३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सीमामा रोकिएका नेपालीलाई तत्काल स्वदेश ल्याउन तीन जिल्लाका सांसदको माग

भारतमा १४ दिन क्वारेन्टाइन बसेको समय सकिएलगत्तै ल्याउने सरकारको जवाफ
जयसिंह महरा

काठमाडौँ — भारतबाट आएर सीमानामा रोकिएका नेपालीलाई तत्काल स्वदेश ल्याउन तीन जिल्लाका सांसदले सरकारसँग माग गरेका छन् । दार्चुला, बैतडी र बझाङबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उक्त माग राखेका हुन् ।

सीमामा रोकिएका नेपालीलाई तत्काल स्वदेश ल्याउन तीन जिल्लाका सांसदको माग

मजदुरी लगायत विभिन्‍न पेसामा रहेका नेपाली भारतमा कोरोना प्रकोप बढेसँगै स्वदेश फर्कन लागेका थिए । १ हजार ३ सयभन्दा बढी नेपाली दार्चुला र बैतडीको भारतसँग जोडिएको सीमामा अड्किएका छन् ।

एक अर्को मुलुकमा रहेका नागरिकलाई सम्बन्धित मुलुकले व्यवस्थान गर्ने नेपाल-भारतबीचको समझदारीअनुसार उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतमा रहेका नेपालीको व्यवस्थापन राम्रो नभएको र क्वारेन्टाइनको मापदण्ड पनि पालना नभएको भन्दै उनीहरूलाई स्वदेश ल्याउन दबाब बढिरहेको छ ।

सांसदहरू दार्चुलाबाट निर्वाचित गणेशसिंह ठगुन्‍ना, बैतडीका सांसद दामोदर भण्डारी र बझाङका सांसद भैरवबहादुर सिंहले उपप्रधानमन्त्री पोखरेललाई भेटेर अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनुपर्ने माग राखेका हुन् । तीनैजना सांसद सत्तारुढ नेकपाका हुन् ।

पोखरेललाई बुझाएको मागपत्रमा भनिएको छ, 'दार्चुलाको सीमा नाका धार्चुला र बैतडी जिल्लाको सीमानाका झुलाघाटमा हजारौं नेपाली नागरिकहरू विगत केही दिनदेखि समस्यामा परिरहेकाले निजहरूलाई अविलम्ब स्वदेश ल्याई सम्बन्धित स्थानीय तहहरूमा क्वारेन्टाइनसहित मेडिकल जाँचको व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन माग गर्दछौं ।'

उच्चस्तरीय समन्वय समिति संयोजक उपप्रधानमन्त्री पोखरेलले सीमामा रोकिएका नेपालीलाई ल्याउनेबारे सकारात्मक जवाफ दिएको सांसद गणेशसिंह ठगुन्‍नाले जनाए । 'सिमानामा रहेका नेपालीलाई ल्याउनेबारे सकारात्मक छलफल भएको छ । तत्काल स्वास्थ्य जाँचको व्यवस्था गरेर ल्याउने भन्नेमा सरकार सकारात्मक देखिन्छ,' ठगुन्‍नाले भने, 'सम्बन्धित पालिकामा लगेर स्वास्थ्य जाँच गर्ने कि सीमामै जाँच गरेर ल्याउने भन्‍ने निष्कर्षमा पुगेपछि ल्याउने भन्‍ने जवाफ मिल्यो ।'

भारतमा क्वारेन्टाइन बसेको १४ दिन पुग्‍न लागेकाले उनीहरूलाई नेपाल ल्याउने तयारीमा सरकार रहेको छ । भारतबाट नेपाल ल्याएर १४ दिन क्वारेन्टाइनमा राख्‍नेबारे सरकारले तयारी गरिरहेको जवाफ मिलेको ठगुन्‍नाको भनाइ थियो ।

दार्चुलाको पारिपट्टी धार्चुलाका विभिन्‍न ठाउँमा ९ सय ७० जनाभन्दा बढी र बैतडीको सीमा झुलाघाटमा ३ सयजना भन्दा बढी नेपाली स्वदेश आउने अनुमति कुरेर बसेका छन् । केही भने महाकाली नदीमा पौडी खेलेर नेपाल आइसकेका छन् । केही दार्चुलाको उत्तरी भेगबाट नेपाल प्रवेश गरेका छन् ।धार्चुलामा दार्चुला, बैतडी, बझाङ, बाजुरा, डोटी, जाजरकोट लगायतका जिल्लाका नेपाली रहेका छन् ।

तीनै जना सांसदले सुदूरपश्चिमका सबै जिल्लामा कोरोना भाइरसक संक्रमणको र्‍यापिड परीक्षण गर्न पनि सरकारसँग माग गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर उनीहरूले कोरोनाको जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा गम्भीर रूपमा ध्यान दिन ध्यानाकर्षण गराएका हुन् ।

सुदूरपश्चिमका सबै जिल्लामा पर्याप्त स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मी पठाउन पनि उनीहरूले माग गरेका छन् । अबको ४ दिनभित्र सुदूरपश्चिमका सबै जिल्लामा कोरोना संक्रमणको र्‍यापिड परीक्षण गरिने जवाफ स्वास्थ्यमन्त्रीले दिएको सांसद ठगुन्‍नाले बताए । बिहीबार बैतडी र डडेल्धुरामा परीक्षण हुने र शनिबारसम्म दार्चुला र बझाङमा पनि कोरोना परीक्षण गर्ने योजना रहेको स्वास्थ्यमन्त्रीले जनाएको ठगुन्नाले बताए ।

स्वास्थ्यमन्त्री ढकाललाई सांसदत्रयले बुझाएको ध्यानाकर्षण पत्रः

प्रकाशित : चैत्र २६, २०७६ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?