सुदूरपश्‍चिममा छैनन् विशेषज्ञ चिकित्सक

कोभिड-१९ को सबैभन्दा बढी संक्रमण भेटिएको सुदूरपश्‍चिम प्रदेशभर १ सय १४ चिकित्सकको दरबन्दी रहेकाेमा अहिले १५ जना मात्रै कार्यरत छन् ।
मकर श्रेष्ठ

काठमाडौँ — सरकारले सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षण सुरु गरेको छ । टेकुको राष्ट्रिय प्रयोगशालामा मात्रै हुने परीक्षण सबै प्रदेशमा विस्तार गरिएको हो ।

सुदूरपश्‍चिममा छैनन् विशेषज्ञ चिकित्सक

संघीय सरकारले प्रदेशमा उपकरण पठाए पनि विशेषज्ञ चिकित्सक पठाउन सकेको छैन । कोरोना संक्रमित चार जना बिरामीलाई आइसोलेसनमा राखिएको सेती अस्पतालमा वर्षौंदेखि विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त छ । नवौं तहको वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिष्ट र सातौं तहको ल्याब टेक्निसियनको दरबन्दीमा पनि जनशक्ति पठाइएको छैन । अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार ८ देखि ११ तहका ३० जना चिकित्सकको दरबन्दीमा १४ जना मात्रै कार्यरत छन् । सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका कारण यतिबेला राज्यकै ध्यान सुदूरपश्चिममा भए पनि मुख्य अस्पतालमै जनशक्ति व्यवस्थापन हुन नसकेको उनले बताए ।


उनका अनुसार अस्पतालमा ११ तहका फिजिसियन, स्त्रीरोग विशेषज्ञ र मेडिकल सुपरिटेन्डेन्टको पद रिक्त छ । बालरोग विशेषज्ञ हेमराज पाण्डेले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालेका छन् । त्यस्तै ९ र १० तहका स्त्रीरोग विशेषज्ञ, प्याथोलोजिष्ट, इएनटी सर्जन, साइक्याट्रिस्ट, कार्डियोलोजिष्ट, डेन्टल सर्जनको पद रिक्त छ । नर्सिङ प्रशासकमा पनि कसैलाई पठाइएको छैन । दरबन्दीअुनसार जनशक्ति नभएपछि अस्पतालले करार र छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरबाट काम लिइरहेको मेडिकल सुपरिन्टेन्डेन्ट पाण्डेले बताए ।

कोरोना संक्रमित र आशंका गरिएका बिरामीलाई नियमित मनोपरामर्श दिनुपर्ने हुन्छ तर अस्पतालमा ९/१० तहको मनोचिकित्सक पद रिक्त छ । ‘जनशक्ति नभएको अहिले अहिलेमात्रै होइन, मुलुक संघीय संरचनामा जानु अघिदेखि नै त्यहाँका धेरै पद रिक्त छन् । संघीयतामा गएपछि जनशक्ति व्यवस्था होला भनेको समायोजनले झन् कटौती पो भयो,’ पाण्डेले भने, ‘अस्पतालमा जनशक्ति नभएको कुरा स्थानीय, प्रदेश र संघमा सबैलाई थाहा छ । सबैतिर हारगुहार गरिसकें । कतैबाट पनि सुनुवाइ भएन ।’


महामारीका बेला उपकरण पठाए पनि जनशक्ति नभएसम्म प्रभावकारी सेवा दिन समस्या हुने उनले बताए । ‘५० शय्या हुँदा स्वीकृत दरबन्दीमै जनशक्ति अपुग छ,’ उनले भने, ‘अहिले त अस्पताल २४० शय्याको भइसकेको छ ।’

महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको अवस्था सेतीको भन्दा बिजोग छ । ११ औं तहको मेडिकल सुपरिन्टेन्डेन्ट हुनुपर्नेमा नवौं तहका स्त्रीरोग विशेषज्ञ डा. हरि श्रेष्ठले निमित्त चलाइरहेका छन् । ११ तहको सुपरिन्टेन्डेन्ट, स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ र फिजिसियन छैनन् । अस्पतालका अनुसार ८ देखि ११ तहसम्मका २८ जनाको दरबन्दीमा २ जना मात्रै छन् । नवौं तहका श्रेष्ठ र आठौं तहका वरिष्ठ मेडिकल अधिकृत मात्रै दरबन्दीका हुन् । ६ जना मेडिकल अधिकृतको दरबन्दीमा एक जना मात्रै रहेको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट श्रेष्ठले बताए ।


प्रादेशिक अस्पतालको जस्तै हालत जिल्ला अस्पतालहरूको छ । जिल्ला अस्पताल बैतडीमा नवौं तहको मेडिकल सुपरिन्टेण्डेन्ट एक जना र आठौं तहका दुई जना मेडिकल अधिकृतको दरबन्दी छ । तीनै दरबन्दी खाली रहेको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. बसन्त जोशीले बताए । नवौ तहको दरबन्दी ०७५ असारदेखि खाली रहेको उनले बताए । छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका डा.जोशीले प्रशासनिक जिम्मेवारीसमेत सम्हालेका छन् । ‘सरकारी दरबन्दीमा कोही नभएपछि मैले प्रशासनिक जिम्मेवारीसमेत सम्हाल्नुपरेको हो,’ शल्यक्रियाको तयारीमा रहेका उनले टेलिफोनमा भने, ‘मलाई सघाउने पनि छात्रबृतिमै एमबीबीएस अध्ययन गरेका साथी देवेन्द्र लेखक हुनुहुन्छ । उहाँको पनि अवधि सकिन लाग्यो, त्यसपछि म एक्लै हुन्छु ।’ स्टार्फ नर्स ४ जनाको दरबन्दीमा दुई जना कार्यरत छन् । ल्याब टेक्सिसियनको दरबन्दी खाली छ । ल्याब टेक्निसियन समायोजनपछि अन्यत्र गएको उनले बताए ।

जिल्ला अस्पताल दार्चुलामा नवौ/ दशौ तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी छ । अस्पताल स्थापना भएदेखि यो तहको जनशक्ति पुगेकै छैन । आठौं तहका मेडिकल अधिकृत गजेन्द्र दुवालले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालेका छन् । स्टार्फ नर्सको दरबन्दी ४ जनाको छ । तर, तीन जना मात्रै कार्यरत छन् ।

अस्पतालमा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, एनेस्थेसिया सहायक, ल्याब अधिकृत १/१ जनाको दरबन्दी थियो । सबै पदमा जनशक्ति छैनन् । ‘हाम्रोमा १८ जना स्वास्थ्यकर्मीको दरबन्दी थियो । सात जना मात्रै छन्,’ दुवालले भने, ‘९ र १० तहको मेसु त अहिलेसम्म आएकै छैनन् ।’


विशेषज्ञ चिकित्सक ६ जना मात्रै

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी झंकरबहादुर बिष्टले प्रदेशभरि विशेषज्ञ चिकित्सक अभाव रहेको बताए । प्रदेशमा ८ देखि ११ तहसम्म १ सय १४ जनाको दरबन्दी भए पनि १५ जना मात्रै कार्यरत छन् । ९९ जना अर्थात् ८७ प्रतिशत दरबन्दीमा चिकित्सक छैनन् । उनका अनुसार धेरै जसो अस्पतालमा करार र छात्रवृत्तिमा पढेका डाक्टरले काम चलाइरहेका छन् । प्रदेशभर ५० जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकामा ६ जना मात्रै कार्यरत छन् । बालरोग विशेषज्ञ, जनरल फिजिसियन, छालारोग विशेषज्ञ, मेडिकल जनरलिस्ट, रेडियोलोजिस्ट र स्त्री रोग विशेषज्ञ एक–एक जना रहेको उनले जानकारी दिए ।

मन्त्रालय स्रोतका अनुसार सुदूरपश्चिममा ११ तहका चिकित्सकको १४ जनाको दरबन्दीमा दुई जना मात्रै कार्यरत छन् । ९ र १० तहका ६३ जनाको दरबन्दीमा ६ जना र ८ तहका ३७ जनाको दरबन्दीमा ७ जना मात्रै कार्यरत छन् ।


