सांसदले पाउने बजेट कोरोना कोषमा राख्‍न संसद्‍मा सहमति

वैशाख २, २०७७

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले पाउने बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्‍न संसद्‌मा सहमति जुटेको छ । 

 मंगलबार दिउँसो ५ घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त सहमति जुटेको हो । बैठकमा प्रतिनिनिधसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतक, सचेतक, सभामुख, संघीय संसद्‍का कार्यवहाक महासचिव, सचिव लगायतको उपस्थिति थियो । 

सभामुखले अग्निप्रसाद सापकोटाले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम र आगामी आर्थिक वर्ष २०७७/०७८ को रकम कोरोना कोषमा राख्नेबारे सहमति भएको जानकारी सरकारलाई गराउने छन् । 

सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीले उक्त सहमति जुटेको पुष्टि गरिन् । उनले भनिन्, 'कोरोनाले गर्दा उपचार र स्वास्थ्य उपकरण अभाव हुनुका साथै अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पर्ने भएकाले सांसदले पाउने बजेटको चालु आर्थिक वर्षको खर्च हुन बाँकी र आगामी वर्षको बजेट कोरोना कोषमा राख्‍ने सर्वसम्मतिले निर्णय भएको छ ।' 

प्रतिनिधिसभामा निर्वाचित १६५ जनालाई चालु आर्थिक वर्षमा ६ करोडको दरले छुट्याइएको थियो । यो रकम करिब १० अर्ब हुन्छ । कोभिड १९ को जोखिम बढ्दै गएपछि सांसद विकास कोषको उक्त रकम कोरोना कोषमा राख्नु पर्ने आवाज उठ्दै आएको थियो । 

यो पनि 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully