लकडाउनमा होटेल खोल्न लगााएर सभामुखलाई भोजन 

चैत्र २६, २०७६

राजविराज — लकडाउनका बेला होटेल रेष्टुराहरु बन्द रहेपनि प्रदेश २ का सभामुख सरोज यादवसहितको टोलीलाई होटेल खोलाएर भोजन गराइएको छ । प्रदेश २ को प्रवेशद्वार कोसी ब्यारेजस्थित होटेल होलिडे सभामुख यादवसहितको टोलीलाई भोजनका लागि बुधबार खोलाइएको हो । 

सभामुखको टोलीमा उनका अतिरिक्त समाजवादी पार्टीका प्रदेशसभा सदस्य कौसल यादव, प्रदेश सभाका सचिव रन्जीत यादव , अरुण झा लगायत प्रदेश सभाका अन्य कर्मचारीहरु थिए । यसैगरी, प्रदेश सभाकै सुरक्षाकर्मीहरुको टोलीले पनि खाना खाएका थिए ।  


सभामुख यादवसहितको टोली बुधबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको व्यवस्थापनबारे छलफल गर्नुका साथै कारोना संक्रमणको रोकथामका लागि भइरहेका प्रयासबारे जानकारी लिएका थिए । टोलीलाई राजविराजमै खाना खान आग्रह गरिएको थियो । तर अर्कै ठाउँमा  खाने भन्दै टोली राजविराजबाट २४ किलोमिटर पूर्व कोसी ब्यारेज गएका थिए । 


अगाडी नेपाल प्रहरीको स्कटिङ र पछाडी सभामुख यादवको गाडी कोसी ब्यारेजस्थित होटेलमा पुगेका थिए । टोलीका सबैले खाना खाएपछि उनीहरु पश्चिम लागेको ड्युटीमा रहेका एक प्रहरीले बताए । 


सभामुख यादवसँगैको टोलीमा रहेका प्रदेश सभा सचिवालयका सचिव रन्जित यादवले सुरुमा कोसी ब्यारेजमा खाना नखाएको बताएपनि पछि अर्कै स्थानबाट खाना बनेर आएको र होटेलमा बसेको स्वीकार गरे । 


लकडाउन पालना गराउन कोसी ब्यारेजमा ड्युटीमा रहेका स्थानीय प्रहरीले होटेल खोल्न रोक्न खोजेपनि सभामुख जस्तो विशिष्ट व्यक्ति भएकाले आँट गर्न सकेनन् । सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले प्रदेश सभाका सभामुख सप्तरी आएको जानकारी भएपनि उनी कहाँ कहाँ गए भन्नेबारे जानकारी नभएको बताए । 

लकडाउनकोरोना भाइरस

Link copied successfully