कोरोना संक्रमितसँग विमानमा आएका ११ जना प्रशासनको सम्पर्कमा आएनन्

चैत्र १९, २०७६

मातृका दाहाल

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड- १९)को पाँचौं संक्रमितसँगै कतार एयरलाइन्सबाट चैत ५ गते स्वदेश आएकामध्ये २२ जना प्रदेश २ प्रहरी कार्यालयको सम्पर्कमा आएका छन् ।

उनीहरू सेल्फ क्वारेन्टाइनमा रहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए । ‘कतार एयरलाइन्सबाट चैत ५ गते आएकामध्ये ३३ जनाको प्रदेश २ अन्तर्गतका जिल्लाको ठेगाना भेटियो,’ कार्कीले भने, ‘११ जना भने सम्पर्कबाहिर छन्, ठेगाना स्पष्ट नभएपछि उनीहरूलाई फेला पार्न सकिएन ।’

भारतबाट आएकालाई पनि घर र सार्वजनिक क्वारेन्टाइनमा राखिएको कार्कीले बताए । सम्पर्कमा नआएकाको खोजीमा सर्वसाधारण, स्थानीय तह र प्रहरीका स्थानीय संयन्त्रहरूलाई सक्रिय पारिएको कार्कीले बताए । सम्पर्कमा आएका सबैको स्वास्थ्यस्थिति सामान्य रहेपछि उनीहरू होम क्वारेन्टाइनमै बसिरहेका छन् ।

आइतबार राहदानी विभागले चैत ५ गतेपछि विदेशबाट आएका व्यक्तिको विवरण प्रहरीलाई बुझाएको थियो । त्यही विवरण प्रहरी प्रधान कार्यालयले ७ वटै प्रदेश प्रहरीलाई पठाएको थियो ।

सम्बन्धित समाचारः

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully