कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कस्तो हुन्छ ट्रेसिङ एप ?

ट्रेसिङ एपका नाममा तथ्यांक दुरुपयोगको सम्भावना, सुरक्षा अपनाउन विज्ञको सुझाव
विजय तिमल्सिना

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा विदेशबाट आएकाहरूको पहिचानका लागि ट्रेसिङ एप निर्माण गर्ने घोषणा गरेको छ । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार केही दिनमै यस्तो एप सञ्चालनमा ल्याउने बताएका छन्।

कस्तो हुन्छ ट्रेसिङ एप ?

गृहमन्त्री रामबहादुर थापाले भने सोमबार मन्त्रालयमा यस्तो प्रणालीको उद्घाटन गरिसकेका छन् । यो प्रणालीमा अहिले तथ्यांक राखेर परीक्षण भइरहेको छ । गृह मन्त्रालयअन्तर्गतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत सञ्चालनमा आएको पोर्टलको उद्देश्य विदेशबाट नेपाल आएका र कोरोना संक्रमितको तथ्यांक एकीकृत गर्नु हो ।


विदेशबाट फर्किएकाहरू, तिनको सम्पर्कमा पुगेका व्यक्ति र कोरोना संक्रमणको सम्भावना भएकालाई पहिचान गरी परीक्षण गर्न र निगरानी गर्न सरकारमाथि दबाब बढेका बेला सरकारले ट्रेसिङ गर्ने गरी एप र वेबसाइट सञ्चालनको तयारी गरेको हो । प्रणाली शुभारम्भका क्रममा दिइएको जानकारीअनुसार यसमा सम्भावित संक्रमितको पहिचानका लागि तथ्यांक राख्न सकिन्छ । संक्रमितहरू घरबाहिर निस्किए सम्बन्धित निकायमा अलर्ट गर्ने संयन्त्र पनि यसमा छ ।

तर विपद् व्यवस्थापन र सञ्चार तथा सूचना प्रविधिका जानकार तथा नेपाल प्रहरीको डीआईजीबाट केही साताअघि मात्रै राजीनामा दिएका राजीव सुब्बा भने सरकारले ट्रेसिङ प्रणाली सञ्चालनका लागि प्रयास गरेको भए पनि निकै ढिला भइसकेको टिप्पणी गर्छन् । सूचना प्रविधिको प्रयोगमार्फत सम्भावित कोरोना संक्रमितको पहिचान गरी सफल परीक्षण गरिरहेका देशको अभ्यासबाट सरकारले पाठ सिक्नुपर्ने उनको सुझाव छ । भन्छन्, ‘सिंगापुर, दक्षिण कोरिया र ताइवानजस्ता देशका अनुभवबाट सरकारले पाठ सिक्नुपर्छ ।’ ‘एप बनाउँदैमा, डेटा हाल्दैमा कन्ट्याक्ट ट्रेसिङ एप हुन्न,’ उनी भन्छन्, ‘त्यो एपले सम्भावित संक्रमितको पहिचानका लागि कत्तिको भूमिका खेल्छ भन्ने कुराले त्यसको प्रभावकारिता निर्धारण गर्छ ।’


संक्रमित, सम्भावित संक्रमित, उनीहरूको सम्पर्कमा आएका व्यक्ति वा उनीहरूलाई चिन्नेले यस्तो एपमा भर्ने तथ्यांकको आधारमा यो एपको प्रभावकारिता निर्धारण हुने उनको अनुमान छ । ‘अहिले त तथ्यांक संकलनको अवस्थामा छौं,’ उनले भने, ‘यसमा कत्तिको तथ्यांक आउँछ त्यसको आधारमा यसको प्रभावकारिता निर्धारण हुन्छ ।’ एपमा आफैंले तथ्यांक भर्ने काम झन्झटिलो भएकाले यसको प्रभावकारितामा उनी शंका गर्छन् ।

सिंगापुरको उदाहरण हेर्ने हो भने त्यहाँ निर्मित एप ब्लुटुथमा आधारित छ । ‘एप प्रयोगकर्ताको भेटघाट डाटाबेसमा स्वतः अपडेट हुने गरी सिंगापुरमा एप बनाइएको छ,’ उनले भने, ‘मैले सुनेअनुसार यहाँ निर्मित एपमा आफैंले तथ्यांक भर्नुपर्छ, जुन गाह्रो छ ।’ बेल्जियमले गरेको अभ्यास पनि राम्रो उदाहरण हुने उनको टिप्पणी छ । ‘बेल्जियमले फोनमा लोकेसन इनेबल गरेको छ । जिप कोडका आधारमा त्यसभित्र कुनकुन फोन एकआपसमा सम्पर्कमा छन् भनेर त्यसका आधारमा तथ्यांक निकालेर उनीहरूले विश्लेषण गरिरहेका छन्,’ उनले भने, ‘यो पनि कन्ट्याक्ट ट्रेसिङका लागि गरिएको राम्रो उदाहरण हो ।’


ताइवानले चीनमा कोरोना सुरु हुनासाथ आफ्नो देशमा कन्ट्याक्ट ट्रेसिङ थालेको थियो । ‘हामीले पनि अगाडि नै कन्ट्याक्ट ट्रेसिङको काम गर्नुपर्थ्यो जस्तो लाग्छ,’ उनी भन्छन््, ‘अब खुला नाकाबाट नेपाल भित्रिएकालाई कसरी पहिचान गर्ने भन्ने समस्या छ ।’ ‘सुरुदेखि गरेको भए खुला सीमाबाट आउनेको गर्न नसकिए पनि अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउनेलाई पहिचान गर्न सकिन्थ्यो,’ उनले भने, ‘प्रहरीहरू गाउँगाउँमा गएर कन्ट्याक्ट ट्रेसिङ गरेर हुन्न, यसका लागि सूचना प्रविधिको प्रयोग नै सबैभन्दा उत्तम विकल्प हो ।’

सरकारसँग एकीकृत तथ्यांक प्रणाली नभएकाले कन्ट्याक्ट ट्रेसिङका लागि चुनौती भएको सूचना प्रविधिबारे जानकार अधिवक्ता सन्तोष सिग्देल टिप्पणी गर्छन् । सरकारले गर्ने कन्ट्याक्ट ट्रेसिङबारे उनको केही सुझाव पनि छ । ‘कोरोना संक्रमितको निगरानी गर्न सरकारी संयन्त्रबीच पटक्कै समन्वय देखिएन,’ उनी भन्छन्, ‘सेना, प्रहरी र मन्त्रालयले छुट्टाछुट्टै वेबसाइट र एप सञ्चालन गरेर कन्ट्याक्ट ट्रेसिङ हुन्न ।’


कन्ट्याक्ट ट्रेसिङका नाममा नागरिकमाथि निगरानी र उनीहरूको तथ्यांक दुरुपयोग हुने सम्भावना पनि रहेको उनको धारणा छ । ‘नेपाली कांग्रेसले पनि कोरोना जाँच्न भन्दै एप सुरु गरेको छ,’ उनी भन्छन्, ‘एप प्रयोगकर्तासँग फोन नम्बर माग गरिएको छ, यस्ता फोन नम्बर चुनावी प्रयोजनका लागि दुरुपयोग हुन सक्छन् ।’

सरकारले कन्ट्याक्ट ट्रेसिङका लागि एकीकृत तथ्यांक प्रणाली बनाउनुका साथै यो तथ्यांक केका लागि प्रयोग गर्ने, प्रयोग भइसकेपछि कसरी नष्ट गर्ने र यसको प्रयोगको प्रोटोकलबारे जनतालाई निश्चिन्त बनाउन सक्नुपर्ने उनको सुझाव छ ।


अर्कोतर्फ कुन–कुन निकायले के कस्ता एप बनाइरहेका छन् भन्ने विषयमा सरकारी निकायहरूबीचको तालमेल पनि देखिँदैन । गृहमन्त्रालयले यस्तो एप सार्वजनिक गरिसके पनि प्रधानमन्त्री ओलीले फेरि अर्को एप सार्वजनिक गर्ने जानकारी दिइसकेका छन् । ‘गृह मन्त्रालयले कुन एप सार्वजनिक गर्‍यो थाहा भएन,’ क्राइस म्यानेजमेन्ट सेन्टर सम्बद्ध स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले भन्नुभएको एप छुट्टै हो । केही दिनभित्रमा त्यो सार्वजनिक हुनेछ ।’

कोरोनाका लागि सरकारी सूचना प्रणाली


कोरोना संक्रमणका कारण लकडाउन सुरु भएलगत्तै नेपाली सेनाले समेत सीमाबाट आवतजावत गर्ने नागरिकको निगरानी गर्न एप सार्वजनिक गरेको थियो । तर सेनाले बनाएको एप प्रयोगकर्तामैत्री नभएको गुनासो छ । कोरोनाबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि छुट्टै एप र वेबसाइट सञ्चालन गरेको छ । भाइबर कम्युनिटी र फेसबुक पेजमार्फत पनि नियमित अपडेट दिँदै आएको छ ।

मन्त्रालयमा नेपाल र विश्वभरको कोरोना संक्रमणका विषयमा जानकारी दिन कोभिड १९ डट एमओएचपी डट जीओभी डट एनपी नामक वेबसाइट सञ्चालनमा छ । यसबाहेक, मन्त्रालयले हाम्रो स्वास्थ्य एपमार्फत एन्ड्रोइड प्रयोगकर्ताका लागि एप पनि सञ्चालनमा ल्याएको छ ।


चिनियाँ अनुभव


कोरोना संक्रमणको उद्गमस्थल चीनले पनि सूचना प्रविधि प्रयोग गर्दै आफ्ना नागरिकको कन्ट्याक ट्रेसिङमार्फत संक्रमण नियन्त्रणका लागि सफलता पाएको उदाहरण अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।


चीनले आफ्ना नागरिकको निगरानी गर्न सर्भिलियन्स क्यामेरा, उनीहरूको फोन लोकेसनसहित सम्भव भएसम्मका सबै तथ्यांक प्रयोग गरेको थियो । उसले संक्रमित व्यक्तिलाई घरबाट बाहिर निस्किए अलर्ट हुने सिस्टमका साथै संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिबारे जानकारी लिन उसको लोकेसन हिस्ट्री र यात्रा विवरणको तथ्यांक प्रयोग गरेको थियो ।

चीनले संक्रमित व्यक्तिको सम्पर्कमा धेरै व्यक्ति आएका भए उनीहरूको मोबाइलमा सूचना प्रसारण गर्ने, अलग्गै बस्न र परीक्षणका लागि प्रोत्साहन गर्दै म्यासेज पठाउने अभ्यास गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएका छन् । चीनले निजी क्षेत्रसँगको समन्वयमा सीसी क्यामेरामार्फत नै नागरिकको ज्वरो नाप्ने प्रविधि सुरु गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । चीनमा प्रयोग भइरहेका २० करोडभन्दा बढी सीसीटीभी क्यामेरामार्फत नागरिकको ज्वरो परीक्षण गर्ने, ज्वरो आएको भेटिए सम्बन्धित ठाउँमै आइसोलेसनमा राख्ने र संक्रमित पुष्टि भए उनीहरूको सम्पर्कमा आएका व्यक्तिलाई पनि आइसोलेसनमा बस्न म्यासेज पठाउने व्यवस्था मिलाएको थियो ।


चीनले यस्ता व्यक्तिको पहिचानका लागि उनीहरूको फोन लोकेसन ट्र्याकिङका लागि टेलिकम कम्पनीहरूसँग सहकार्य गरेको थियो । नागरिकका लागि एप सञ्चालनमा ल्याएर आफू कोरोना संक्रमितको सम्पर्कमा आए–नआएको एपबाटै थाहा पाउने व्यवस्था पनि मिलाएको थियो ।

प्रकाशित : चैत्र २७, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?