झापा — सीमापारि भारतमा कोरोना भाइरसको संक्रमण दर बढ्दो छ । नेपालमा संक्रमण फैलन नदिन सरकारले देशभरका मुख्य नाका तीन सातायता ठप्प पारेको छ । काँकडभिट्टा, भद्रपुर नाकामा मानिसको आवागमन मात्र होइन, वस्तु आयातमा समेत प्रतिबन्ध छ ।
यति हुँदा पनि सीमापारिबाट अवैध ढंगले आउने क्रम नरोकिएपछि भारतसँग खुला सीमा रहेको जिल्लाको १ सय ४४ किलो मिटर क्षेत्रमा धमाधम अस्थायी सुरक्षा पोस्ट राख्न थालिएको छ ।
इलामको सीमावर्ती तिरिडदेखि गौरीगन्जसम्म दर्जनौं सुरक्षा पोस्ट राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । भारतबाट कोरोना संक्रमित आउन सक्ने भन्दै बाँदर खेदाउने भीरदेखि हात्ती धपाउने टुँडसम्म पोस्ट राखिएका छन् । स्रोतसाधनबेगर अचानक खडा गरिएका पोस्टमा प्रहरी आफैं असुरक्षित देखिन्छन् ।
बाहुनडाँगीको तिरिडनजिकै दुधेचौरी क्षेत्रको भीरमा पाल टाँगेर पोस्ट राखिएको छ । मंगलबार स्थानीयले प्रहरीलाई सुत्ने खाटको व्यवस्था मिलाइदिए । तर खाने प्रबन्ध छैन । मंगलबार अनुगमनमा गएका मेचीनगरका मेयर विमल आचार्यले प्रहरीलाई भने, ‘आज गाउँतिरै गएर खानू, भोलिदेखि यतै पकाउने व्यवस्था मिलाउँछौं ।’ मेयर आचार्यले सीमा सुरक्षाका लागि छुट्टै बजेट नहुने भएकाले तत्काल व्यवस्थापन गर्न समस्या भएको जनाए ।
गाउँबाट निकै टाढा जंगल र भीरमा रहेका पोस्टले पानी पर्दा र हावा चल्दा थेग्न सक्ने अवस्था छैन । पोस्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५ जवान खटाइएको छ । सबै पोस्टमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त गस्ती रहने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले जनाए । उनले भने, ‘अहिले स्रोतसाधन अभाव छ तर प्रहरीले अभावका बीच पनि कर्तव्य निर्वाह गर्नेछ ।’ सशस्त्र प्रहरी सीमा सुरक्षा गणका डीएसपी ज्ञानमणि पौडेलले वैकल्पिक नाकाहरूमा सुरक्षा पोस्ट राखिँदा वारिपारि आउजाउ रोकिने दाबी गरे ।




