मुलुकमै स्थानीय तहका स्वास्थ्य संस्थामध्ये नमुनामा पर्ने ललितपुर महानगरअन्तर्गतका २६ स्वास्थ्य केन्द्रमा दुइटाबाहेक सबै ठप्प
ललितपुर — काभ्रे घर भई ललितपुरको बालकुमारी बस्ने कोपिला दर्नाल पाँच महिनाकी गर्भवती हुन् । केही दिनअघि उनलाई एक्कासि पेट दुख्यो । नजिकैको स्वास्थ्य केन्द्र थियो । हिँडेरै थापाथलीस्थित प्रसूतिगृह पुगिन् ।
कोपिलाका श्रीमान् कृष्णबहादुर भन्छन्, ‘स्वास्थ्य केन्द्र नखुल्दा तौल, प्रेसरजस्ता सामान्य जाँच गराउन पनि समस्या भएको छ ।’ पैसा हुनेहरूलाई निजी क्लिनिक सहज भए पनि नहुनेलाई खर्चिलो उपचार बाध्यकारी बनेको उनले गुनासो गरे । पाटनको भोलढोका टोलमा बस्ने जनकपुरकी लिलम चौधरी आठ महिनाकी गर्भवती छिन् । अहिले उनलाई हिँड्डुल गर्न गाह्रो छ । यस्तो संकटका बेला नजिक भएका सरकारी स्वास्थ्य संस्था सञ्चालनमा नआउँदा मर्कामा परेको उनी बताउँछिन् । भोलढोकाकै अनिता तामाङको समस्या पनि उस्तै छ ।
लकडाउनयता ललितपुर महानगरपालिकाअन्तर्गतका स्वास्थ्य केन्द्रहरू बन्द छन् । यसले मर्कामा पर्नेहरू थुप्रै छन् । ललितपुर महानगरअन्तर्गत १९ वटा स्वास्थ्य केन्द्र, ५ वटा नगर स्वास्थ्य क्लिनिक, क्षयरोग उपचार केन्द्र र भीसीटी नामक स्वास्थ्य संस्था छन् । यतिबेला महानगरभित्र १६ नम्बर वडाका धपगाल र महापाल टोलका दुई स्वास्थ्य केन्द्रको मात्रै सेवा सञ्चालनमा छ । महानगरपालिकाको सामाजिक विकास समिति संयोजक दिनेश कार्कीले स्वास्थ्य संस्था सञ्चालन बन्द रहेकोबारे थाहै नभएको बताए । ‘स्वास्थ्य संस्था सञ्चालनमा ल्याइनुपर्छ, हामी अनुगमन गर्छौं,’ उनले भने ।
वडा स्वास्थ्य केन्द्रले गर्भवती जाँच, परिवार नियोजन, रक्तचाप, तौल, खोप सेवा, पोषण शिक्षा र ड्रेसिङलगायत स्वास्थ्य सेवा दिने गर्छ । त्यस्तै अहिले खोप सेवा सञ्चालनमा नआउँदा सुत्केरी बढी चिन्तित छन् । स्याङ्जा वालिङ–९ घर भई पाटन बस्ने सुमन र लक्ष्मी विकको दुई महिनाअघि छोरा जन्मियो । पहिलो सन्तानलाई सुरुमा थापाथलीस्थित प्रसूतिगृहमा पुर्याएर खोप लगाए । त्यहाँका चिकित्सकले पछिदेखि वडामा सञ्चालित मातृशिशु स्वास्थ्य केन्द्रमा लगाउन सुझाव दिए । बिहीबार छोरालाई खोप लगाउन लक्ष्मी विक ललितपुर मनपा–९ गुइट टोलस्थित स्वास्थ्य केन्द्रमा पुगिन् । त्यहाँ बन्द भएको देखेपछि घरबेटीको सल्लाहमा धपगाल टोलस्थित केन्द्रमा पुगिन् ।
ललितपुर महानगर–१६ धपगाल टोलस्थित स्वास्थ्य केन्द्रमा सुन्धाराका श्यामकृष्ण शाहीको प्रेसर जाँच गर्दै स्वयंसेविका । तस्बिर : प्रशान्त माली
त्यहाँ भेट भएका अहेबले लकडाउनले खोप कार्यक्रम बन्द भएको भन्दै फिर्ता पठाएको उनले गुनासो गरिन् । ‘बच्चालाई ४५ दिनमा लगाउनुपर्ने सुई ७० दिन बितिसक्दा पनि लगाउन पाइएको छैन,’ सुमन भन्छन्, ‘खोप लगाउने समय गुज्रिँदा केही खराबी हुने हो कि भन्ने डर छ ।’ दैनिक ज्याला–मजदुरी गर्ने परिवारका लागि सरकारी स्वास्थ्य केन्द्रले सेवा जारी राख्नैपर्ने उनले बताए ।
धादिङबेंसीकी २० वर्षीया अनिता विक सुत्केरी भएको शुक्रबार २७ दिन पुग्यो । छोराको बान्ता गर्ने समस्या छ । दैनिक छाक टार्नसमेत धौधौ परिरहेको विक परिवार सरकारी स्वास्थ्य केन्द्र बन्द हुँदा महँगो खर्चेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएको छ । अनिता भन्छिन्, ‘स्वास्थ्य केन्द्र बन्द हुँदा ज्वरो, तौल, प्रेसर नाप्नसमेत खर्च नगरी नपाइने स्थिति आयो ।’ भोलढोकाकी ३९ वर्षीया कामना शाक्यको छोरो ४५ दिनको भयो । छोरालाई खोप लगाउन नपाएको उनले गुनासो गरिन् ।
ललितपुर महानगर मुलुकभरका स्थानीय तहमध्ये स्वास्थ्य संस्थाका लागि नमुना नगरमा पर्छ । सबै स्रोत–साधनले सम्पन्न मानिन्छ । स्वयंसेवक, अनमि र अहेब गरेर ५ सय ६८ जना स्वास्थ्यकर्मी छन् । उनीहरू भने महानगरले आफूलाई सुरक्षाका सामान्य सामान पनि उपलब्ध नगराएकाले स्वास्थ्य संस्था नचलाएको बताउँछन् । ‘संस्थामा कोरोनाका बिरामी पनि आउन सक्छन्, तर हामीलाई सामान्य सुरक्षाका सामान पनि छैन,’ ९ नम्बर वडा स्वास्थ्य कार्यान्वयन समितिका उपाध्यक्ष सुरज व्यञ्जनकारले भने, ‘त्यसमाथि महानगरले स्वयंसेवक र स्वयंसेविकालाई सरकारी तलब खाएर काम गरेको जस्तो व्यवहार गर्ने गरेको छ ।’
