‘कोरोना भाइरस षड्यन्त्र हो भन्‍नेलाई भाइरस के हो भनेर सोध्‍नुहोस्'

वैशाख २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रसिद्ध इतिहासकार तथा लेखक प्राध्यापक युभल नोहा हरारीले सबै एकजुट भएर लागेमा कोरोना भाइरस(कोभिड–१९) विरुद्धको लडाइँ जितिने बताएका छन् । मंगलबार इन्डिया टुडे टेलिभिजनका पत्रकार राहुल कँवलसँगको कुराकानीमा इतिहासकार हरारीले पूरा विश्व एक ठाउँमा उभिने हो भने कोरोना भाइरसविरुद्ध जित हासिल हुने बताएका हुन् ।

यस्तो कठिन परिस्थितिमा एकले अर्कोलाई आरोप लगाउनुभन्दा पनि एकठाउँमा उभिएर चुनौतीको सामना गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् । 

यसभन्दा अघिका महामारीमा भन्दा अहिलेको अवस्था राम्रो भएको पनि उनले बताए । मध्ययुगमा फैलिएको 'ब्ल्याक डेथ'को जस्तो अहिलेको अवस्था नभएको उनले बताए । रोग फैलिएको केही दिनमा नै भाइरसका बारेमा पत्ता लागेको बताउँदै हरारीले सबै एकजुट भए छिट्टै भ्याक्सिन र औषधि पनि पत्ता लाग्ने बताए । 

‘धनी मुलुकले गरिबलाई सघाउनुपर्छ’

करिब ४५ मिनेटको कुराकानीमा इतिहासकार हरारीले कोरोना भाइरसविरुद्धको लडाइँमा ‘विश्वव्यापी सहकार्य’ लाई पटकपटक दोहोर‍्‍याएका थिए । कोरोना संक्रमण तथा रोकथामका लागि विश्वका शक्तिशाली र धनी मुलुकले गरिब मुलुकलाई सघाउनुपर्ने हरारीले बताए । निम्न आय भएका देशहरुलाई आर्थिक, तथा औषधि, स्वास्थ्य उपकरणलगायतका सहयोग उपलब्ध नगराए महामारी नियन्त्रण गर्न निकै कठिन हुने पनि उनले बताए । 

त्यस्तै हरारीले अहिले कुन सेयरबजार ओरालो लाग्यो, कहाँको अर्थतन्त्र खस्कियो भनेर चिन्ता गर्नुभन्दा पनि कहाँका मान्छेले खान पाएका छैनन् भनेर सोच्नुपर्ने आवश्यकता रहेको बताए । 

साथै राजनीतिक नेतृत्वको सत्ताको दाउपेच हेर्नुभन्दा पनि आफ्ना नागरिकलाई सही सूचना दिनुपर्ने पनि उनले बताए । ‘राजनीतिक नेतृत्वले साँचो बोल्नैपर्छ । विज्ञानमा विश्वास गर्नुपर्छ र त्यहीअनुसार प्रतिकार्य योजना अघि सार्नुपर्छ,’ उनले भने, ‘पछिल्ला वर्षहरुमा राजनीतिक नेतृत्वले विज्ञानलाई अलि बढी विश्वास गरेका छन् ।’

त्यस्तै एक अर्कालाई सूचना आदानप्रदान नगर्ने र आरोपप्रत्यारोप गर्ने हो भने महामारी नियन्त्रण पनि नहुने र आउँदा दिनहरुमा अन्तर्राष्ट्रिय सम्बन्ध नराम्रोसँग भत्किँदै जाने चेतावनी पनि उनले दिए । 

‘सबैले सबै चिज बनाएर कहीँ पुगिदैँन’

विश्वका कुनै पनि देश पूर्ण रुपमा आत्मनिर्भर नरहेको बताउँदै हरारीले अहिले सबै चिज मै बनाउँछु भनेर लागे विश्व अर्थतन्त्र ध्वस्त हुने बताएका छन् । उनले कुनै पनि देश सबै चिज बनाउन सक्षम नरहेको बताउँदै एक अर्काको सहकार्यबिना विश्व नचल्ने पनि बताए । उनले भने, ‘अहिले कोरोना भाइरसको औषधि पनि मै बनाउँछु, भ्याक्सिन पनि मै बनाउँछु भनेर लागे त्यसले कामै गर्दैन । अहिले कुनै एउटा देशले जतिसक्दो छिटो भ्याक्सिन र औषधि बनाउनुपर्छ र अरुलाई सहयोग गर्नुपर्छ ।’

