लकडाउनमा प्रसूति गृह : सुत्केरी र कुरुवाका व्यथा

उनका श्रीमानले मेडिकल कलेजमा फोन गरेर भेन्टिलेटर खोजे । ती अस्पतालबाट ‘संक्रमणको बेला अस्पतालमा नयाँ बिरामी भर्ना नगर्ने आदेश छ सरकारको, बिरामी लिन मिल्दैन’ भन्ने जवाफ दिए ।

वैशाख १, २०७७

फातिमा बानु

काठमाडौँ — आइतबार मध्यान्ह १२ बजे । स्थान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल । लकडाउनका कारण देशभरका अस्पताल सुनसान हुँदै गएका छन् । तर, प्रसूति गृहको दृश्य फरक छ ।

भित्र छिर्दा देशमा लकडाउन छजस्तो लाग्दैन । बिरामी, गर्भवती, सुत्केरी र कुरुवाको भीड अघिपछिभन्दा कत्ति पनि कम देखिएको थिएन । 

चैत महिना, त्यही माथि १२ बजेको चर्को घाममा पनि जाडो मानेर १७ वर्षकी एक किशोरी अस्पतालको आँगनमा घाम तापिरहेकी थिइन्, अनुहार मलिन थियो । आमाका आगि सन्तानको आँशु देख्नु सबैभन्दा पीडादायी विषय हो । तर, उनी सन्तान रोएन भनेर आफैं रोइरहेकी थिइन् । चैत २२ गते उनले अस्पतालमै सन्तान जन्माइन् । शिशु रोएन, आँखा खोलेन केही प्रतिक्रिया नै जनाएन भनेर चिकित्सकले बच्चालाई बाल संघन उपचार कक्ष (पीआईसीयू) मा राखेका छन् । उनले सन्तान जन्मिएको खुशीसमेत मनाउन पाएकी छैनन् । आफ्नो सन्तानलाई छुन र दूध चुसाउन पाएकी छैनन् । ‘दूध चर्किएर दुख्छ, उता बच्चा भोकै छ, मैले चाहिँ दूध निचोरेर फाल्नु परेकोछ,’ उनले भनिन्, ‘वरिपरी अरुले बच्चा खेलाएको, उनीहरूको बच्चा रोएको देख्दा रुन मन लाग्छ ।’ त्यही बच्चाको पीरले उनी रातभरि निदाउन सकेकी छैनन् । 

अस्पताल आउँदा उनले साथमा १६ हजार रुपैयाँ ल्याएकी थिइन् । अस्पतालले सुत्केरी त निशुल्क गराइदियो । बच्चाको उपचारमा खर्च सकिएपछि उनको चिन्ता थपिएको छ । उनका श्रीमान् सुरक्षागार्डको काम गर्थे । लकडाउनका कारण उनको काम पनि रोकिएको छ । अस्पताल बसाइ बढ्दैछ, खल्तीको खर्च घट्दैछ । ‘मलाई त अस्पतालले दुई टाइम खाना दिन्छ, उहाँको लागि खानाको पैसा छैन, चाउचाउ खानुहुन्छ ।’ 

आलो सुत्केरी भएर होला अस्पतालले दिएको दुई टाइम खानाले उनको पेट अघाउँदैन, भोकाइरहन्छिन् । अनि, श्रीमानसँगै चाउचाउ चपाएर भोक मेटाउँछिन् । कोरोना भाइरसको संक्रमण हुनबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ भन्ने उनले सुनेकी छिन् । तर, अस्पताल छिरेको दिनदेखि नुहाउन नपाएको बताइन् । तातोपानीले हातखुट्टा पुछेर चित्त बुझाउँछिन् । हुम्लाको दुर्गमगाउँ घर बताउने यी दम्पति सुरक्षित सुत्केरी गराउनकै लागि काठमाडौं आएका हुन् । खाना ल्याइदिने, खर्च ल्याइदिने आफन्त लकडाउनका कारण अस्पताल आउन नसक्दा उनीहरू भोकभोकै अस्पतालका दिनहरू काट्न बाध्य छन् ।

.....

पेप्सीकोलाकी भावना महतले २२ दिनअगाडि प्रसूति गृहमा शल्यक्रिया गरि शिशु जन्माइन् । जन्मेकै दिन शिशुलाई रगत चाहियो, भेन्टिलेटरमै राख्नुपर्छ भनियो । अस्पतालले भेन्टिलेटर खाली छैन अन्तै खोज्नुस् भन्यो । उनका श्रीमानले मेडिकल कलेजमा फोन गरेर भेन्टिलेटर खोजे । ती अस्पतालबाट ‘संक्रमणको बेला अस्पतालमा नयाँ बिरामी भर्ना नगर्ने आदेश छ सरकारको, बिरामी लिन मिल्दैन’ भन्ने जवाफ दिए । निजी अस्पतालको भेन्टिलेटरमा एक दिनकै ३० हजारसम्म खर्च लाग्ने बताइयो । दम्पतिले अस्पतालममै शिशुको ज्यान बचाइदिन आग्रह गरे ।

अस्पतालले ‘हामीसँग भएको स्रोतसाधन प्रयोग गरेर सक्दो प्रयास गर्छौं तर भोलि बच्चा तलमाथि भयो भने अस्पताल जिम्मेवार छैन’ भनेर हस्ताक्षर गराए । उपायहीन दम्पतीले हस्ताक्षर गरे । ‘के गर्नु मर्नुभन्दा बौलाउनु बेस भनेर हामीले बच्चालाई अस्पतालको जिम्मा लगायौं, रातभरि रोएर बच्चाको लागि प्रार्थना गर्‍यौं,’ भावनाका श्रीमानले भने, ‘रगत लिन उस्तै सास्ती भयो, हिँडेरै रगत लिन कताकता पुगेँ ।’ लकडाउनका कारण कोही आफन्त उनलाई भेट्न या सघाउन आउन सकेनन् । 

अस्पतालको बसाइ र क्यान्टिनको खानाले उनको तनाव बढायो । ‘यस्तो संक्रमणको बेला छ, घाउ भएका सुत्केरी राख्ने वार्डमा बेडहरू टाँसेर राखेका छन्,’ उनले भने, ‘जो आए त्यही मान्छे छिछेर छुन्छन्, भाइरस सर्ला भन्ने डर ।’ यही बेलामा भावनाको चिरेको पेटको घाउ संक्रमणले पाकेको छ । उनलाई अस्पताल आउने जाने गरिरहनुपर्छ । सार्वजनिक यातायात छैन । अस्पताल आउन ट्याक्सी या एम्बुलेन्सकै भर पर्नुपर्ने बाध्यता छ । एम्बुलेन्सको चर्को भाडा तिर्दातिर्दै हैरान भएको उनले सुनाइन् । ‘मनलाग्दी भाडा भन्छन्,’ उनले भनिन्, ‘झन् मलाई एम्बुलेन्समा अस्पताल धाइरहनुपर्छ, हामी गरिबले कसरी जोहो गर्ने ?’

.... 

अस्पतालको नयाँ भवनमा रहेको आकस्मिक कक्ष नजिकै एक वृद्धा (मिनाकुमारी भुजेल) घोप्टो परेर झुलिरहेकी थिइन् । हातभरि चुरा, गलामा पोते र रातो सारीमा सजिएकी थिइन् । अस्पतालको छिंडीमा रातभरि निन्द्रा नपरेकी उनका आँखा दिउँसोको घाममा झपक्क लागेछन् । उनी बुहारीलाई सुत्केरी गराउन रामेछापको गेलुदेखि आएकी थिइन् । 

‘डाक्टरले चैत १६ गते सुत्केरी हुने डेट दिएका थिए, आज हुन्छ कि भोलि हुन्छ कि भन्दाभन्दै बुहारीलाई डेट कटे पनि व्यथा लागेन,’ उनले भनिन्, ‘गाउँबाट दुई घण्टा टाढा मन्थलीको स्वास्थ्य केन्द्रमा लगें ।’ स्वास्थ्य केन्द्रमा चिकित्सक थिएनन् । स्वास्थ्यकर्मीले ‘हामी एक्लैमात्रै सुत्केरी गराउन जान्दैनौं, सक्दैनौं’ भनेपछि उनले बुहारीलाई एम्बुलेन्समा काठमाडौं ल्याइन्, चैत २६ गते । 

गाउँमै सुत्केरी हुने डेट कटिसकेर स्वास्थ्य चौकी गएका उनीहरुले यो यात्रा काठमाडौं सम्मको होला भनेर सोचेका थिएनन् । त्यसैले कुनै लुगाफाटो र खर्चको तयारीबिना प्रसूति गृह आइपुगे । विरलै घर छोडेकी मिनाकुमारीलाई कोरोना भाइरस संक्रमणको समयमा काठमाडौं आउनुपर्‍यो, त्यहीमाथि प्रसूतिका चिकित्सकले ‘बच्चा उल्टो बसेको छ, अपरेसन गर्नुपर्छ’ भनेपछि उनी के गर्ने के नगर्ने अन्योलमा परिन् । 

शल्यक्रिया गरेका सुत्केरी धेरै दिन अस्पताल राखेर मात्रै घर पठाउँछन् भन्ने सुनेदेखि उनको चिन्ता अझै बढेको छ । लकडाउनका कारण काठमाडौंमै बस्ने आफन्त पनि उनलाई सघाउन आउन पाउका छैनन् । सवारीसाधन नचलेर बुहारीलाई डोलीमा हालेर मन्थलीको स्वास्थ्य संस्था पुर्‍याएको उनले सुनाइन् । ‘पहिलेका दुइटा बच्चा गाउँमै जन्मिए, अहिले यस्तो अप्ठेरो भयो,’ उनले भनिन्, ‘त्यही पनि गाडी नचल्ने, केही किन्न नपाउने बेलामा ।’ 

मिनाकुमारी ७५ वर्षकी भइन्, दमको रोग छ । उमेर कटेका र रोगीलाई कोरोना भाइरसले छिटै आक्रमण गर्छ भन्ने उनले सुनेकी छिन् । यस्तो बेलामा यो उमेरका व्यक्ति घरमै बस्नुपर्छ नत्र जोखिम हुन्छ भन्ने पनि उनलाई छ थाहा छ । हतारमा हिँडेकी उनले दमको औषधि पनि ल्याइनन् । ‘घरमा अरु कोही आइमाई मान्छे छैन, भैंसी पालेको छ, म दुहुन सक्दिनँ, स्याँस्याँ भएर घाँस दाउरा ल्याउन सक्दिन,’ उनले भनिन्, ‘लोग्नेमान्छेको भरमा घर छोडेर म आएँ ।’ 

अस्पतालको बसाइले उनी आफैं थलिएकी छिन्, खान मन हुँदैन र निदाउन पनि सक्दिनन् । बुहारीको हेरचाह गर्छिन् तैपनि समय कटाउन उस्तै अत्यास लाग्ने उनले बताइन् । अस्पतालमा वरिपरी मान्छे देख्दा उनलाई नजिक गएर गफ गरौं जस्तो लाग्छ तर रोग सर्ला भन्ने डरले एक्लै बस्छिन् । कहिलेकाहीँ चाबहिलबाट हिँडेरै छोरीले खाना ल्याइदिन्छिन् । दिनकै हिँडेर छोरीलाई दु:ख होला भनेर उनले क्यान्टिनमै खान्छु भनिदिइन् । घर फर्किने दिन गन्दै अस्पतालका दिन काट्दै छिन् उनी ।

.....

सातदोबाटोकी एक महिला गत साता बिहिबार दिउँसो सुत्केरी व्यथाले छट्पटिन थालिन् । चिकित्सकले दिएको मितिभन्दा पहिले नै व्यथा लाग्ला भन्ने नसोचेका परिवार अस्पताल जाने तयारीमा थिएनन् । व्यथा सुरु भएपछि परिवारका सदस्य बाहिर ट्याक्सी खोज्न हिँडे, कोही एम्बुलेन्सलाई फोन गर्न थाले । ट्याक्सीले संक्रमणको बेलामा गाडी नचलाउने बताए भने एम्बुलेन्स चालकले आउन समय लाग्ने बताए । केही उपाय नलागेपछि श्रीमान महेश परियारले उनलाई मोटरसाइकलमा हालेर अस्पताल दौडाए । 

‘यही हालतमा मर्न लेख्या रैछ भने मरिन्छ तर आफूले सक्दो गर्छु भनेर ल्याएँ,’ उनले भने, ‘बाटोभरि उनी छट्पटिइन्, एक हातले उनलाई सम्हाले, अर्को हातले बाइक ।’ सुत्केरी भइसकेपछि उनलाई रगत बग्ने समस्या भयो, रगत बगेर सुत्केरी बेहोस् भइन् । लकडाउनका कारण कुरुवा आउनजान मिल्दैन । उनले एकलै श्रीमतीलाई कुरिरहेका छन् । ‘केटा मान्छेलाई वार्डमा छिर्न दिँदैनन्,’ उनले भने, ‘आफन्त आउन पाए पनि भित्र गएर श्रीमतीलाई हेर्थे, खाना खुवाउँथे ।’

आइताबार प्रसूति गृहमा भेटिएका धेरै गर्भवती, सुत्केरी र कुरुवाले लकडाउनका कारण भोग्नु परेका अनेक समस्या सुनाए । गर्भवतीले व्यथा पोख्ने आफन्त पाएका छैनन् । सुत्केरीले सन्तान जन्माएर पाएको खुशी हेर्ने र उनीहरूलाई स्याहार्ने आफन्त अस्पताल आउन पाएका छैनन् । 

फातिमा

Link copied successfully