सनसिटीमा बस्ने २९६ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

वैशाख ३, २०७७

स्वरूप आचार्य

काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ ।

नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार परीक्षण गरिएका मध्ये कसैको पनि रिपोर्ट पोजिटिभ आएको छैन । ‘सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा विभागबाट आउनुभएका चिकित्सकले जानकारी दिनुभएको छ,’ उनले भने, ‘संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकको पहिलोपटक नेगेटिभ आएपछि दोस्रोपटक पनि परीक्षण गरिएको थियो । हामीलाई डाक्टरले सबैको नेगेटिभ आएको बताउनुभएको छ ।’

मेयर थापाका अनुसार सो अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसलधनीको पनि आरडीटी गर्नुपर्ने निष्कर्ष स्वास्थ्य सेवा विभागकाे टोलीको छ । ‘विभागको टोली र हामीले अध्ययन गर्दा लगभग १३ सय जनाजतिको आरडीटीबाट परीक्षण गर्नुपर्ने देखेका छौं । उहाँहरूले पनि त्यही भन्नुभएको छ,’ उनले भने, ‘बाँकी निर्णय त स्वास्थ्य मन्त्रालयले लिन्छ होला ।’

उनले आजका लागि भने परीक्षणको काम लगभग सकिएको र भोलि पुनः परीक्षण हुने बताए । ‘१२–१३ सय मानिसको परीक्षण गर्न त ३–४ दिन लाग्छ होला,’ उनले भने, ‘आज पनि हामीले पहिले बिरामीहरूको परीक्षण गरेका थियौं ।’

मेयर थापाका अनुसार आज अपार्टमेन्ट परिसरमा डिसइन्फेक्टेन्ट छर्किने काम पनि भएको छ । बाहिर सडकतिर पनि डिसइन्फेक्टेन्ट छर्किइएको थियो । सबैको परीक्षण नभएसम्मका लागि उक्त अपार्टमेन्टलाई सिल नै गरेर राख्नेबारे छलफल भइरहेको थापाले बताए । उनका अनुसार भवन सिल गरेर राखिएको अवस्थामा त्यहाँ बस्नेहरूका लागि अपार्टमेन्ट व्यवस्थापन समिति र वडा कार्यालयबीच समन्वय गरेर अवश्यक सामग्री पूर्ति गर्ने व्यवस्था मिलाइँदै छ ।

‘भवन सिल गरेको तीन दिन भइसक्यो । त्यहाँ बस्नेहरूलाई सामान चाहिएको होला । हामीले त्यो बुझेका छौं,’ उनले भने, ‘त्यसैले वडाध्यक्ष तथा त्यहाँको व्यवस्थापन समितिलाई सहकार्य गर्न भनेका छौं । प्रहरीहरूसँग मिलेर आवश्यक सामग्री आपूर्तिको व्यवस्था मिलाउँदै छौं ।’

वैशाख १ गते नगरपालिकाले विदेशबाट आएका ३६ जनाको परीक्षण गर्ने क्रममा सनसिटीमा बसोबास गर्ने एकै परिवारका तीन जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि पीसीआरबाट परीक्षण गर्दा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । ५२ वर्षीया बुहारीको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

उनीहरू तीनै जना चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएका थिए । दुवै संक्रमित अहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा छन् ।

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully