भौतिक दूरी कायम गर्दै यसरी बस्यो आजको मन्त्रिपरिषद् बैठक 

चैत्र १६, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । आइतबारको बैठक प्रधानमन्त्री निवास परिसरमा रहेको सचिवालय हलमा निर्धारित भौतिक दूरी कायम गरी बसको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीहरु मास्क लगाएर एक मिटरभन्दा बढीको दूरीमा बसेका थिए ।


पछिल्लो समय धेरैजसो बैठक प्रधानमन्त्री निवास रहेको भवनको बैठक कक्षमा बस्ने गरे पनि ठाउँ साँघुरो भएका कारण आजको बैठक सचिवालयको हलमा बसेको छ ।



विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सामाजिक र व्यक्तिगत दूरी कायम राख्न सुझाव दिएको छ । कम्तीमा दुई जनाबीच एक मिटर दूरी कायम राखेमा कोरोना भाइरसको संक्रमणको सम्भावना कम हुने चिकित्सकहरुको सुझाव छ । 


आजको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेअनुसार लकडाउनको अवधि लम्ब्याउनेलगायतका महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको छ । 


तस्बिरहरु : राजन काफ्ले/प्रधानमन्त्रीको सचिवालय

लकडाउनसीमानाकाकोरोना भाइरस

कान्तिपुर

Link copied successfully