वर्षौअघि तय भएको दरबन्दीमा पनि चिकित्सक नहुँदा प्रदेशका करिब ३० लाख जनसंख्याले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको मन्त्रालयले जनाएको छ । ‘समायोजनमा माथिल्लो तहको चिकित्सक हाम्रो प्रदेशमा आउँदै आएनन् । यतिसम्म कि मन्त्रालयमा ९ र १० तहको चिकित्सकको दरबन्दीसमेत खाली छ,’ उनले भने, ‘जिल्ला तहमा त छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले धानेका छन् । यहाँ भएका जनशक्ति समायोजनपछि अन्यत्र गए । अन्यत्रबाट यहाँ आएनन् ।’

समायोजनअघि नै चिकित्सकको कमी रहेको सुदूरपश्चिम प्रदेशमा पछि झन् अभाव भएको उनले बताए । चिकित्सक अभाव भएपछि प्रदेशको स्वास्थ्य निर्देशनालयले पदपूर्तिका लागि विज्ञापन गरे पनि अन्तर्वार्ता बाँकी रहेको उनले बताए । एक सय शय्याको डडेलधुरा अस्पताल र १५ शय्याको प्रहरी अस्पताललाई संघीय सरकारमातहत राखिएको छ । त्यस्तै सेती, महाकाली र टिकापुर अस्पताललाई प्रदेशअन्तर्गत राखिएको छ । यसबाहेक अछाम, बाजुरा, बझाङ, डोटी, बैतडी र दार्चुलाका १५ शय्याका जिल्ला अस्पताललाई पनि प्रदेशअन्तर्गत राखिएको छ ।


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार ११ तहका निर्देशक, मेडिकल सुपरिन्टेन्डन्ट, प्रमुख कन्सल्टेन्ट फिजिसियन, स्त्रीरोग विशेषज्ञ, शल्य चिकित्सक र बालरोग विशेषज्ञको १४ जनाको दरबन्दी रहेकोमा निर्देशक र बालरोग विशेषज्ञ मात्रै कार्यरत छन् । अरु १२ दरबन्दी रिक्त छ । दुई जना फिजिसियनको दरबन्दी खाली छ । ११ औं तहकै ३ जना प्रमुख मेडिकल सुपरिन्टन्डेन्टको पदपूर्ति भएको छैन ।

९ र १० तहका ६३ जनाको दरबन्दीमा ६ जना कार्यरत छन् । ५७ वटा दरबन्दी खाली छ । ९/१० तहका मेडिकल सुपरिटेन्डेन्ट ६ जनाको दरबन्दीमा कोही पनि छैनन् । त्यस्तै यही तहका नर्सिङ प्रशासनमा ३ जना, प्याथोलोजिस्ट ३, माइक्रोबाइलोजिष्ट १ जना, सहायक/उप मेडिकल ल्याब टेक्निसियन २ जना, सर्जन ३ जनाको दरबन्दी भएकोमा सबै खाली रहेको मन्त्रालयले जनाएको छ ।


प्रदेशमा ३ जना एनेस्थेसियोलोजिष्टको दरबन्दी पनि रिक्त छ । जनरल फिजिसियन ५ जनाको दरबन्दीमा एक जना कार्यरत छन् । ३ जना रेडियोलोजिष्टको दरबन्दीमा एक जना, पाँच जना स्त्रीरोग विशेषज्ञको दरबन्दीमा एक जना मात्रै कार्यरत छन् । बालरोग विशेषज्ञको ५ र मनोचिकित्सकको ३ वटा दरबन्दी रहेकोमा सबै खाली छन् । आठौं तहका मेडिकल अधिकृतको दरबन्दी २४ जनाको रहेकोमा दुई जना मात्रै कार्यरत रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मी नभए पनि अन्यत्रबाट लगेर व्यवस्थापन गर्ने बताए । ‘संक्रमण जुन स्तरको प्रकट हुन्छ, त्यहीअनुसार व्यवस्थापन गर्छौं’, उनले भने ।

प्रकाशित : चैत्र २५, २०७६ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?