आरडीटी पोजिटिभको स्वाब संकलनमै ३ दिन

वैशाख ६, २०७७

कलेन्द्र सेजुवाल

सु्र्खेत — र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ देखिएका मुगुका एक व्‍यक्तिको थ्रोट स्वाब संकलनका लागि शुक्रबार जुम्लाबाट स्वास्थ्‍यकर्मीको टोली हिँडेको छ । टोलीले शनिबार स्वाब संकलन गरी सुर्खेत पठाउनेछ । रिपोर्ट भने छिटोमा सोमबारसम्म आउनेछ ।

बिहीबार आरडीटी गर्दा मुगुको खत्याड गाउँपालिका खुमालेका एक व्यक्तिको नतिजा पोजिटिभ देखिएको थियो । भारतबाट आएका उनलाई अहिले खत्याड प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनमा राखिएको छ । ती व्यक्तिमा कोरोना भाइरस रोग (कोभिड–१९) को लक्षण भने नदेखिएको मुगुका जिल्ला स्वास्थ्य प्रमुख डा. निर्मल नगरकोटीले बताए । उनले बिहीबारै हेलिकप्टरमा स्वाब संकलन टोली र आवश्यक उपकरण पठाउन माग गरेका थिए । कर्णाली प्रदेश सरकारले भने जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी शुक्रबार टोली पठाएको हो ।

प्रतिष्ठानबाट डा. सुनील बुढाथोकीको नेतृत्वमा ६ सदस्यीय टोली त्यसतर्फ हिँडेको छ । टोलीमा चिकित्सकका साथै जनस्वास्थ्यविद्, ल्याब प्राविधिक र स्वास्थ्य सहायक रहेका छन् । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले टोली शनिबार साँझसम्म खत्याड पुग्ने र स्वाब संकलन गरी पठाउने बताए । उनका अनुसार टोलीले स्वाब संकलनका लागि कोल्ट बक्स, एक सय वटा आरडीटी किट र औषधि पनि लगेको छ ।

आरडीटी पोजिटिभ देखिएका व्यक्ति चैत ७ गते भारतबाट गाउँमा पुगेका थिए । उनीसँगै अन्य ५५ जना पनि लकडाउनअघि भारतबाट गाउँमा पुगेका थिए । रजिस्ट्रार काफ्लेले भारतबाट आएका व्यक्ति, उनीहरूका परिवार र अन्य आशंका गरिएका व्यक्तिको आरडीटी गरिने बताए । रिपोर्ट पोजिटिभ देखिएमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिनेछ ।

दुई आरटी–पीसीआर मेसिन आउँदै

कम क्षमताको रियल टाइम–पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर) मेसिनका कारण सास्ती खेप्दै आएको कर्णालीमा थप दुई वटा ठूलो क्षमताका मेसिन आउने भएका छन् । ती मेसिन सुर्खेतको प्रादेशिक अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने छन् ।

संघीय सरकारमातहतको प्रतिष्ठानले प्रदेश सरकारको आर्थिक सहयोगमा नयाँ मेसिन खरिद गरेको छ । उक्त मेसिन चीनबाट काठमाडौं आइपुगेको र दुई–तीन दिनमा जुम्ला पुग्ने प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । ‘यो मेसिन आएपछि माथिल्लो कर्णाली क्षेत्रका स्वाबहरू सहज रूपमा जुम्लामै परीक्षण गर्न सकिने छन्,’ उनले भने, ‘हामीसँग पर्याप्त जनशक्ति र पूर्वाधार भएकाले कोरोना रोकथाम र नियन्त्रणमा सहज हुने विश्वास लिएका छौं ।’

प्रदेश अस्पतालस्थित प्रयोगशालाका लागि त्रिभुवन विश्वविद्यालयमा रहेको पीसीआर मेसिन ल्याउने प्रक्रिया सुरु भएको छ । प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका अनुसार उक्त मेसिनका साथै स्वास्थ्य मन्त्रालयसँग पनि थप अर्को मेसिन माग गरिएको छ । ‘मेसिन ल्याउनका लागि सबै प्रक्रिया पूरा भइसकेको छ, सञ्चालन गर्नका लागि सुर्खेतमा पूर्वाधार निर्माण पनि सुरु भइसकेको छ,’ उनले भने, ‘सम्भवत: सोमबारसम्म हामीले ठूलो मेसिनबाट काम गर्ने छौं ।’

हाल कर्णालीमा प्रदेश अस्पतालस्थित प्रयोगशालामा एउटामात्र मेसिन रहेको छ । उक्त मेसिनले एकपटकमा एउटा नमुना प्रोसेसिङ गर्न सक्छ । नयाँ ल्याउन लागिएका मेसिनमा भने एक पटकमा ९४ वटासम्म नमुना प्रोसेसमा राख्न सकिन्छ । मन्त्री रावलले यी मेसिन सञ्चालनमा आएमा नमुना संकलन गरेर परीक्षणका लागि बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

सुर्खेतमा चैत २० गतेदेखि स्वाब परीक्षण सुरु भए पनि कम क्षमताको मेसिनको कारण हालसम्म १ सय ५६ को मात्र रिपोर्ट आएको छ । संकलन भएकामध्ये ६ सय १७ स्वाब काठमाडौं र ९९ स्वाब धनगढी परीक्षण भएका छन् । २७ स्वाबको नमुना सुर्खेतस्थित प्रयोगशालामा रहेका छन् भने २० वटा नमुना रुकुम पश्चिमबाट संकलन गरी ल्याइँदै छन् । ‘हामीले आरडीटीलाई पनि तीव्रताका साथ अघि बढाएका छौं, यी मेसिन आए भने स्वाब परीक्षणले पनि गति लिनेछ,’ मन्त्री रावलले भने, ‘परीक्षणमा तीव्रता भएसँगै कर्णालीमा कोरोनाको जोखिम र अवस्थाबारे थाहा हुनेछ ।’

‘मेडिकल मार्च’ चलाइने

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) को पहिचान, रोकथाम र नियन्त्रणका लागि ‘मेडिकल मार्च’ गर्ने योजना बनाएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको टोलीलाई ग्रामीण क्षेत्रमा खटाउने सरकारको तयारी छ ।

सामाजिक विकासमन्त्री रावलका अनुसार प्रदेशमा हाल करिब २ सय जना चिकित्सक रहेका छन् । स्वास्थ्यकर्मीको संख्या पनि आवश्यक मात्रामा रहेको छ । ‘अहिले अस्पतालका बहिरंग सेवा (ओपीडी) बन्द हुँदा चिकित्सक र स्वास्थ्यकर्मी फुर्सदिला भएका छन्, अब उनीहरूलाई टोली बनाएर गाउँमा पठाउने हामीले योजना बनाइरहेका छौं,’ उनले भने, ‘डाक्टरहरू गाउँ पुगेमा जनतामा रहेको त्रास हट्ने र कोरोनाको पहिचानमा पनि मद्दत पुग्नेछ ।’ यसका लागि मन्त्रालयले चिकित्सकदेखि तल्लो स्तरका स्वास्थ्यकर्मीको लगत संकलन गरिसकेको उनले बताए ।

‘मेडिकल मार्च’ योजना कार्यान्वयन गर्न प्रदेश सरकारले संघीय सरकारसँग १० हजार आरडीटी किट माग गरेको छ । यसअघि आएका ५ हजार किट भने जिल्लामा पठाइसकिएको छ । ती किट आए भने स्वस्थ्यकर्मीको संयुक्त टोलीलाई परीक्षणका लागि परिचालन गरिने मन्त्री रावलले बताए । ‘लकडाउनअघि र लकडाउनपछि कर्णालीका धेरै मान्छेहरू भारतबाट गाउँमा पुगेका छन्,’ उनले भने, ‘गाउँ–गाउँमा मेडिकल टिम पठाएर आरडीटी गरेपछि मात्र कोरोनाको वास्तविक जोखिम थाहा हुनेछ ।’

कलेन्द्र

Link copied successfully