कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुकुम्बासीलाई छाक टार्न धौ–धौ

‘चुनाव थियो भने भोटका लागि अस्ति नै आइपुग्थे । अभावका बेला कुनै नेताले मुख देखाएको छैन ।’
पर्वत पोर्तेल

भद्रपुर, झापा — ५५ वर्षीय विष्णु हेमरम घरनजिकै हडिया खोलामा गिट्टी कुटेर परिवार पाल्थे । दुई सातायता काम बन्द छ । बिहान–बेलुकी छाक टार्ने बाटो पनि बन्द । ‘गिट्टी कुटेर कमाएको पैसाले छोराछोरीलाई ख्वाउँथें,’ भद्रपुर–९ घोडामाराका हेमरम दुखेसो पोख्छन्, ‘अहिले न काम छ, न माम ।’

सुकुम्बासीलाई छाक टार्न धौ–धौ

हडिया खोलाकिनारका करिब २० घर सन्थाल समुदायका सुकुम्बासी परिवारको अवस्था समान छ । नगरपालिका र जनप्रतिनिधिसमेत पुगेका छैनन् । हेमरामले आक्रोश पोखे, ‘चुनाव थियो भने भोटका लागि अस्ति नै आइपुग्थे । अभावका बेला कुनै नेताले मुख देखाएको छैन ।’

८० वर्षकी फूलमुनी सोरेन चन्द्रगढीको होटलमा भाडा मस्काएर परिवार पाल्दै थिइन् । लकडायनसँगै काम बन्द भो । यिनलाई छाक टार्न धौ–धौ छ । ‘घरजग्गा भएकाले राहत पाए भन्ने सुनियो,’ फूलमुनीले भनिन्, ‘हामी भोकै छौं ।’ यिनको घरमा न चामल छ, न त अरू खानेकुरा नै । छ त मात्रै पानी र नुन । पानी उमाल्छिन् नुन छर्किन्छिन् अनि घटघटी पिएर भोक मेटाउँछिन् । ‘हामी त भोक सहन पनि सक्छौं,’ फूलमुनीले थपिन्, ‘तर, बालबच्चालाई के ख्वाएर बचाउने ?’

४५ वर्षका निर्मल उराउको सानो झुप्रो छ । परिवार भने १० जनाभन्दा बढी । निर्माण श्रमिकका रूपमा कार्यरत निर्मलको १० जनाको परिवारले के खा“दै होला यो बेला । लकडाउनअघि किनेको ५ किलो चालम सकिएपछि यो परिवार पनि भोकै छ । किन्न जाउँ, पैसा छैन । उधारो पनि कसैले पत्याउँदैन । ‘गिट्ठा खान पनि पाइएको छैन’, उनले भने, ‘गिट्ठा खोज्न जंगल पस्नुपर्छ, पुलिसले घरबाट निस्कियो कि पिटिहाल्छ ।’

झापाका पालिकाहरूले विपन्न र ज्याला मजदुरी गर्ने श्रमिकका परिवारलाई धमाधम राहत वितरण गरिरहेका छन् । भद्रपुरले पनि पहिलो चरणमा विपद् व्यवस्थापन कोषमार्फत १५ लाख रुपैयाँ खाद्यान्न राहतका रूपमा वितरण गरेको छ । नगरका अनुसार ३ हजार २ सय ४८ विपन्न परिवारका लागि ५१ हजार १ सय ६४ किलो चामल, ३ हजार ४ सय ४ किलो दाल, २३ हजार ४ सय ४८ किलो नुन, २ हजार १ सय ९३ लिटर तेल, २ हजार ६ सय ६६ डल्ला साबुन, १ सय २० कार्टुन चाउचाउ, १ सय ४० किलो आलु, २४ किलो चियापत्ती र १ सय २० किलो चिनी वितरण गरेको छ । मेयर जीवनकुमार श्रेष्ठका अनुसार दोस्रो चरणमा थप विपन्नको पहिचान गरी राहत वितरण गरिने बताइएको छ ।

प्रकाशित : चैत्र २७, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?