आरडीटी विधिबाट अरु देशले पनि परीक्षण गरिरहेका छन् : डा. झा

वैशाख २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले आरडीटी विधिबाट परीक्षणमा प्रश्न उठेपछि नेपालले मात्र नभइ अरु देशले पनि यो विधिबाट परीक्षण गरिरहेको बताएकी छन् । 

मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा बोल्दै निर्देशक झाले शरीरमा रहेको एन्टीबडी परीक्षण गर्ने विभिन्न विधिमध्ये आरडीटी छिटो, विज्ञता नचाहिने तथा १५ मिनेटमै नतिजा प्राप्त हुने बताइन् । पीसीआर भने जटिल तथा त्यसका लागि छुट्टै प्रयोगशालाको सेटअप चाहिने उनको भनाइ छ ।

मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको मंगलबारबाट स्वास्थ्य परीक्षण सुरु भएको भन्दै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको बताए । आज दुईजना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । 

हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरि अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना उपचाररत छन् । विरगञ्जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन् । सबैको अवस्था सामान्य रहेको मन्त्रालयलले जनाएको छ ।

पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी हाल भने निको भइसकेका छन् । 

नेपालमा हालसम्म मंगलबारको अपडेटअनुसार देशभरी ६ हजार २ सय ९९ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । आरडीटी विधिबाट हालसम्म ६ हजार ६०७ परीक्षण भएका छन् । आरडिटी र पिसिआर विधिबाट हालसम्म १२ हजार ९ सय ६ वटा परीक्षणहरु भइसकेको छ ।

आजको अपडेटमा आइसोलेसनमा देशभरी ९९ जना रहेका छन् भने क्‍वारेन्टाइनमा ५ हजार ७ सय ७१ जना छन् ।

कान्तिपुर

Link copied successfully