कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

लकडाउन सुरु भएयता १२५५ पर्यटकको उद्धार 

सुरज कुँवर

काठमाडौँ — सरकारले गत मंगलबारदेखि सुरु गरेको एक साता लामो लकडाउनको अवधिमा एक हजार २ सय ५५ पर्यटकको उद्धार गरेको छ । पर्यटन बोर्डका प्रवक्ता लिला बानियाका अनुसार, देशभरका १९ वटा पर्यटकीय गन्तव्यबाट युरोप, अमेरिका, रुस,  दक्षिण कोरियालगायत मुलुकका पर्यटकलाई सडक र हवाईमार्गबाट उद्धार गरेर काठमाडौं ल्याइएको थियो । 

लकडाउन सुरु भएयता १२५५ पर्यटकको उद्धार 

आइतबार साँझसम्म पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार, लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङटाङ, मनास्लु, गोरखा, लेते, बेशसहर, काँडे, संखुवासभा, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको थियो । लुक्लाबाट सबैलाई हेलिकप्टर र जहाज चार्टर गरेर उद्धार गरिएको बोर्डले जनाएको छ । त्यस क्षेत्रबाट ५४ जना नेपाली गाइड तथा भरियालाई पनि उद्धार गरिएको बोर्डले जनाएको छ ।


बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार, लकडाउनअघि देशभर घुमघाममा रहेका करिब १० हजार पर्यटक विभिन्न ठाउँमा अलपत्र छन् । तीनलाई स्थानीय प्रशासनको सहायतामा बोर्डले उद्धारमा समन्वय गर्दै आइरहेको छ ।


यसैबीच उद्धार कार्यमा अधिकांश स्थानमा जहाज चार्टर गरेर पठाउने काममा काठमाडौंमा रहेका जर्मन, रसियन, अमेरिकी, बेलायती, दक्षिण कोरिया र स्विस दूतावासले पहल गरेका थिए ।


लकडाउनको अवधिमा व्यावसायिक उडानमा रोक लगाइएकाले कूटनीतिक पहलबाट पर्यटकलाई काठमाडौं ल्याउँदै स्वदेश फर्काउने कार्य भइरहेको छ ।


नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार, आइतबार लुक्लाबाट तारा एयरले ४, समिट एयरले ३ र सिताले ३ वटा उद्धार उडान गरेर विदेशी पर्यटकलाई काठमाडौं ल्याएका थिए । हेलिकप्टरतर्फ कैलाश, प्रभु र अल्टिच्युड एयरले पनि चार्टर्ड उडान गरेका थिए ।


काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तरिक टर्मिनल प्रमुख मुरारी पौडेलका अनुसार, हेलिकप्टरले विदेशी पर्यटक नभई नेपाली विरामी उद्धार गरेका थिए ।


उनले सोमबारदेखि नेपाली सेनाका विमानबाट चीनबाट ल्याइएका कोरोना सम्बन्धित मेडिकल सामग्री राजधानी बाहिर पुर्‍याउन चार्टर उडान सुरु हुने बताए ।

प्रकाशित : चैत्र १७, २०७६ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?