राजधानीबाट घर जान निस्केका नागरिकलाई सुरक्षित तवरले पुर्याइदिन सरकारसँग आग्रह
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जान निस्केका नागरिकलाई सुरक्षित तवरले पुर्याइदिन सरकारसँग आग्रह गरेका छन् ।
‘काठमाडौंमा श्रम गरिरहेका नागरिक खाने र बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका छन् । सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो,’ देउवाले शुक्रबार ट्वीट गरेका छन्, ‘तर सरकारमा बसेकाहरू ती निमुखाको त्यो यात्राको दर्शक मात्रै भएका छन् ।’
देउवाले पैदल हिँडिरहेका मजदुरहरूलाई आआफ्नो स्थानमा खाना र बस्ने व्यवस्था मिलाउन स्थानीय पार्टी तथा भ्रातृसंस्थाका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । सामाजिक दूरी कायम गरेर आआफ्नो क्षेत्रमा खाना र राति भए बासको व्यवस्थासमेत मिलाउन उनले कार्यकर्तालाई आग्रह गरेका हुन् ।
‘सुकुम्बासीलाई जग्गा कि जाउलो ?’
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भोक र पसिनासँगै सयौं किलोमिटर यात्रा गरिरहेका मजदुरहरूप्रति लक्षित गर्दै ‘पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?’ भन्ने प्रश्न गरेका छन् ।
‘भावनामा बगेर बोल्ने बेला यो होइन तर कोठाभित्र छटपटिएर र सडकमा तडपिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन,’ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पर्याप्त राहत पुर्याउन र अप्ठ्यारोमा रहेकाहरूलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन सरकारसँग कांग्रेस आग्रह गर्दछ ।’
केन्द्रीय सदस्य गगन थापाले पैदल हिँडिरहेका, भोक र थकानले लडिरहेकाहरूका तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘यस्ता तस्बिर दिनहुँ देख्दा तपाईंलाई कस्तो लाग्छ ? मलाई त यिनको प्रतिनिधि हो भन्ने सोच्दा पनि लज्जाबोध हुन्छ । यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ ?’ थापाले केही नगर्ने हो भने उनीहरूको आँसुले पोल्ने बताए ।
