अन्य आयोजनाको उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी सञ्चालनमा ल्याउनुपरेको हो
मकवानपुर — विद्युत् प्राधिकरणको ‘ब्याकअप’ मानिने मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजना सुक्खायाम सुरु भएसँगै नियमित सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमण रोक्न देशमा लकडाउन जारी रहेका बेला विद्युत् माग धान्न आयोजनाका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा छन् ।
बिहान र बेलुका विद्युत् माग उच्च भएको समयमा विद्युत् भार व्यवस्थापनका लागि सञ्चालन हुने गरेको कुलेखानी लकडाउनयता पूर्ण क्षमतामा सञ्चालनमा रहेको कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले जानकारी दिए । अन्य समयमा विद्युत् माग बढेका बेला मात्र सुक्खायाममा कुलेखानी सञ्चालन गर्ने गरिएको थियो । तीनवटै युनिटमा गरी एक सय ६ मेगावाट क्षमताको आयोजना अहिले आवश्यकताका आधारमा चौबीसै घण्टा सञ्चालनमा छ ।
कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । रन अफ रिभरमा आधारित आयोजनाहरूको उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी सञ्चालनमा ल्याउनुपरेको हो । ‘बर्खाको समयमा रन अफ रिभरमा आधारित आयोजना पूर्ण रूपमा सञ्चालन हुन्छन् । उक्त समय हामी पानी सञ्चय गर्छौं । सुक्खा मौसम सुरु भएसँगै कुलेखानी सञ्चालनमा आउँछ,’ यादवले भने ।
नियमित रूपमा आयोजना सञ्चालनमा ल्याइएपछि इन्द्रसरोवर जलाशयको सतह दैनिक सरदर १० सेन्टिमिटरका दरले घटेको छ । लकडाउनको अवधिमा दुई मिटर सतह घटेको आयोजनाले जनाएको छ । अहिले जलाशयमा १५ सय १३ दशमलव ६३ मिटर पानी छ ।
