काठमाडौँ — स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना बिरामी फेला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार दुईजना कैलाली र एकजना कञ्चनपुरका हुन् ।
संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको पेजमा उल्लेख गरिएको छ । यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पनि भारतबाट आएका दुईजनामा संक्रमण देखिएको पुष्टि गरे । 'धनगढीमा भारतबाट आएका दुईजनामा कोभिड १९ देखिएको छ । र, निजका परिवारमा समेत संक्रमण फैलिएको आशंका गरिएको छ,' पाण्डेले कान्तिपुरलाई भने । यी सबैकाे स्वाबको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने आफूलाई यससम्बन्धी कुनै जानकारी नभएको बताए ।
यसअघि नेपालमा छ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ । ती सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।
