सात दिने लकडाउनलाई ७ फिल्म– ६

यज्ञश

काठमाडौँ — दस वर्षे सशस्त्र युद्ध, प्रलयकारी भूकम्प, छिमेकीको नाकाबन्दी र अहिले कोरोनाको महामारी । कुनै समाजको एउटा पुस्ताका लागि यीमध्ये कुनै एउटा पनि घटना सकसपूर्ण हुनसक्छन् ।

वर्तमान नेपालको २०३६ सालको जनमत संग्रह र २०४६ सालको जनआन्दोलनको सेरोफेरोमा हुर्किएको पुस्ताले यी सबै कुरा भोग्यो र भोगिरहेको छ । यसैले यो पुस्ता निस्सासिँदा खबरहरु सुन्न अभ्यस्त भइसकेका छ ।


लकडाउनको आज छैटौं दिन । लकडाउनको सात दिने अवधि सिद्धिन लाग्दा सरकार यसलाई तन्‍काउने तयारीमा लागेको समाचारहरु आइरहेका छन् ।


आजको फिल्म

‘इन द मुड फर लभ’ (२०००, हङकङ)

गत वर्षको कुनै एक बिहान म पनौती नगर पुगेको थिएँ, फोटोपत्रकार अंगद ढकालको मोटरसाइकलमा । चल्तीको भाषामा यो एउटा सुटिङ रिपोर्टका लागि थियो । तर, खासमा भने यो सेटमा केही मानिसहरु थिए, जसलाई भेट्नु थियो । प्रसिद्ध भुटानी फिल्ममेकर एवं रिम्पोछे खिन्से नोर्वुको फिल्मको सुटिङ यहाँ चलिरहेको थियो– ‘लुकिङ फर अ लेडी विथ फ्याङ्य एन्ड मुस्टाच’ । ‘ट्राभलर एन्ड दि मजिसियन’ फिल्म बनाएदेखि नोर्वु फिल्म जगतमा चर्चित छन् ।


यो सेटमा अर्का एकजना ‘मास्टर’ कलाकार थिए– मार्क ली पिङ विङ । जसरी एउटा धुनले संगीतकार, एउटा किताबले लेखक र एउटा विश्वकपले म्याराडोना जन्माउँछ, त्यसरी नै कलाकारको पनि एउटा मास्टर स्ट्रोक हुन्छ । ‘इन द मुड फर लभ’ मार्क लीको त्यो मास्टर स्ट्रोक हो ।


खासमा यो फिल्मभन्दा अघि मलाई कुनै सिनेम्याटोग्राफरले फिल्मलाई ‘बनाइदिन्छ’ भन्ने बोध थिएन । वङ कर वाई हङकङका उस्ताद फिल्ममेकर हुन् । उनको व्यक्तित्व र र फिल्मोग्राफीको आफ्नै उचाइ छ । तर, यो फिल्मचाहिँ मार्क लीको क्यामेराको कमाल हो ।


सट साइज कसरी डिजाइन गर्नुपर्छ ? क्यामेराले अब्जेक्टलाई कसरी ग्लोरिफाइ गर्छ ? साँघुरा गल्लीहरु कसरी मानिसको मनभित्र छिर्ने चेपजस्ता लाग्न सक्छन् ? फराकिला सडकहरुमा लाइट कसरी लगाउनु पर्छ ? र, चरित्रको मुडलाई दृश्यमा कसरी व्याख्या गर्नुपर्छ ? यसको एउटा आख्यान हो, ‘इन द मुड फर लभ’ । यो फिल्मका लागि मार्क लीलाई कानले विशेष सम्मान पनि प्रदान गरेको थियो ।


जसरी एक्सन– ग्याङस्टर फिल्म बनाउनेहरु फ्रान्सिस फोर्ड कोप्पोलाको ‘गडफादर’ र क्विन्टन टोरेन्टिनोको ‘पल्प फिक्सन’लाई कुनै ग्रन्थजस्तो मान्छन्, रोमान्टिक फिल्म बनाउनेहरुका लागि ‘इन द मुड फर लभ’ त्यस्तै हो । समीक्षकहरुले यसलाई क्यामेराले लेखिएको सुन्दर प्रेम कविता पनि भन्ने गरेका छन् ।


यो फिल्म मैले धेरैपटक हेरेको छु । कहिले आधामात्रै रंग देखिने कम्युटरमा त कहिले डिभीडीमा । डिभिडीमा हेर्दा त केसम्म भयो भने बीचतिर पुगेपछि फिल्म पूरा नभइ मेकिङमात्र आउने । चलचित्र समीक्षक समाजको फिल्म प्रदर्शन सन्डे सिनेमामा यसको प्रदर्शन गरेपछि बल्ल धीत मरेको थियो ।


यो कथा हो, सँगै डेरा जोडिएका दुई प्राणीको । १९६२ को हङकङ । ब्रिटिस शासित समय । एउटा पत्रकार र सिपिङ कम्पनीकी कर्मचारी संयोगले एउटै अर्पाटमेन्टका भिन्न कोठा भाडामा लिएर बसेका छन् । एउटै टोलमा बसेपछि बाटो त काटिन्छ ! उनीहरु पनि एकअर्काको बाटोमा फुत्त फुत्त देखा पर्न थाल्छन् । कहिले सिग्रेट सल्काउँदै । कहिले आँखा झुकाउँदै ।


उनीहरु दुवैलाई आफ्ना पति र पत्नीमाथि शंका छ– कतै उनीहरुले धोका दिइरहेका त छैनन् ? विस्तारै उनीहरुलाई यो सत्य लाग्न थाल्छ । र, लाग्छ– ती दुई नै एकअर्काको प्रेममा छन् । अर्थात्, पत्रकारकी श्रीमती र कर्मचारीको पति नै अफेयरमा छन् । यहींबाट कथा अघि बढ्छ । के आफ्नै प्रेमी वा प्रेमिकासँग बदला लिनलाई त्योभन्दा घनघोर प्रेम गर्नु पर्छ ?


फिल्ममा एउटा सानो लोककथा टाइपको किस्सा छ । उहिल्यै जब कुनै मानिसले केही रहस्यको भेउ पाउँथ्यो तर त्यो कसैलाई भन्न मिल्ने खालको हुन्थेन भने त्यसलाई बिसर्जन गर्ने एउटा उपाय हुन्थ्यो । डाडामा जाने, रुखमा एउटा प्वाल खोप्ने र त्यही प्वालबाट रुखलाई रहस्य भन्ने । अनि माटोले त्यो प्वाललाई टालिदिने । रहस्यलाई सुरक्षित तरिकाले संग्रहित गर्ने यो सबभन्दा उत्तम तरिका मानिन्थ्यो ।


यो फिल्म पनि त्यस्तै सम्बन्धको कथा हो– जो कसैलाई बताउन मिल्दैन । बतासलाई सुनाउदै हिँड्न मिल्दैन । खोलामा बगाइपठाउन मिल्दैन । कहिलेकाहीं फिल्ममेकरले आफ्नो ठूलो कुरा भन्नलाई निकै झिनो बिम्वको उपयोग गर्छन् । र, अन्ततः आफ्नो शिल्पद्वारा त्यो बिम्वको आयातन नै बढाइदिन्छन् । वङ कर वाइले यसमा रुखको टोड्कोवाला बिम्वलाई त्यसरी नै प्रयोग गरेका छन् ।


अव्यक्त प्रेम र आशक्तिको सुन्दर चित्रणका लागि यो फिल्म हेर्नुस् । यसै पनि लकडाउन अर्को एक हप्ता बढाउने सिफारिस भएको छ, तपाईं पनि आफ्ना जीवनका रहस्यहरुलाई उधिन्नुस् । धुलैधुलो जमेका जीवनका स्मृतिहरुलाई यो समयमा टल्काउनुस् । र, कुनै रुख वा भित्तालाई सुनाउनुस् । र, टालेर छोड्नुस् । यो महामारीमा यसरी जोगाएको स्मृति धेरै वर्षपछि फेरि काम लाग्छ कि ! वा भविष्यमा कोही तपाईंका स्मृतिहरु खोज्दै आउँदा त्यसलाई फेला पारेर जिल पो पर्छ कि !


