कोरोना प्रकोप : साउदी अरब अनिश्चितकालका लागि बन्द

चैत्र १६, २०७६

हाेम कार्की

काठमाडौँ — साउदी अरबले विशेष सेवाबाहेक सबै काम अनिश्चित समयको लागि बन्द गर्ने निर्णय गरेको छ । दुई हप्ता अगाडिदेखि स्थगन गरेका विभिन्न सेवाहरू पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन मै राख्ने निर्णय गरेको हो ।

राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनहुँ बढ्दै गएपछि साउदीले नियन्त्रणको लागि आत्यावश्यक बाहेकका सेवा अनिश्चित समयको लागि बन्द गरेको हो । 

साउदीमा आइतबारसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार २९९ पुगेको छ । आइतबार मात्रै थप ९६ जनामा  संक्रमण देखिएको हो । राजधानी रियादमा मात्र आइतबार २७ जनामा संक्रमण देखिएको छ । साउदीमा हालसम्म ६६ जना निको भएका छन्  । ८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

साउदीमा रहेका नेपाली भने सुरक्षित रहेको दूतावासले जनाएको छ ।

साउदीको आन्तरिक मामिला मन्त्रालयले सरकारले तोके बाहेकका सबै सरकारी कार्यालय, निजी क्षेत्रका कार्यालय, अन्तर्राष्ट्रिय हवाइ सेवाहरू, सम्पूर्ण आन्तरिक हवाई यात्रु उडान सेवा, बस, रेल तथा ट्याक्सी सेवामा बन्द यथावत रहेको जनाएको छ । 

नेपाली दूतावासले कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरेको कर्फ्यू, केही क्षेत्रमा गरिएको लकडाउन तथा आवागमन नियन्त्रण लगायतका सबै निर्देशन, प्रावधान तथा गाइडलाइन यथावत् कार्यन्वयनमा रहेको भन्दै त्यसको अनिवार्य रूपमा पालना गर्न साउदीमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।

लकडाउनकोरोना भाइरस

हाेम हाेम कान्तिपुरका संवाददाता हुन् । उनी श्रम तथा आप्रवासनका विषयमा रिपाेर्टिङ तथा टिप्पणी लेख्छन् । उनकाे श्रम आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully