कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातै प्रदेशमा परीक्षण तर अझै सुस्त

बुधबार बेलुकासम्म सात प्रदेशमा सञ्चालित प्रयोगशालामा ५१४ नमुनाको नतिजा आएको छ भने जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९६५ को नमुना परीक्षण पूरा भएको छ ।
अब गति लिन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — सरकारले कोभिड–१९ को परीक्षण दायरा बढाए पनि द्रुत गतिमा परीक्षण हुन सकेको छैन । यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै भइरहेको परीक्षण अब राजधानीको वीर अस्पतालबाट पनि हुने भएको छ ।

सातै प्रदेशमा परीक्षण तर अझै सुस्त

राजधानीबाहिर सातै प्रदेशका नौ प्रयोगशालाबाट नमुना परीक्षण सुरु भए पनि सुस्त गतिमा अघि बढेको छ । विज्ञहरूले कोभिड परीक्षणको दायरा व्यापक बनाउन सुझाव दिइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार धनगढी, पोखरा र नेपालगन्जमा छिटो परीक्षण ल्याब मेसिन जडान गरिँदैछ । स्वास्थ्य मन्त्रालयका अनुसार धुलिखेलमा मंगलबारबाट परीक्षण थालिएको हो भने वीर अस्पतालमा बुधबारबाट सुरु गरिएको छ ।

यी अस्पतालमा पीसीआर उपकरण भएकाले परीक्षण गर्ने जिम्मा दिइएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । ‘पहिले शंकास्पद र ट्राभल हिस्ट्री भएका व्यक्तिको मात्रै परीक्षण हुन्थ्यो,’ उनले भने, ‘अब क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण हुने भएकाले दायरा बढाइएको हो ।’ उनका अनुसार यी अस्पतालमा दैनिक २ सयदेखि ५ सय नमुना परीक्षण गर्ने क्षमता छ । अस्पताललाई परीक्षणका लागि आवश्यक रिएजेन्ट केमिकल भने मन्त्रालयले नै व्यवस्था गर्ने उनले बताए ।

आवश्यक परे प्रयोगशालाकर्मी पनि दिन मन्त्रालय तयार छ । बुधबार पोखरा, धनगढी र कञ्चनपुरबाट संकलन भएर आएको स्वाब यी अस्पतालमा पनि परीक्षण हुने डा. पोखरेलले बताए । ‘जनस्वास्थ्य प्रयोगशालाबाहेक अहिले देशभर १० ठाउँमा कोभिड–१९ परीक्षण भइरहेको छ । उनले भने, ‘प्रयोगशाला भएका ठाउँमा परीक्षण सुरु भइसक्यो । अन्य ठाउँमा पोर्टेबल पीसीआर मेसिन दिएर भए पनि परीक्षण दायरा बढाउँछौं ।’ अस्पतालमा परीक्षण भएका स्वाबको रिपोर्टमा शंका लागे प्रयोगशालामा ल्याएर पुनः परीक्षण गरिने उनले बताए । ‘बिरामीमा कोभिड लक्षण देखिने तर रिपोर्ट नेगेटिभ आउने पनि हुन्छ,’ उनले भने, ‘स्वाब दिने र परीक्षण गर्ने प्रक्रियामा त्रुटि हुँदा यस्तो हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार बुधबार अपराह्नसम्म दुई हजार तीन सय ६६ नमुना परीक्षण भई नतिजा आएको छ । यसमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हालसम्म एक हजार नौ सय ६५ र राजधानी बाहिरका नौवटा ल्याबमा चार सय एक नमुनाको नतिजा आएको थियो ।

कान्तिपुर प्रदेश ब्युरोहरूका अनुसार बुधबार बेलुकासम्म सात प्रदेशमा सञ्चालित प्रयोगशालामा ५१४ नमुनाको नतिजा आएको छ भने जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९६५ गरी जम्मा २४७९ नमुना परीक्षण पूरा भएको छ ।

सबै नमुना परीक्षणबाट नौजनामा संक्रमण भेटिएको छ भने एक जना निको भएर घर फर्किसकेका छन् । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ९१ नमुनामा संक्रमण देखिएको छैन । यो प्रदेश १ को कोभिड–१९ नमुना परीक्षण प्रयोगशाला हो । प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका शंकास्पद १२ जना बिरामीमध्ये ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । एक जनाको उपचार भइरहेको छ । भर्ना भएका कसैमा पनि संक्रमण नदेखिएको प्रतिष्ठानले जनाएको छ ।

