कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अस्थायी भिसा भएकालाई अस्ट्रेलियाद्वारा राहत

गाह्रो भए घर फर्कन निमित्त अध्यागमन मन्त्रीको सुझाव
नारायण खड्का

अस्ट्रेलिया — अध्यागमन तथा नागरिकता मन्त्रालयले अस्ट्रेलियामा एक वर्षदेखि विद्यार्थी भिसामा रहेका विदेशी नागरिकलाई राहतस्वरुप आफ्नो सुपर एनएसन रकम झिक्न पाउने व्यवस्था गरेका छन् ।

अस्थायी भिसा भएकालाई अस्ट्रेलियाद्वारा राहत

निमित्त मन्त्री एलज टजले शनिबार एक विज्ञप्तिमार्फत अस्थायी भिसामा रहेका कसैले अहिलेको अवस्थामा अत्यन्तै गाह्रो भएको र आउने ६ महिनासम्म आफूलाई सहयोग गर्न नसक्ने अवस्था भए आफ्नै देश फर्कन सुझावसमेत दिएका छन् ।


मन्त्री टजले सार्वजनिक गरेको विज्ञप्तिमा अहिले करिब २२ लाख व्यक्ति विभिन्न अस्थायी भिसामा रहेको जनाइएको छ । अहिलेको वर्तमान परिस्थितिमा सहयोग पुरयाउने उद्देश्यले सरकारले यो निर्णय लिएको उनले जनाएका छन् । अस्ट्रेलियामा व्यावसायिक एकाउन्टेन्टका रुपमा काम गरिरहेका योगेन्द्र अधिकारीका अनुसार सुपरएनएसन आफू सेवानिवृत्त भएपछि मात्र झिक्न पाइने रकम हो ।


आफूले कानुनी रुपमा काम गरेको कम्पनीले न्यूनतम ९ दशमलव ५० प्रतिशत थप रकम यो कोषमा दाखिला गर्ने नियम छ । मन्त्री टजले अहिलेको विषम् परिस्थितिमा १२ महिनाअघिदेखि अस्ट्रेलियामा अस्थायी भिसामा रहेका र जागिर गुमाएका अथवा जागिरको समयावधि घटेका विदेशी विद्यार्थीले यो रकम झिक्न पाउने उल्लेख गरेका छन् । उनले अन्य अस्थायी भिसामा रहेकाले समेत यो रकम झिक्न पाउने उल्लेख गरेका भ एपनि समयावधि तोकिएको छैन ।


अस्ट्रेलियामा अहिले ५ लाख ६५ हजार विदेशी विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरिएको छ । जसमा २ लाख ४० हजारले अस्ट्रेलियाको रोजगार क्षेत्रमा सहयोग पुरयाइरहेका छन् । विज्ञप्तिमा विद्यार्थीलाई आफ्नो परिवार तथा पार्ट–टाइम काममा भरप र्न आग्रह गर्दै मन्त्री टजले नर्सिङ, सुपरमार्केटलगायतका क्षेत्रमा काम गर्नेहरुको काम गर्ने समय बढाइएको समेत उल्लेख गरेका छन् । ‘तपाईं अस्थायी भिसामा हुनुहुन्छ र ६ महिनासम्म आफूलाई धान्न सक्ने अवस्था छ जस्तो लाग्दैन भने यो समय आफ्नो घरतर्फ जान सक्नुहुन्छ र यसको प्रबन्ध जतिसक्दो छिटो मिलाउन आग्रह छ,’ मन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि नै सरकारले स्वास्थ्यक्षेत्र तथा ठूला सुपरमार्केटमा काम गर्ने विद्यार्थीले दुई सातामा अधिकतम ४० घण्टा मात्र काम गर्न पाउने अधिकार बढाइसकेको छ । यद्यपि यो नियम मे १ तारिखदेखि पुन: ४० घण्टामा सीमित गरिने भएको छ ।


कोरोना भाइरसको संक्रमणको प्रभावले अन्तर्राष्ट्रिय विद्यार्थीले सहयोगको आशा गरिरहेका छन् । यसै सन्दर्भमा शुक्रबार प्रधानमन्त्री स्कट मरिसनले आफ्नो पहिलो प्राथमिकता नागरिक र स्थायी बासिन्दा भएको बताउँदै अन्त्यन्तै गाह्रो भए आफ्नो देश फर्कन सकिने सुझाव दिएका थिए । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न लागिपरेको सरकारले आफ्ना नागरिक, व्यवसायलाई विभिन्न सहयोगका कार्यक्रमहरु घोषणा गरिसकेको छ ।


अस्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसका कारण ३० जनाले ज्यान गुमाइसकेका छन् भने ५ हजार ५ सय ४४ जना संक्रमित भइसकेका छन् । संक्रमण रोक्नका लागि केन्द्रीय सरकारका साथै राज्य सरकारले आफ्नो सीमा बन्द गर्नुका साथै अन्य विभिन्न उपाय अपनाइरहेका छन् । अस्ट्रेलियाका सहायक मुख्य स्वास्थ्य अधिकारी डा. पल केलीले सरकारले अपनाएको विभिन्न उपायका कारण संक्रमणको दर विस्तारै कम हुँदै गएको जनाएका छन् ।

प्रकाशित : चैत्र २२, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?