काठमाडौँ — राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्यम अधिकारीले कोरोना भाइरस (कोभिड- १९) विरुद्धको अभियानको नेतृत्व कसले गरिरहेको छ भनेर प्रश्न गरेका छन् । सोमबार राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षसँगको 'भर्चुअल मिटिङ'मा अधिकारीले समन्वय र निर्देशन गर्ने निकाय को हो भन्ने स्पष्ट नभएको बताएका छन् ।
संघीय संसद सचिवालयका अनुसार अधिकारीको प्रश्न थियो, 'सरकारको कमाण्डर को हो ? प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री वा स्वास्थ्यमन्त्री ? यसमा सरकार स्पष्ट हुनुपर्छ । निर्देशन दिने निकाय एउटै हुनुपर्छ ।'
सरकारले दलीय संयन्त्र आवश्यक नभएको बताइरहेका बेला अधिकारीले भने, 'लकडाउन लगायतका हरेक कुरामा सरकारले दलीय समन्वय गरेर काम गर्नुपर्छ ।'
सरकारका विभिन्न तह र मन्त्रालयहरूबीच राम्रो समन्वय हुन नसक्दा कोरोना संक्रमण, नियन्त्रण, रोकथाम र उपचारमा समस्या पर्ने अधिकारीको भनाइ थियो । प्रधानमन्त्रीले समन्वयको जिम्मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिलाई दिएको छ । उक्त समितिले सरकारका स्थायी संयन्त्र संचालन नगरेर अस्थायी संरचना खडा गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा असन्तुष्ट रहेको सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा प्रतिपक्षले समन्वयको प्रश्न उठाएको हो ।
छलफलका क्रममा कोभिड - १९ को महामाभरी जित्नका लागि सावधानी अपनाउनुपर्ने बताएका थिए । त्यस्तै, सुरक्षाकर्मीलाई यस्तो बेलामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, भारतमा मजदुरी गर्न गएका नेपाली फर्किएर सीमामा आएको अवस्थामा पनि प्रवेश गर्न नदिएर मानवियता नदेखिएको अधिकारीले बताएका छन् । उनले भनेका छन्, 'सीमामा रहेका नेपालीलाई राष्ट्रियताका हिसाबले पनि मानवीयताका हिसाबले पनि नेपालमा ल्याउनुपर्छ ।'
करिब २ हजारभन्दा बढी नेपाली भारतीय सीमामा रहेका छन् । उनीहरूलाई सरकारले नेपाल प्रवेश गर्न दिएको छैन ।
राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले दलका नेताहरू र संसदीय समितिका सभापतिहरूसँग भिडियो कलमार्फत छलफल गरेका हुन् । कोरोना भाइरस संक्रमणविरुद्ध राष्ट्रिय सभाले कसरी सहयोग गर्न सक्छ भन्ने उक्त छलफलको उद्देश्य थियो ।
