काठमाडौँ — राजापा नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले संसद् विकास कोषको रकम कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा खर्च गर्न माग गरेका छन् ।
महतोले आइतबार विज्ञप्ति जारी गर्दै संघीय र प्रादेशिक संसद् विकास कोषको बाॅकी रकम कोरोनाविरुद्धको संघर्षमा खर्च गर्न तत्काल नियम कानुन संशोधन गर्ने व्यवस्था मिलाउन केन्द्रीय र प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
उनले 'स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम' को रकम सम्वन्धित संसदीय क्षेत्रका स्थानीय तह र वडामार्फत सर्वदलीय संयत्र बनाइ बनाएर खर्च गर्ने व्यवस्था मिलाउन भनेका छन् ।
महतोले विज्ञप्तिमा आगामी आर्थिक वर्षको संसदीय बजेट स्वास्थ्य, कृषि, उद्योग र विपत व्यवस्थापनमा सरकारले प्रयोग गर्ने गरी आवश्यक नीति बनाउन विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
सरकारले प्रतिपक्षी राजनीतिक पार्टीहरुले सहयोग र समर्थन गर्दा पनि सरकारले मन्त्री–मन्त्रीबीचमा समन्वय अभावले कोरोना नियन्त्रण कार्य प्रभावकारी रुपले गर्न नसकेको आरोप महतोले लगाएका छन् । विपतको बेला सरकारले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचारबारे जनतालाई प्रस्ट पार्न नसक्नु, आफैले गरेको निर्णयअनुसार ज्यालादारी मजदुर, गरिबहरुलाई स्थानीय तहमार्फत राहत अहिलेसम्म उपलब्ध गराउन नसक्नु आपत्तिजनक भएको बताएका छन् ।
