नयाँदिल्ली — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ सय ९६ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार बिहानसम्म भारतमा ११ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये एक हजार ३ सय ५ जना निको भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । बुधबार बिहानसम्म महाराष्ट्रमा १७८ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ८७ जना संक्रमित भएका छन् । त्यस्तै तमिलनाडुमा १२ जनाको मृत्यु भएको छ भने एक हजार २ सय ४ जना संक्रमित भएका छन् । मध्य प्रदेशमा ५० जनाको मृत्यु भएको छ भने ७ सय ३० जनामा संक्रमण दखिएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश, उत्तराञ्चल बिहार र पश्चिम बंगालमा क्रमश: ६६०, ३७, ६६ र २१३ जनामा संक्रमण देखिएको छ ।
यसैबीच भारतीय गृहमन्त्रालयले दोस्रो चरणको लकडाउनका लागि बुधबार गाइडलाइन जारी गरेको छ । लकडाउनको पूर्ण पालना गराउनका लागि गाइडलाइन तयार पारिएको मन्त्रालयले जनाएको छ । भारतमा दोस्रो चरणको लकडाउन मे ३ तारिखसम्मका लागि लम्ब्याइपछि विभिन्न सहरमा मजदुरहरु सडकमा आएर विरोध गरिरहेका छन् ।
बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख २६ हजार ७ सय ५३ पुगेको छ । त्यस्तै करिब १९ लाख ८२ हजार संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या करिब ४ लाख ९३ हजार रहेको छ ।
