लकडाउनको मौका छोपी मारियो हात्ती र गोही 

लकडाउनकै बीचमा गत शुक्रबार पर्सा निकुञ्जको महादेवखोला क्षेत्रमा सेना र तस्करबीच गोली हानाहान भएको थियो । 

चैत्र २२, २०७६

काठमाडौँ — लकडाउनको फाइदा उठाउँदै चोरी सिकार नहोस् भनेर निकुञ्ज र आरक्षमा गस्ती बढाइए पनि यही बीचमा चितवन निकुञ्जमा घडियाल गोही र बर्दिया निकुञ्ज नजिकै करेन्ट लगाएर हात्ती मारिएको छ । 

चितवन निकुञ्जको अमलटारी क्षेत्रको नारायणी नदीमा २ र सौराहा नजिकको ढुंग्रेखोलामा १ गरी तीन घडियाल गोही मारिएको भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिए । 


खड्काका अनुसार माछा मार्नका लागि प्रयोग भएका जाल झिक्ने क्रममा ती गोहीलाई हतियार प्रयोग गरेर मारिएको हो । तीन वटै गोहीको लम्बाइ २ मिटरको छ । मारिएका गोही निकुञ्जको मुख्यालय, कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काएर छोडिएकामध्ये हुन् । 


‘पोस्टमार्टम गरेर हेर्दा गोहीको टाउकोमा रगत जमेको पाइएको छ । यसबाट कुनै वस्तुले हानेर मारिएको पुष्टि हुन्छ,’ चिनवनबाट खड्काले कान्तिपुरसित भने, ‘६ महिनासम्म खानेकुरा नपाए पनि गोही यत्तिकै मर्दैन, यो मारिएको नै हो ।’ कसले मारेको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । निकुञ्जले खोजी जारी राखेको छ । 

लकडाउनको मौका छोपेर माछा मार्न गएका व्यक्तिले माछा निकाल्ने क्रममा गोही मारेको हुनसक्ने निकुञ्जको भनाइ छ । 


यता, निकुञ्ज विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले भने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले अहिलेसम्म गोही मारिएकोबारे आफूलाई जानकारी नदिएको बताए । 


उता, बर्दिया निकुञ्ज नजिकै तीन दिनअघि एक वयस्क हात्ती मारिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) अणनाथ बरालका अनुसार राजापुर नगरपालिका ७ शंकरपुरमा तीन दिनअघि एक भाले हात्ती मृत अवस्थामा फेला परेको हो । त्यो क्षेत्र निकुञ्जभन्दा बाहिरको हो । 


बरालका अनुसार उक्त हात्तीलाई करेन्ट लगाएर मारिएको हो । बर्दिया निकुञ्जका पशु चिकित्सक चित्रबहादुर खड्काले मरेको हात्तीको पोस्टमार्टम गरेका थिए । त्यसपछि दारा र नंग्रा काटेर पुरिएको बरालले जानकारी दिए । 

गत शुक्रबार पर्सा निकुञ्जको महादेवखोला क्षेत्रमा तस्करको समूह र निकुञ्जको संरक्षणमा खटिएका सेनाबीच गोली हानाहान हुँदा एक जना तस्करको ज्यान गएको छ भने सेनाका एक जमदार घाइते भएका छन् । 

Link copied successfully