कोरोनाबारे भ्रम फैलाउने पक्राउ

चैत्र २२, २०७६

भवानी भट्ट

कञ्चनपुर — कोरोना भाइरस(कोभिड–१९)बारे अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको बेलडाडी गाउँपालिका–२ का २३ वर्षीय गोपाल सुनारलाई प्रहरीले शुक्रबार साँझ घरबाटै पक्राउ गरेको हो । 

सुनारले बिहीबार आफ्नो फेसबुक वालमा महेन्द्रनगरस्थित ‘महाकाली अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ’ भन्ने स्टाटस पोस्ट गरेका थिए ।


उक्त स्टाटसले सर्वसाधारणमा अफवाह, डर–त्रास र भ्रम फैलाउने कार्य गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले बताए । 


पक्राउ परेकाको विषयमा थप अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाइने पौडेलले बताए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully