काठमाडौँ — प्रतिनिधिसभामा निर्वाचित सांसदले वार्षिक रूपमा प्राप्त गर्दै आएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकमबाट कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनाउनुपर्ने आवाज उठेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभामा सत्तापक्ष दलका नेता दिनानाथ शर्माले सांसदले प्राप्त गर्दै आएको रकम कोरोना रोकथाम, नियन्त्रण र उपचारमा लगाउनुपर्ने बताएका हुन् ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभामा दलका नेता र राष्ट्रिय सभा मातहतका संसदीय समितिका सभापतिहरूसँगको 'भिडियो कन्फरेन्स'मा सोमबार उक्त विषय उठान गरेका हुन् । 'स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च हुन बाँकी रकम ७ वटै प्रदेशमा संक्रामक रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउन खर्च गर्न सकिन्छ,' उनले भने ।
स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभामा निर्वाचित १६५ सांसदले गत आर्थिक वर्षमा ६ करोड प्राप्त गरेका थिए । उक्त रकम निर्वाचित सांसदको संयोजकत्वमा समानुपातिक सांसद, राष्ट्रिय सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख, निर्वाचन क्षेत्रभित्र पर्ने गाउँ कार्यपालिकाका अध्यक्ष र नगर कार्यपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ । उक्त समितिले ६ करोड बराबरको रकमका योजना छनोट गर्ने कानुनी व्यवस्था छ । योजना छनोटको अधिकार निर्वाचित सांसदमा रहेको छ ।
पछिल्लो समय कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम हाल्नुपर्ने बहस उठिरहेको छ । ठूलो रकम सांसदलाई दिइएको भन्दै मुलुकमा महामारीको अवस्था आएको र अर्थतन्त्र कमजोर बन्ने अवस्थामा उक्त रकम परिचालन गर्नुपर्ने आवाज उठ्न थालेको हो ।
राष्ट्रिय सभा अध्यक्षले गरेको छलफलका क्रममा सत्तापक्षका नेता शर्माले भने, 'स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको खर्च हुन बाँकी रकम कोभिड- १९ को उपचार, रोकथाम र नियन्त्रणमा खर्च गरौं ।'
राष्ट्रिय सभामा राजपा संसदीय दलका नेता शेखरकुमार सिंहले पनि अध्यक्ष र सत्तापक्ष दलका नेताको भनाइमा सही थपे । उनले भने, 'स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च हुन बाँकी रकम कोरोना संक्रमितको उपचारका लागि खर्च गर्नुपर्छ ।'
प्रतिनिधिसभाका सांसदहरूले भने यो वर्षको रकम खर्च भइसकेको बताएका छन् । उनीहरूले सरकारले आवश्यक ठानेको खण्डमा सांसदहरूले सञ्चालन गर्ने उक्त कार्यक्रमको रकम फिर्ता लगेर कोरोना भाइरसविरुद्ध लगाउन सक्ने बताएका छन् ।
सम्बन्धित समाचारः