वैकल्पिक फिल्म– ‘माइ ब्लुबेरी नाइट्स’ (२००७)


यो पनि वङ कर वाइकै फिल्म हो । तर, अंग्रेजी भाषाको । फिल्ममा छन्– सुन्दरी गायिका नोरा जोन्स । पण्डित रविशंकरकी छोरी । यसको प्रदर्शनताका वङ कर वाइलाई एउटा अन्तर्वार्तामा सोधिएको थियो– नोरा जोन्सलाई किन फिल्ममा लिनुभएको ? उनको उत्तर थियो– उनले राम्रो अंग्रेजी बोल्छिन्, त्यही भएर ! फिल्ममा जुडी ल र नताली पोर्टम्यानलगायतका कलाकार पनि छन् ।

यो पनि हेर्नहोस्

सात दिने लकडाउनलाई ७ फिल्म–५

७दिने लकडाउनलाई ७ फिल्म–४

७ दिने लकडाउनलाई ७ फिल्म–३

७ दिने ‘लकडाउन’लाई ७ फिल्म-२

७ दिने ‘लकडाउन’लाई ७ देशका ७ फिल्म

प्रकाशित : चैत्र १६, २०७६ २०:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘किरिया कर्म’मा गएकासहित ६७ जना क्‍वारेन्टाइनमा

तुलाराम पाण्डे

(कालीकोट) — आफन्तको ‘किरिया कर्म’मा गएका १६ जनासहित ६७ जनालाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनका अनुसार सान्नीत्रिवेणीमा २७, खाडाचक्रमा २५, रास्कोटमा ९ तथा तिलागुफा, महाबै र पलातामा २/२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

खाडाचक्र–३, ताडीबाट सान्नीत्रिवेणी–३, कयारीकी काशीकला देवकोटाको पुण्यतिथिमा सहभागी १६ जनालाई क्वारेन्टाइनमा राखिएको हो वडाध्यक्ष महावीर पाण्डेले बताए । उनीहरुलाई खाडाचक्र–३, ताडी बसपार्क नजिकैको एभरेष्ट कर्णाली होटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

आफूहरुमा कुनै स्वास्थ्य समस्या नभए पनि सरकारले घर बस्न नदिएको पीडितको गुनासो छ । ‘आफन्तको किरियाकर्ममा जाँदासमेत क्वारेन्टाइनमा राखियो,’ क्वारेन्टाइनमा बसेकी अम्मा पाण्डेले भनिन्, ‘सरकारले बेकारमा दुःख दियो ।’

कालीकोटमा आइतवारसम्म ६७ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । सबै पालिकाबाट २५ जनालाई डिस्चार्ज गरिएको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला अस्पतालमा ४, प्राथमिक उपचार केन्द्र कुमालगाउँमा ५, स्युनामा ४ र ओदा फाउन्डेसनमा १ गरी १४ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको छ । क्वारेन्टाइनका लागि ७१ स्थानमा ६ सय १९ बेड निर्माण गरिएको कार्यालयले जनाएको छ ।

जिल्लाका सबै पालिकाले पायक पर्ने स्थानमा क्वारेन्टाइन निर्माण गरेका छन् । तर, अधिकांश क्वारेन्टाइनमा न्यूनतम मापदण्ड नै नभएको स्थानीयको गुनासो छ । .‘धेरै क्वारेन्टाइनमा पानी, बत्ती र पर्याप्त लुगा नै छैनन्,’ नागरिक अगुवा कालीबहादुर मल्लले भने ।

कालीकोट र दैलेखको सिमानाको दहीखोलामा सञ्चालित हेल्थ डेस्कमा अहिलेसम्म ३ हजार ८ सय ८६ जनाको ज्वरो परीक्षण गरिएको कार्यालयका सूचना अधिकारी महतले बताए । उनका अनुसार भारतबाहेक अन्य मुलुकबाट ४० जना जिल्लामा भित्रिएको तथ्यांक छ । कालीकोट र जुम्ला सिमानाको नाग्ममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेल्प डेस्क स्थापना गरेको छ ।

कालीकोटका ९ वटै स्थानीय तहले सचेतनाका कार्यक्रमसहित साबुन र मास्क वितरणलाई अभियानको रुपमा सञ्चालन गरेका छन् । भारतबाट फर्किनेको सिजन सुरु भएकाले विशेष सर्तकता अपनाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार अटेरी गर्नेमाथि प्रहरीले बल प्रयोग गरिरहेको छ ।

प्रकाशित : चैत्र १६, २०७६ २०:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×