‘प्रयोगशाला भएका ठाउँमा परीक्षण सुरु भइसक्यो । अन्य ठाउँमा पोर्टेबल पीसीआर मेसिन दिएर भए पनि परीक्षण दायरा बढाउँछौं ।’ – डा. रोशन पोखरेल, प्रमुख विशेषज्ञ, स्वास्थ्य मन्त्रालय

यसैगरी प्रदेशका विभिन्न जिल्लाबाट नमुना संकलन भएका ६५ जनाको परीक्षण रिपोर्ट आइसकेको छ । ती सबैमा संक्रमण नदेखिएको प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबले जनाएको छ । अघिल्लो आइतबारदेखि बीपी प्रतिष्ठानमा कोरोना संक्रमण परीक्षण गर्न थालिएको हो ।

प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पताल र अन्य स्थानमा गरी ४ सय ३८ आइसोलेसन शय्या छन् । ४ हजार ३७ वटा शय्या रहेको क्वारेन्टाइन तयारी अवस्थामा छ । हालसम्म ६ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतलगायत मुलुकबाट आएका झन्डै तीन हजार जना होम क्वारेन्टाइनमा बसिरहेको जनाइएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भावित संक्रमितलाई राखेर उपचार गर्नका लागि आईसीयूसहितको ४४ वटा शय्या तयार छ ।

जनकपुरमा ११३ जनाको रिपोर्ट नेगेटिभ

जनकपुरमा रहेको पीसीआर मेसिनले एक दिनमा १० जनाको मात्रै स्वाब परीक्षण गर्न सक्ने भएकाले परीक्षण सुस्त छ । गत बिहीबारदेखि सञ्चालनमा आएको ल्याबमा हालसम्म १ सय ४० जनाको स्वाब परीक्षण गरिएका ११३ जनाको नतिजा नेगेटिभ आएको छ । २७ जनाको नतिजा आउन बाँकी छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले पीसीआर मेसिनको क्षमता १० जनाको मात्र रहेकाले चाहेर पनि थपको परीक्षण एकैदिनमा गर्न नसकिएको बताए । उनले खाडी मुलुक र भारतबाट फर्किएकाको संख्या प्रदेशमा अधिक रहे पनि मेसिनको क्षमताका कारण परीक्षणलाई गति दिन नसकिएको जनाए । काठमाडौंस्थित टेकु अस्पतालका ३ जना प्राविधिकको कोचिङमा जनकपुरको प्रादेशिक अस्पतालका तीन जना माइक्रो बायोलोजिस्टले स्वाब परीक्षण गरिरहेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेश २ मा क्वारेन्टाइनमा ९ सय २५ जना रहेकामा बुधबार ३३ जना घर फर्किएका छन् । प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर तिलक सुनारले क्वारेन्टाइनमा बसेका ३३ जनाको स्वाबको परीक्षण नतिजा नेगेटिभ आएपछि घर पठाइएको हो । प्रदेश २ मा आइसोलेसनमा ११ जना छन् ।

वाग्मतीमा १०१ परीक्षण पूरा

वाग्मती प्रदेशको उपत्याकाबाहेक तीन जिल्लामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण हुन थालेको छ । तीन जिल्लामा रहेका पीसीआर उपकरणबाट अहिलेसम्म एक १०१ जनाको नमुना परीक्षण गरिएको छ । सबैको परिणाम नेगेटिभ आएको छ ।

हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा रहेको ल्याबबाट ५१ जनाको स्वाब परीक्षण गरिसकेको छ । त्यसैगरी काभ्रे जिल्लाको धुलिखेलमा रहेको ल्याबबाट १७ जनाको स्वाब परीक्षण भएको छ । हेटौंडा र काभ्रेमा रहेको ल्याबमा दैनिक ९० जनाको स्वाब परीक्षण गर्नसक्ने क्षमता छ । ‘दैनिक ९० जनाको स्वाब परीक्षण गर्न सकिन्छ,’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले भने । चितवनको भरतपुरमा रहेको ल्याबबाट दुई दिनको बीचमा ३३ जनाको स्वाब परीक्षण भएको छ ।

गण्डकीमा २०२ जनाको स्वाब परीक्षण

गण्डकी प्रदेशमा दैनिक डेढ सय जनाको स्वाब परीक्षण क्षमता छ तर अहिलेसम्म पोखरामा ७४ नमुनाको नतिजा आएको छ । स्वास्थ्य विज्ञान प्रयोगशाला पोखरामा भएको परीक्षण १५६ मा ७४ नतिजा नेगेटिभ आएको छ । नतिजा आउन ८२ जना बाँकी छ । मंगलबारसम्म प्रदेशका पूर्वी नवलपरासी, मनाङ र मुस्ताङबाहेक ८ जिल्लाबाट २०२ जनाको स्वाब परीक्षण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । परीक्षण नमुनामध्ये बागलुङका दुईजनाको कोरोना भाइरस पोजिटिभ भेटिएको छ ।

पोखरामा चैत २० बाट नमुना परीक्षण थालिएको हो । यसअघि सञ्चालन भइरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षेत्रीय प्रयोगशालामा दैनिक १४० जनाको स्वाब परीक्षण गर्ने आरटी पीसीआर ल्याब रहेकोमा चैत १९ मा संघीय सरकारले अर्को पीसीआर मेसिन पठाएको थियो ।

नयाँ मेसिनबाट दैनिक १० देखि १२ स्वाब परीक्षण गर्न सकिने प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य, शिक्षा प्रशिक्षक नवराज शर्माले बताए । प्रयोगशालाकी प्याथोलोजिस्ट मोनी सुवेदीले अहिलेसम्म स्वाब परीक्षणको चाप नभएको बताइन् । ‘आएका जति यहीं परीक्षण गरिरहेका छौं,’ उनले भनिन्, ‘मंगलबार मात्रै ४२ जनाको परीक्षण भएको छ ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक सपना सुवेदीले विदेशबाट आएका (१४ दिन नपुगेका), लकडाउनको बेलामा पनि भारतबाट आएका, कतार एअरवेयजका यात्रु र उनीहरूको सम्पर्कमा पुगेका व्यक्ति तथा कोरोनाका लक्षण देखिएकालाई प्राथमिकतामा राखी स्वाब परीक्षण गरिरहेको बताइन् । प्रयोगशालामा ६ जनाको टिम स्वाब परीक्षणमा खटिएको छ । उनीहरूमध्ये ४ जना यहीं कार्यरत हुन् भने २ जना मेसिनसँगै काठमाडौंबाट आएका हुन् । १० जनाको टिम स्वाब संकलनमा खटिएको शर्माले बताए ।

बुटवलमा झन् सुस्त, नेपालगन्जमा अर्को ल्याब राखिँदै

चार दिनअघि सञ्चालनमा ल्याइएको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बुधबार बिहानसम्ममा २६ जनाको स्वाब परीक्षण भएको छ । परीक्षण गरिएका सबै नमुना नेगेटिभ देखिएका छन् । पाँच नम्बर प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय प्रमुख डा.राजेन्द्रकुमार गिरीले बुधबार बिहानसम्म परीक्षणका लागि ३६ वटा स्वाबको नमुना आएकोमा २६ वटाको नतिजा आएको बताए । बाँकी १० वटाको परीक्षण जारी रहेको उनले जनाए ।

उनका अनुसार, प्रदेश ५ भरिकै कोरोना संक्रमणबारे यस प्रयोगशालामा नमुना परीक्षण गरिन्छ । हालसम्म बाँके, बर्दिया, गुल्मी, रुपन्देही र कपिलवस्तु जिल्लाबाट परीक्षणका लागि नमुना आएका छन् । ‘आइसोलेसनमा रहेका बिरामी र संक्रमित पुष्टि भएका व्यक्तिसँग घुलमिल भएकाको परीक्षणलाई केन्द्र्रित गरी परीक्षण गरिएको छ,’ं गिरीले भने ।

चौध दिनसम्म विभिन्न क्वारेन्टाइनमा बसेकालाई आधा घण्टाभित्रै रिजल्ट आउने खालको सानो किटबाट र्‍यापिड टेस्ट गर्ने योजना रहेको उनले जनाए ।

गत आइतबार साँझदेखि परीक्षण सुरु गरिएको यस प्रयोगशालामा हाल प्रतिदिन १२/१३ जनासम्मको नमुना परीक्षण गर्ने गरिएको छ । प्रयोगशालामा हाल चारजना जनशक्ति खटिएका छन् । जनशक्ति थपिएपछि प्रतिदिन १६ जनासम्मको परीक्षण हुनेछ । गिरीका अनुसार प्रदेशभरि ६० जनालाई कोरोना संक्रमणको जाँचका लागि नमुना संकलन गर्नेबारेमा प्रशिक्षण दिइएको छ । यस प्रयोगशालामा कोरोना संक्रमणको परीक्षण पीसीआर मेसिनबाट गर्ने गरिएको हो ।

सुर्खेतमा धान्नै गाह्रो

कर्णालीमा बुधबारसम्म ६ सय २४ वटा स्वाब संकलन भएको छ । तीमध्ये ९० वटाको मात्रै परीक्षण भएको छ । सबैको नतिजा नेगेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब फोकल पर्सन ओम आचार्यले बताए । उनका अनुसार रिपोर्ट आएकामध्ये ७१ वटाको सुर्खेतमा र ३१ वटाको काठमाडौंमा परीक्षण गरिएको हो ।

सुर्खेतमा चैत २० गतेदेखि आरटी–पीसीआर मेसिनबाट स्वाब परीक्षण सुरु भएको हो तर मेसिनको क्षमता कम हुँदा संकलित स्वाब काठमाडौं पठाउने गरिएको छ । आचार्यका अनुसार दैनिक १२ वटा स्वाब मात्र परीक्षण हुने गरेको छ । ‘अरू स्वाब एम्बुलेन्स र सेनाको जहाजमा काठमाडौं पठाउने गरिएको छ,’ उनले भने, ‘स्वाब संकलन र परीक्षण कार्य अपेक्षित रूपमा भइरहेको छ ।’

संघीय सरकारले स्वाब संकलनका लागि आवश्यक पर्ने भीटीएम (भाइरल ट्रान्सफर्म मिडिया) एक हजारवटा पठाएको थियो । ती सामग्री सुर्खेतका साथै विभिन्न जिल्लामा पठाइएको आचार्यको भनाइ छ । अब करिब ४ सय भीटीएम स्टक छन् । उनका अनुसार मंगलबार नेपाली सेनाको टोलीले जुम्ला पुगेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा ३ सय २४ वटा स्वाब संकलन गरेको थियो । मंगलबारै सुर्खेतको घण्टाघरस्थित क्वारेन्टाइनबाट १ सय ६५ जनाको स्वाब संकलन गरी काठमाडौं पठाएको उनले जानकारी दिए ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चैत १६ गते सार्वजनिक गरेको तथ्यांकअनुसार भारतलगायत देशबाट करिब ८ हजार ७ व्यक्ति कर्णालीका गाउँमा पुगेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारीले पहिलो चरणमा विदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेकाको स्वाब संकलनको काम भइरहेको बताइन् । ‘कोही बिरामी सिरियस छ भने उसको स्वाब संकलन गरी सुर्खेतमै तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भनिन्, ‘सामान्य बिरामीको स्वाब भने काठमाडौं पठाउने व्यवस्था मिलाएका छौं ।’

धनगढीमा मेसिन थप

कोरोना भाइरसको नमुना परीक्षणका लागि धनगढीमा स्थापना भएको पीसीआर मेसिनबाट मंगलबारसम्म ३४ वटा नमुना परीक्षण भएको सेती प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बताए । १९ गतेदेखि परीक्षण सुरु भएको हो ।

उक्त मेसिनले दैनिक ८ वटा परीक्षण गर्ने क्षमता राखेको शाहीले बताए । ‘यसबीचमा त्योभन्दा बढी संख्यामा स्वाब नै आएन,’ उनले भने, ‘बुधबार १४ वटा थ्रोट स्वाबको नमुना संकलन भएर आएको छ । अहिले परीक्षण भइरहेको छ ।’

यसैबीच परीक्षणको दायरा बढाउन केन्द्रीय प्रयोगशालामा रहेका तीनवटा मेसिनमध्ये एउटा बुधबार धनगढी ल्याइएको छ । उक्त आरटी पीसीआर मेसिन सेनाको स्काई ट्रकबाट धनगढी ल्याइएको हो । हाल उक्त उपकरण धनगढीकै पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गर्न लागिएको प्राविधिकहरूले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार उक्त मेसिनबाट एकै दिन ४ सय जनाको स्वाब परीक्षण गर्न सकिन्छ । बिहीबारदेखि उक्त मेसिन सञ्चालनमा आउनेछ । अर्को ल्याब स्थापनाको क्रममा रहेकाले थप गति लिने छ ।

-फातिमा बानु (काठमाडौं), माधव घिमिरे (विराटनगर), अजित तिवारी (जनकपुर), प्रताप बिष्ट (हेटौंडा), लालप्रसाद शर्मा (पोखरा), माधव ढुंगाना (भैरहवा), कलेन्द्र सेजुवाल (सुर्खेत) र अर्जुन शाह (धनगढी) को रिपोर्ट

प्रकाशित : चैत्र २७, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?