सीमा बन्द, आइसोलेसन र लकडाउन मात्रले कोरोना भाइरसविरुद्ध जित सम्भव नरहेको पनि उनले दोहोर्‍याएका छन् । यसअघि 'टाइम' म्यागजिनमा एउटा लेखमार्फत उनले मध्ययुगमा यातायात सञ्जालले नजोडिएका देशबीच पनि संक्रमण फैलिएको उल्लेख गर्दै सीमा बन्द समाधान नभएको बताएका थिए । 

त्यस्तै के अब शक्ति पश्चिमबाट पूर्वमा सरेको हो भन्ने प्रश्नमा हरारीले भने, ‘केही हदसम्म हो भन्न सकिन्छ । केही वर्षदेखि विश्व समुदायले अमेरिकी नेतृत्वमाथि कम विश्वास गर्दै आएको थियो । अहिलेको महामारीको अवस्थासम्म आइपुग्दा अमेरिकी क्षमता र गुणस्तरीयतामाथिको विश्वास पनि गुम्दैछ ।’ 

‘विज्ञानलाई विश्वास गर्नुहोस्’

पहिले–पहिले कुनै रोगव्याधि लागे मानिसहरु चर्च, मन्दिर, मस्जिदलगायतका धार्मिकस्थलमा जाने प्रसंग उप्काउँदै हरारीले धार्मिक नेताहरुमा पनि परिवर्तन देखिएको बताए । यसपटकको महामारीमा पनि धेरै देशले चर्च, मस्जिद, मन्दिरलगायतका धार्मिक स्थलहरु बन्द गरिएको उनले बताए । 

‘षड्यन्त्र हो भन्नेलाई भाइरस के हो भनेर सोध्नुहोस्’

कोरोना भाइरसको उत्पत्तिबारे विभिन्न आरोपप्रत्यारोप चलिरहेको छ । कसैले यसलाई कुनै अमुक मुलुकको षड्यन्त्र हो भनेर आरोप लगाइरहेका छन् । तर हरारी भने त्यसलाई मान्न तयार छैनन् । उनले केही दिनअघि ट्वीटरमा व्यक्त गरेको विचार फेरि दोहोर‍्‍याएका छन् । उनी भन्छन्, ‘यदि कसैले कोरोना भाइरसको उत्पत्ति र संक्रमणबारे कन्सपिरेसी थियरी (षड्यन्त्रको सिद्धान्त) हो भनेर तपाईँलाई बुझाउन खोज्छ भने उसलाई पहिले सोध्नुहोस्, भाइरस के हो र यसले कसरी रोग निम्त्याउँछ । उनीहरुलाई यसका बारेमा अत्तोपत्तो छैन भने उनीहरुको सिद्धान्तमाथि विश्वास नगर्नुहोस् । हामीले पीएचडी गर्नु आवश्यक छैन तर जीवविज्ञानका आधारभूत कुरा थाहा पाउनैपर्छ ।’

‘भविष्यलाई पाठ’ 

हरारीले कोरोना भाइरसको महामारीबाट विश्व समुदायलाई भविष्यको पाठ सिकाएको बताएका छन् । बिनासहकार्य, एकअर्काबीच सूचना आदानप्रदान नगरी अहिलेको महामारी मात्रै होइन, भविष्यमा आउने अन्य विपद्को सामना गर्न कठिन हुने उनले बताए । उनले भने, ‘वैज्ञानिक सूचनाको आदानप्रदान, एकजुट भएर औषधि र भ्याक्सिन पत्ता लगाउने काम अघि बढाएमा कोरोना भाइरसविरुद्धको जित हात पार्न सकिन्छ ।’ त्यस्तै अर्काको दुःखमा नाफा कमाउनेतर्फ ध्यान दिए त्यसले भविष्यमा नराम्रो परिणाम निम्त्याउने पनि उनले बताएका छन् । 

कुराकानीको अन्तिममा भारतबारे सोधिएको प्रश्नमा उनले भने, ‘कोरोना भाइरसको नियन्त्रणमा भारत सरकारले के–के कदम चालेको छ । त्यो मलाई थाहा छैन । मलाई थाहा नभएको कुरा म भन्न सक्दिनँ । तर विगतका महामारीमा भारतले ठूलो क्षति बेहोरेका कारण अहिले पनि ठूलो चुनौती रहेको छ ।’

त्यस्तै उनले कोरोना भाइरस संक्रमणको फैलावटमा भारतमा मुस्लिम समुदायहरुमाथि लगाइएको आरोपको पनि खण्डन गरे । कोरोना भाइरस संक्रमणको दोष कुनै समुदायमाथि थुपार्नु विवेकहीन काम भएको पनि उनले स्पष्ट पारे । 

कान्तिपुर

Link copied successfully