कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितलाई भेटेको १२ दिनपछि देखियो आफन्तमा कोरोनाको संक्रमण

संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा सरेको नेपालमा पहिलो केस
अर्जुन शाह

धनगढी — हालसम्म विदेशबाट आएकाहरुमा मात्रै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पहिलो केस धनगढीमा फेला परेको छ । 

संक्रमितलाई भेटेको १२ दिनपछि देखियो आफन्तमा कोरोनाको संक्रमण

दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवालाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । फर्किएदेखि घरमै बसेका युवाको एक आफन्त महिलामा पनि संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । ती आफन्त युवककी भाउजू हुन् ।


ती महिलामा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनको परिवारका सदस्यहरुले बताएका छन् । ‘कुनै पनि लक्षण नदेखिएर पनि कोरोना संक्रमण भएको सुनेर हामी अचम्म परेका छौं,’ उनको परिवारका एक सदस्यले भने ।


संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । त्यसमध्ये एकजनामा संक्रमण पुष्टि भएको हो ।


सेती प्रादेशिक अस्पतालको एम्बुलेन्सले शनिबार बिहानै घरमा पुगेर संक्रमण पहिचान भएकी महिलालाई अस्पताल ल्याएको छ । नलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ । संक्रमित युवकको पनि यहीं उपचार भइरहेको छ ।


दुबईमा काम गर्दै आएका ती युवा चैत ७ गते फ्लाई ईमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए । दिल्लीबाट उनी त्यही दिन एयर भिस्ताराको उडानबाट दिउसो २ बजे काठमाडौका लागि उडेका थिए । चैत ८ गते शनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाडौंबाट नेपालगञ्ज आएका उनी नेपालगञ्जबाट महेन्द्रनगर जाने माइक्रो हाइसमा अत्तरिया आइपुगेका थिए ।


तीन दिन घरमै बसेका ती युवालाई १० गते राति ज्वरो आएपछि ११ गते बिहान अस्पताल पुर्‍याइएको थियो । चैत १४ गते उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि उनको पूरै परिवारलाई जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।


परिवारका सबै सदस्य क्वारेन्टाइनमा गएपछि घरमा पशु चौपाया अलपत्र परेको भन्दै उनीहरुकै अनुरोधमा होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई चौथो दिन घर फर्काइएको थियो ।


युवामा संक्रमण देखिएको समाचारले नै भयभित संक्रमित बसोबास गर्ने टोलका बासिन्दा अर्को संक्रमणको खबर सुनेर थप त्रसित छन् ।

प्रकाशित : चैत्र २२, २०७६ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?