काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) संक्रमण रोकथाम तथा नियन्त्रणमा संघीय र प्रदेश संसदलाई प्रभावकारी बनाउन सभामुख अग्निप्रसाद सापकोटाले सातवटै प्रदेशसभाका सभामुख र उपसभामुखहरूसँग छलफल गरेका छन् ।
सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको बेला जननिर्वाचित संसदहरूको भूमिका प्रभावकारी बनाउन प्रदेशसभाका सभामुख र उपसभामुखहरूसँग मंगलबार फोनमा परामर्श गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
उक्त परामर्शबारे सभामुख सापकोटाले मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिलाई पनि जानकारी गराएका थिए । सभामुख र उपसभामुखहरूसँगको फोनवार्ताबारे सापकोटाले कार्यव्यवस्था परामर्श समितिलाई जानकारी गराएकोबारे प्रवक्ता पाण्डेले विज्ञप्ति जारी गरेर भनेका छन्, 'कोरोना भाइरस (कोभिड– १९) को प्रकोपबाट सिर्जित विषम् परिस्थितिका सम्बन्धमा संघ, प्रदेश र स्थानीय सरकारबाट भइरहेका कामकारबाहीका बारेमा सम्माननीय सभामुखले सातै प्रदेशका माननीय सभामुख र माननीय उपसभामुखसँग छलफल गरी राय परामर्श गर्नुभएको व्यहोरा कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराउनु भएको थियो ।'
सातवटै प्रदेशका सभामुख र उपसभामुखले कोरोना रोकथामबारे तथा यस परिस्थितिमा संसदको भूमिकाबारे दिएका सुझाव र परामर्श सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमार्फत सरकारलाई जानकारी गराउने सापकोटाले बताएका थिए ।
सम्बन्धित समाचारः
