ पनि उस्तै छ ।
दैनिक उपभोग्य समाग्रीहरुको बिक्री गर्ने स(साना पसल देखी ठूला डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न स्थानीय तह, संघका मन्त्रालयहरु र प्रहरी प्रशासनबीच समन्वय नभई निर्देशन जारी हुँदा व्यापारी र उपभोक्ता दुवैलाई समस्या परिरहेको छ । ‘आपूर्ति मन्त्रालयले सहज रूपमा चल्न दिने भने पनि नगरपालिका र वडाले नयाँनयाँ विज्ञप्ति निकालेर व्यापार व्यवसायमा अवरोध गरिरहन्छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘आपूर्ति प्रणाली चुस्त बनाउन सरकारी निकायबीच नै समन्वय भएन ।’
सबै निकायले आआफ्नो तरिकाबाट काम गर्न खोज्दा समस्या भएको उनको दाबी छ । तारकेश्वर नगरपालिकाले बिहान ५ देखि ८ बजेसम्म खाद्य पसल खोल्न अनुमति दिएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । त्यहीअन्तर्गतको १० र ११ वडा कार्यालयले बिहान ६ देखि ८ बजेसम्म मात्रै पसल सञ्चालन गर्न पाउने विज्ञप्ति प्रकाशन गरेको उनले बताए ।
खाद्यान्न पसल/डिर्पाटमेन्ट स्टोर सञ्चालन गर्न दिने निर्णय विगतकै भएको वााणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले बताए । सोहीअनुसार मार्ट पनि सञ्चालन भएको उनको दाबी छ ।
चैत दोस्रो साताको बैठकले अत्यावश्यक सेवा/वस्तु सञ्चालन गर्न दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । ‘त्यो भनेको खाद्यवस्तुहरूको होम डेलिभरी, अनलाइनबाट खरिदबिक्री गर्न भनेको हो,’ उनले भने, ‘आपूर्ति व्यवस्थाका लागि आपूर्ति मन्त्रालयले माग गरेपछि सोहीअनुसार निर्णय हुन्छ । त्योबाहेक थप केही निर्णय भएको छैन ।’
खाद्यान्नका लागि निश्चित समय तोक्दा भिड हुने काठमाडौं प्रमुख जिल्ला अकिारी जनकराज दाहालले बताए । ‘स्थानीय तह आफैंले समय मिलाएर खोल्ने गरेका छन् । सामाजिक दूरी कायम गरेर सञ्चालन गरेका छन्,’ उनले भने, ‘भाटभटेनीले स्टोर सञ्चालन गरेको सन्दर्भमा बुझ्नैपर्छ । वाणिज्य मन्त्रालयको आग्रहमा खोलेको हुन सक्छ ।’
लकडाउनले किनमेलमा समस्या भएपछि उपत्यकामा सञ्चालित केही डिपार्टमेन्ट स्टोरले सुरक्षाका मापदण्ड अपनाएर स्टोर सञ्चालन गरेका छन् । भाटभटेनी सुपरमार्केटले उपत्यकाका विभिन्न ६ स्टोर र सेल्सबेरीले सातादेबाटो, सीतापाइला र महाराजगन्जमा रहेको स्टोरबाट बिक्री सुरु गरेको हो । डिर्पाटमेन्टहरूले एक मिटरको दूरी र एक पटकमा १० जना मात्रै भित्र जान पाउने गरी सेवा दिएको जनाएको छ ।
‘प्रशासनको अनुरोधमा स्टोर खुला गर्ने निर्णय गरेका छौं । एक पटकमा १० जना मात्रै भित्र पठाएका छौं । एउटा निस्केपछि मात्रै अर्को पठाएका छौं,’ भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडैलले भने, ‘जसले गर्दा भिडभाड छैन ।’ उनका अनुसार भाटभटेनी बिहान १० देखि बेलुका ७ बजेसम्म खुल्नेछ । ‘राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुला छन्,’ उनले भने, ‘उपत्यकाबाहिरका सात स्थानका स्टोर पनि खुला गर्नेछौं ।’
सेल्सबेरीका चिफ फाइनान्स अफिसर सन्दीप प्रधानांगले पनि मुख्य स्टोर बिहान १० देखि ६ बजेसम्म खुला गरेको बताए । साना स्टोर वडा कार्यालयले भनेको समयमा खोल्ने गरिएको उनको भनाइ छ । ‘वडा कार्यालय अनुसार समय फरकफरक छ । कार्यालयहरूको अनुरोधमा खोल्ने गरेका छौं,’ प्रधानांगले भने । सरकारले लकडाउन गरेपछि भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायतले होम डेलिभरी पनि गर्दै आएका छन् ।
