डब्लूएचओलाई आर्थिक सहयोग रोक्ने घोषणा ‘खतरनाक’ : बिल गेट्स

वैशाख ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — माइक्रोसफ्ट कम्‍पनीका सहसंस्थापक बिल गेट्सले विश्वव्यापी स्वास्थ्य संकट आएका बेला विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) लाई आर्थिक सहयोग रोक्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेपछि गेट्सले ट्वीटमार्फत प्रतिक्रिया दिएका हुन् ।

विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग रोक्ने ट्रम्पको घोषणा ‘खतरनाक’ भएको पनि उनले प्रतिक्रिया दिएका छन् । 

— Bill Gates (@BillGates) April 15, 2020

डब्लूएचओले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोक्नका लागि काम गरिरहेको उल्लेख गर्दै अर्को कुनै संस्थाले यसलाई प्रतिस्थापन गर्न नसक्ने गेट्सले बताएका छन् । सबैभन्दा बढी अहिले डब्लूएचओको आवश्यकता रहेको पनि उनले बताएका छन् । बिल गेट्स एन्ड मेलिन्डा गेट्स फाउन्डेसन डब्लूएचओलाई आर्थिक सहयोग गर्ने प्रमुख संस्था हो ।

त्यस्तै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पनि डब्लूएचओलाई आर्थिक सहयोग रोक्नु गलत भएको बताएका छन् । अहिले डब्लूएचओलाई आर्थिक सहयोग रोक्नुभन्दा पनि अझ बढाउँदै कोरोना भाइरसरिुद्धको लडाइँलाई सशक्त बनाउनुपर्ने महासचिव गुटेरसले बताए । ‘पूरा विश्व नै कोरोना भाइरसविरुद्धको लडाइँमा लागिरहेका बेला डब्लूएचओलाई अझ बढी सहयोगको आवश्यकता रहेको मेरो विश्वास हो,’ महासचिव गुटेरसले भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओ चीनमुखी र कोरोना भाइरसको संक्रमण रोक्नमा विफल भएको आरोप लगाउँदै सहयोग रोक्ने बताएका हुन् । डब्लूएचओलाई अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहायता उपलब्ध गराउँछ। गत वर्ष उसले ४० करोड डलर सहयोग दिएको थियो, जुन डब्लूएचओको कुल बजेटको १५ प्रतिशत रकम हो।

सम्बन्धित समाचार

अमेरिकाले डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully