२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

टेकु अस्पतालको आइसोलेसन वार्डकी इन्चार्ज भन्छिन्- 'पीपीई फुकाल्ने बेला सधैं मन आत्तिन्छ'

मेरो समुदायमा अहिलेसम्म विभेद खेपेको छैन। कोही नजिक आएर कोभिड र अस्पतालको बारेमा बुझ्न खोज्नुहुन्छ। म मास्क लगाएर परैबाट बोल्छु। धेरैलाई अझै रोगबारे भ्रम छ, टाढैबाट भए पनि बुझाइदिन्छु।
फातिमा बानु

काठमाडौँ — कोभिड संक्रमणका बिरामीको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी जोखिममा छन्। विश्वका विभिन्न मुलुकमा सुरक्षाका सामग्री लगाएरै बिरामी हेर्ने चिकित्सक र स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन्। केहीको त मृत्यु नै भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कोभिड–१९ का शंस्कास्पद बिरामी दिनहुँजसो आइसोलेसनमा भर्ना भइरहेका छन्। त्यस्ता बिरामीको रेखदेख तथा औषधि उपचारको जिम्मा लिएकी नर्स हुन्– बेली पौडेल।

टेकु अस्पतालको आइसोलेसन वार्डकी इन्चार्ज भन्छिन्- 'पीपीई फुकाल्ने बेला सधैं मन आत्तिन्छ'
सरुवा अस्पतालमा २३ वर्ष काम गरेकी उनी अहिले आइसोलेसन वार्ड इन्चार्ज हुन्। कोभिड–१९ बिरामीको व्यवस्थापन सम्बन्धमा आफ्नो अनुभव उनले यसरी सुनाइन् :

संक्रमणको त्रास यात्रा
गत पुसमा अस्पतालमा पहिलोपटक कोभिड–१९ संक्रमणका पहिलो शंकास्पद बिरामी भर्ना भए। त्यतिखेर हामी यो रोगबारे त्यति जानकार थिएनौं। तयारी पनि राम्रो थिएन। रोगको सर्ने प्रकृति र जटिलताबारे हामी अनभिज्ञ थियौं। आफू कत्तिको सुरक्षित हुनुपर्छ र कसरी हुने भन्ने पनि थाहा थिएन।

म आइसोलेसन वार्डमा ती बिरामीको नजिक पुगेँ, कुराकानी गरेँ। पीपीई पनि लगाएको थिइनँ। उनी उपचारपछि निको भएर डिस्चार्ज भए। उनी कोभिड पोजिटिभ रहेछन् भन्ने पछि रिपोर्ट आएपछि पो थाहा पायौं। हुन त चीनमा कोभिडका कारण बिरामी बढ्न थालेपछि हामी बढी चनाखो भएर काम गरिरहेका थियौं।

बिरामी डिस्चार्ज हुने एक-दुई दिनअघि मात्रै पन्जा र मास्कबिना वार्ड छिरेका थिएनौं। तर, रिपोर्ट देखेपछि डर लाग्यो। ओहो! रोग पो सरिसक्यो कि भन्ने भयो। त्रास त त्यसपछि सुरु भयो।

म सहित आइसोलेसनमा खटिएका १९ नर्स घरमा १४ दिन आइसोलेट भएर बस्यौं। कसैलाई केही लक्षण देखिन्छ कि भनेर हेर्‍यौं। मलाई कुनै लक्षण देखिएन। तर, अर्को एक जनालाई अलि गाह्रो भयो। कसैलाई केही हुन्छ कि भन्ने डर लागेको थियो। उहाँको टेस्ट भने नेगेटिभ आएपछि ढुक्क भयौं।

चनाखो भएर बस्छु
अस्पतालको अवस्था पहिलाजस्तो छैन। हरबखत हामी चनाखो हुनुपर्छ। आफू बचेर अरुलाई बचाउने एकखाले लडाइँ लडिरहेझैं लाग्छ। सतर्कता धेरै अपनाउनुपर्छ।

बिहान ९ बजे अस्पताल आउँछु। कपडामाथि नै पानी नपस्ने एप्रोन गाउन लगाउँछु। राति केके भयो, कुन बिरामी कस्तो अवस्थामा छ, ड्युटीमा खटिएका नर्सबाट जानकारी लिन्छु। जतिसक्दो तयारी गरेर बस्छु। आवश्यक परे अस्पतालमा पीपीई पनि छ। त्यो आइसोलेसन छिर्दामात्रै लगाउँछु। कहिलेकाहीँ त शंकास्पद बिरामी यति आउँछन् कि आइसोलेसन खाली नै हुँदैन। बिरामीलाई क्वारेन्टाइनमा राख्छौं।

डर लागेपछि छोराहरू गाउँ पठाएँ
आफू जोखम मोलेर काम गरिरहँदा परिवारको चिन्ता लाग्यो। दुई जना छोरा छन्, उनीहरूलाई केही होला कि भनेर गाउँ पठाएँ। सासू–ससुरा पनि उतै पठाएँ। आफूले त काम छोड्न मिलेन।

आफू सकेसम्म बच्ने प्रयास गर्छु। अस्पतालमा लागाएको कपडा घरमा लगाउँदिन। अस्पतालबाट घर पुग्नासाथ नुहाउँछु।

घरमा श्रीमान् र म छुट्टै कोठामा बस्छौं। म छुट्टै बाथरुम प्रयोग गर्छु। खाना पनि पकाउँदिन। सरसफाइमा विशेष ध्यान दिन्छु। आफ्नो कपडा अरुसँग मिसाएर धुदिनँ। आफूले प्रयोग गरेका सामान घाममा सुकाउँछु।

समुदायसँग टाढैबाट कुरा गर्छु
स्वास्थ्यकर्मी र अस्पतालमा काम गर्नेलाई अहिले समुदायमा विभेद गर्छन् भनेको सुन्छु। हाम्रै नर्स र सफाइकर्मीलाई त्यस्तो गरे। उहाँहरुको आत्मबल बढाउन अस्पतालमै खानेबस्ने व्यवस्था भयो।

मेरो समुदायमा मैले अहिलेसम्म त्यस्तो विभेद खेपेको छैन। कोही नजिक आएर कोभिड र अस्पतालको बारेमा बुझ्न खोज्नुहुन्छ। म मास्क लगाएर परैबाट बोल्छु। म अस्पतालमा काम गर्छु, मेरो नजिक नआउनुस् भन्छु। धेरैलाई अझै रोगबारे भ्रम छ, टाढैबाट भए पनि बुझाइदिन्छु।

स्टाफको मनोबल बढेको छ
पीपीई लगाउँदा पनि रोग सरिरहेको छ बाहिर। फुकाल्न नजान्दा भाइरस सर्छ रे। फुकाल्ने बेलामा मन आत्तिन्छ। भाइरस टाँसिसक्यो होला- कहिले यो पीपीई फुकालौं जस्तो भइरहेको हुन्छ।

कति स्टेप छुटेका पनि छन्। त्यसैले फुकाल्ने बेलामा एक जना अगाडि उभिएर निगरानी गर्छौं। तालिम र सुरक्षा सामग्रीको व्यवस्थाले गर्दा मनोबल बढिरहेको छ।

डर हराउँदै गयो
पहिलो बिरामीलाई बिनासुरक्षा हेर्दा पनि हामी सुरक्षित भयौं। त्यही कुराले हाम्रो डर कम भएको छ। कोभिड–१९ ले अहिले विश्वलाई चुनौती दिइरहेको छ। स्वास्थ्यकर्मी संक्रमित छन्। त्यसैले हाम्रा स्टाफ पनि केही डराउनु स्वाभाविक हो।

अलि गम्भीर खाले शंकास्पद बिरामी भर्ना भएको दिन तनाव अलि बढ्छ। कहिलेकाहीँ वार्डमा भर्ना भएका बिरामीलाई श्वास फेर्न गाह्रो हुन्छ, त्यसबेला डर बढ्छ। के हुने हो, अझै कति केस बढ्ने हो, विदेशमा जस्तै नियन्त्रण गर्न सक्ने भन्दा बढी बिरामी आए के गर्ने होला जस्तो लाग्छ।

बिरामीबाट हामीलाई नसरोस् भनेर प्रार्थना गरिरहेका हुन्छौं। हुन त अहिलेसम्म गम्भीरखाले बिरामी भर्ना भएका छैनन्। पोजिटिभ नै देखिएका बिरामी पनि सामान्य उपचारपछि घर गइरहेका छन्।

आईसीयू लैजानुपर्ने, भेन्टिलेटर नै जोड्नुपर्ने स्थिति छैन। त्यस्तो स्थिति नआऊला भन्न सकिँदैन, हामी त्यसैको तयारी गरिरहेका छौं। भोलि जस्तोसुकै स्थिति आए पनि लड्छौं भनेर मानसिक रुपमा हामी तयार छौं। नयाँ तथ्यहरू पढ्छौं, त्यसले पनि सघाउँछ।

रिपोर्ट नेगेटिभ आए ढुक्क
आइसोलेसन वार्डमा बिरामी भर्ना भइरहेका हुन्छन्। उनीहरूको थ्रोट स्वाब रिपोर्ट नआउन्जेल हामी बिरामी पोजिटिभ नै हो जस्तै गरी सतर्क हुन्छौं। मन पनि उत्तिकै आत्तिइरहेको हुन्छ। तर, टेस्ट नेगेटिभ आएको दिन आनन्द महसुस हुन्छ, खुसी लाग्छ। ढुक्कको श्वास फेर्छु।

सबै रिपोर्ट यस्तै आओस् भन्ने जस्तो लाग्छ। लक्षण कम नभएका बिरामीको भने दोहोर्‍याएर परीक्षण गर्छौं । अस्पताल बसुन्जेल टाउको भारी भएजस्तो हुन्छ। अस्पतालबाट निस्केपछि केही हलुका लाग्छ।

रातिसम्म खटिनु पर्छ
अस्पताललाई कोभिडका बिरामी मात्रै हेर्ने भनेपछि हाम्रो पनि काम गर्ने तरिका परिवर्तन भएको छ। समय बढी दिनुपर्छ। आइसोलेसनका बिरामीदेखि व्यवस्थापन पाटो हेर्नुपर्ने भएकाले कहिलेकाहीँ रातिसम्म बस्नुपर्छ।

अस्पतालकै गाडीमा घर फर्किन्छु। पोजिटिभ बिरामी हेर्न थालेपछि लकडाउन नहुँदा पनि म सार्वजनिक बस चढिनँ। बाटोभरिका मान्छे जोखिममा किन पार्नु भनेर घरबाट लिन बोलाउँथे। घर जान नसक्ने र घरमा छुट्टै बस्ने व्यवस्था नभएका ७ जना नर्सहरू अस्पतालमै बस्नुहुन्छ।

बिरामीलाई सम्झाउन मुस्किल
आइसोलेसनमा बसेका सबै बिरामी कुरा बुझ्दैनन्। विदेशी बिरामीलाई त नियन्त्रण गर्न झनै मुस्किल छ। छिटो रिपोर्ट आएन भन्दै रिसाएर वार्डबाट निस्केर बाहिरसम्म पुग्छन्, मान्दै मान्दैनन्। बाटो छेकेर फिर्ता ल्याउँछौं।

विदेशमा कसरी बसेका हुन्छन् कुन्नि! यहाँको व्यवस्थापन राम्रो भएन भनेर गाली गर्छन्। हुन त परिवारबाट टाढा र एउटा कोठमा एक्लै बसिरहन अत्यास पनि लाग्छ होला। समय कटाउन सहज होस् भनेर वाइफाई जोडिएको छ। तर, फेक समाचार र सामाजिक सञ्जालमा फैलिएका अफवाह हेरेर आत्तिन्छन्। हामीलाई सोधखोज गर्छन्। घर जान हतार गर्छन्।

सुविधासम्पन्न बस्नेखाने ठाउँ चाहियो भन्छन्। बिरामी सजिलो भए पो हामीलाई पनि काम गर्ने हौसला हुन्छ। अहिलेका बिरामीले भने बिस्तारै बुझ्दै गएको जस्तो लाग्छ।

प्रकाशित : चैत्र २६, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?